Like us!
Follow us!
Connect us!
Watch us!

‘बारा–पर्सा टोर्नाडो’ : विस्तृत अध्ययन बाँकी ,नेपाली नामकरण गर्ने तयारी

शुक्रबार, २९ चैत्र २०७५, २१ : ०९ मा प्रकाशित

‘बारा–पर्सा टोर्नाडो’ : विस्तृत अध्ययन बाँकी ,नेपाली नामकरण गर्ने तयारी

नारायण ढुुङ्गाना

अर्थ संसार, काठमाडौं -अघिल्लो साता बारा र पर्सामा गएको  हुरी (बारा–पर्सा टोर्नाडो)बारे अझै विस्तृत अध्ययन बाँकी नै रहेको छ । स्थलगत अध्ययन गरेर फर्किएको टोलीले विनाशकारी हुण्डरी ‘टोर्नाडो’ नै भएको निष्कर्ष निकाले पनि अझै विस्तृत विवरण सार्वजनिक गर्न सकेको छैन । नेपाली नामकरण गर्ने भनिए पनि नाम जुराइएको छैन ।  ‘बारा–पर्सा टोर्नाडो’बारे अहिले विज्ञले अध्ययन गरिरहेका छन् ।

स्थलगत अध्ययन गरी फर्कनुभएका विभागका वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले नेपालमा नै पहिलो घटना भएकाले पनि विस्तृत अध्ययन जरुरी रहेको औँल्याउनुभयो । “पहिलो पटक आएकाले अभिलेख सङ्कलन गर्नुपर्ने, पुनःपरीक्षण गर्नुपर्ने, कत्तिको शक्तिशाली हो भनेर हेर्नुपर्ने हुन्छ, त्यसैले अध्ययनमै छौँ, अहिले नै सबै कुरा भन्न सकिँदैन, विश्वको अभिलेख, यसको प्रकृति, स्थलगतरुपमा देखिएका र आएका प्रमाणले भने टोर्नाडो नै हो भनेर निष्कर्ष निकाल्न सकिन्छ”, श्रेष्ठले भन्नुभयो । विश्वमा हेर्दा अमेरिकामा सबैभन्दा धेरै वार्षिक झण्डै एक हजार २०० टोर्नाडो जाने गरेको उहाँले बताउनुभयो । 

उहाँले भूउपग्रहको तस्वीर अध्ययन गर्दा यसको शुरुआत पोखराबाट भएको र चितवन हुँदै बारा र पर्सा पुगेको जानकारी दिँदै अन्य क्षेत्रमा समेत पुगेको छ कि भनेर अध्ययन भइरहेको बताउनुभयो । उहाँका अनुसार स्थलगत रुपमा हेर्दा घरमा लगाइएको ढलान ८० मिटरसम्म उठाएर लगेको पाइएको छ । छत पनि उडाएको छ । सँगै एउटा घर पर्ने र अर्काे घर सद्दे बसेको अवस्था छ । यी सबै प्रकृति हेर्दा टोर्नाडो नै पुष्टि हुने श्रेष्ठको भनाइ थियो ।  

फेटा गाउँमा मिश्रित बस्ती भएकाले बढी क्षति भएको अध्ययन टोलीको भनाइ छ । ठोरी नजीक चितवन राष्ट्रिय निकुञ्जमा समेत गएको र रुख ढलेको भन्दै उहाँले सो क्षेत्रको अझै अध्ययन हुन नसकेको जानकारी दिनुभयो । तातो हावा माथि जाने र चिसो हावा माथिबाट तल आउँदा जब भेट हुन्छ त्यसपछि टोर्नाडो आउँछ । टोर्नाडो हुनका लागि बादलसँग जोडिएर सोलीझँै जमीनमा आउनुपर्ने विज्ञले बताएका छन् ।

स्थलगत अध्ययनमा सहभागी द स्मल अर्थ नेपालका अनुसन्धान संयोजक पियूष दाहालले अध्ययन गर्दै जाँदा ९० किलोमिटरको दूरीसम्म टोर्नाडो पास भएको अनुमान गरिएको उल्लेख गर्नुभयो । सोही संस्थाका अर्का अनुसन्धानकर्मी नाम्मीहाङ किराँतले चापाकल र  रुखसमेत उखालेर उडाएको, गाडीसमेत पल्टाएको र जमीनमा रहेको सिमेन्टको ढलान नै उप्काएर लगेकाले मानवीय क्षति पुगेकोे बताउनुभयो । 

जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपालको एक टोलीले स्थलगत अध्ययनपछि आज काठमाडौँमा आफ्नो अध्ययनको अनुभवबारे सरोकार निकायलाई जानकारी गराएको थियो । टोलीले निष्कर्ष निकालेर सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्राज्ञ मदनलाल श्रेष्ठले चैत, वैशाख र जेठमा हावाहुरी आउने भए पनि जोखिमबाट बच्न पूर्वतयारी नेपालमा छैन भन्दै अहिलेको टोर्नाडोले त्यसतर्फ ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले सोलीजस्तो भएर झर्ने भएकाले टोर्नाडोले भेटेको सबै क्षेत्रमा विनाश निम्त्याउने बताउनुभयो ।  “टोर्नाडोको शक्ति ४०० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ, भूउपग्रहबाट गरिएको प्रारम्भिक अध्ययनमा नेपालको ‘टोर्नाडो’ भित्रको हावाको वेग झण्डै २०० किलोमिटर प्रतिघण्टा रहेको र टोर्नाडो एक ठाउँबाट अर्काे ठाउँमा सर्ने वेग झण्डै ३० किलोमिटर प्रतिघण्टा रहेको छ ।” औसतमा २०० मिटर चौडाइ रहेको अनुमान गरिएको उहाँले बताउनुभयो । 

हावाहुरी प्रभावित क्षेत्र नजीक मौसमी स्टेशन र राडार पनि नभएका कारण विभागमा उक्त मौसमी प्रणालीको अभिलेख हुन सकेको छैन । भारतको पटनामा रहेको राडारले भेटेको भए पनि सो समयमा उक्त राडार डाउन भएको उहाँले बताउनुभयो । वायुमण्डलको अस्थिरताका कारण बादलबाट निस्कने भए पनि नेपालमा यसको नाप्ने यन्त्र नभएको मौसमविद्ले बताएका छन् ।

यही चैत १७ गते साँझ बारा र पर्सामा गएको भीषण हुरीमा परी २८ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । भविष्यमा यस्ता घटनाको पूर्वसूचना प्रवाह गरी उपयुक्त सतर्कता अपनाउन यस्ता विनाशकारी मौसमी घटनाको विस्तृत जानकारीका लागि वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानको खाँचो रहेको र यसका लागि सरकारले बजेटको व्यवस्थाका गरी प्राथमिकतामा राख्नुपर्नेमा मौसमविद्ले जोड दिएका छन् ।

द स्मल अर्थ नेपालका सल्लाहकार तथा मौसमविद् प्रा सुरेशराज चालिसेले अहिले प्रलयकारी घटनाको ‘पोष्टमार्टम’ चलिरहेको बताउँदै भन्नुभयो, “टोर्नाडोको अनुमान गर्न सकिँदैन, चेतावनीसम्म दिन सकिन्छ ।” हावाहुरीलगायत विषयको अध्ययनमा जरुरी नै नठानिँदा समस्या आएको हो भन्दै उहाँले मान्छे मरेपछि भने ब्यूँझाइदिएको उल्लेख गर्नुभयो । बाढीपहिरोजस्तै यसलाई प्राकृतिक प्रकोपका रुपमा समावेश गरेर आवश्यक सतर्कताका लागि ध्यान दिनुपर्नेमा सहभागीको जोड थियो ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको