Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षसँगै गुराँस उत्सव

सोमबार, ०२ बैशाख २०७६, ११ : २८ मा प्रकाशित

नयाँ वर्षसँगै गुराँस उत्सव

अर्थ संसार, बागलुङ-पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे ।

शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’ गर्दै आएको छ । वसन्तमा फुल्ने थरीथरीका गुराँसले घुम्टेको जङ्गल राताम्मे हुने गर्छ ।

घुम्टेको प्रवद्र्धन र राष्ट्रिय फूल लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । वर्षको अन्तिम सूर्यास्त र नयाँ वर्षको पहिलो सूर्योदय हेर्न कतिपय अघिल्यै दिन घुम्टे पुग्छन् ।

बढीजसो पर्यटक नयाँ वर्षको दिन घुम्टे चढ्ने गरेका छन् । उत्सवको पहिलो दिन शनिबार पदयात्रा, अवलोकन भ्रमण, ‘क्याम्प फायर’ र सांस्कृतिक साँझको आयोजना गरिएको थियो । आइतबार सूर्योदय अवलोकन, पूजापाठ, झण्डोत्तलन, मौलिक कला, संस्कृतिकोे प्रदर्शनीसहित मूल समारोह सम्पन्न भएको केन्द्रले जनाएको छ । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । 

विसं २०७० मा घुम्टेको धुरीमै मैत्रीपूर्ण पर्यटन भेला गरी केन्द्रले घुम्टेको पर्यटन प्रवद्र्धन शुरु गरेको थियो । धार्मिक, प्राकृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिने घुम्टेको पर्यटकीय विकासमा गुराँस उत्सवले टेवा पु¥याएको छ । 

केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ । “पर्यटकीय गन्तव्यमा सूचीकृत गराउन पहल भइरहेको छ”, केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले भन्नुभयो ।
रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको