Like us!
Follow us!
Connect us!
Watch us!

डोनाल्ड ट्रम्प सँग वार्ता विफल भएपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षण ,किमको रुस भ्रमणको तयारी

विहीबार, ०५ बैशाख २०७६, २१ : ५२ मा प्रकाशित

डोनाल्ड ट्रम्प सँग वार्ता विफल भएपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षण ,किमको रुस भ्रमणको तयारी

अर्थ संसार,सियोल- उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ । 

केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गर्नुभएको जनाएको छ । तर नयाँ हतियारका बारेमा विस्तृत विवरण दिइएको छैन । उत्तर कोरियाली नेताले गत वर्ष नोभेम्बरयता पहिलो पटक नयाँ हतियारको निरीक्षणमा सहभागी हुनुभएको हो ।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोईमा भएको दोस्रो शिखर वार्ता विफल भएपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षण गरेको हो ।

किमको भनाई उद्धृत गर्दै केसिएनएले भनेको छ, “नयाँ हतियारले पिपुल्स आर्मीको क्षमता बढाउन ठूलो मद्दत गर्नेछ । सेनालाई आधुनिक हतियारबाट सुसज्जित तुल्याउन उत्तर कोरियाली वैज्ञानिकहरुले गरेको अनुसन्धान कार्यको म उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु ।”

विज्ञहरुले नयाँ विकसित हतियार छोटो दूरीको नियन्त्रित वा क्रुज क्षेप्यास्त्र रहेको बताएका छन् । हतियार परीक्षणको निरीक्षणका लागि किमको उपस्थिति संयुक्तराज्य अमेरिकामाथि दबाब सिर्जना गर्नका लागि भएको विज्ञहरुको भनाई छ । 

कोरियाली अध्ययन केन्द्रका निर्देशक ह्यारी काजियानिसले अमेरिकाको जबर्जस्ती अडानबाट निराश भएको देखाउन हतियार परीक्षणमा उत्तर कोरियाली नेता किम स्वयं उपस्थित भएको हुन सक्ने बताउनुहुन्छ । 

किमले सम्भवत अर्को साता रुसको भ्रमण गर्ने

एउटा रुसी अखबारले रुसी विदेश मन्त्रालयको स्रोतलाई उल्लेख गर्दै नेता किम र राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को साता शिखर बैठक गर्न तयारी जोडतोडका साथ भइरहेको जनाएको छ । जापानको एक टेलिभिजन च्यानलले किमका मुख्य सहयोगीलाई रुसी शहर भ्लाडिभोस्टकमा देखिएको जनाएको छ ।

रुसको दैनिक अखबार इज्भेस्टियाले रुसी विदेश मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै पुटिन र किमबीचको पहिलो शिखर बैठक भ्लाडिभोस्टकमा हुन सक्ने बताएको छ । राष्ट्रपति पुटिन चीनमा आगामी अप्रिल २६–२७ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेक्रममा भ्लाडिभोस्टकको भ्रमण गर्दै हुनुहुन्छ । रासस/योनहाप

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको