Like us!
Follow us!
Connect us!
Watch us!

मिलेनियम ट्रेकमा आन्तरिक भ्रमण वर्ष र भिजिट नेपाल लक्षित पूर्वाधार

शुक्रबार, ०६ बैशाख २०७६, ०९ : ०२ मा प्रकाशित

मिलेनियम ट्रेकमा आन्तरिक भ्रमण वर्ष र भिजिट नेपाल लक्षित पूर्वाधार

वासुदेव पौडेल

अर्थ संसार,पोखरा- मिलेनियम ट्रेक व्यवस्थापन समितिले गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरी पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्ग(मिलेनियम ट्रेक)का विभिन्न चार ठाउँमा पदयात्रा मार्ग सुधारका साथै शौचालय लगायतका अत्यावश्यकीय पूर्वाधारलाई अघि बढाइएको हो ।

मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङका अनुसार मिलेनियम ट्रेकअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ रजस्थलस्थित ढोर मूलकोट दरबार जाने ५५० मिटर दूरीमा सिँढी निर्माण गर्न लागिएको छ । त्यस्तै पदयात्रा मार्गकै पुतलीबजार नगरपालिका–१२ पेल्काचौरमा पर्यटक लक्षित शौचालयका साथै ३५० मिटर दूरीमा सिँढी बाटोे निर्माण गर्न लागिएको छ । समितिले तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ र स्याङ्जाको पुतलीबजार नगरपालिका–७ बीचमा पर्ने मिलेनियम गुफा क्षेत्रमा करीब ५०० मिटर दूरीमा सिँढी बाटो निर्माण कार्यअघि बढाएको छ भने स्याङ्जाको वालिङ नगरपालिका–३ बुढाकोटको दृश्यावलोकन स्तम्भ जाने बाटोको २५० मिटर दूरीको सिँढी बाटो निर्माण कार्य शुरु गरेको छ ।

उक्त स्थानमा शौचालयसमेत निर्माण गरिने भएको उहाँले जानकारी दिनुभयो । “आन्तरिक भ्रमण वर्ष र भिजिट नेपाललाई लक्षित गरी यस समयमा अधिकतम पर्यटकलाई मिलेनियम ट्रेक पु¥याउने लक्ष्यका साथ हामीले पूर्वाधार निर्माणलाई जोड दिएका छौँ,” उहाँले थप्नुभयो, “पूर्वाधार निर्माणका साथै यसको प्रचारप्रसारबाट यसको पुनःजागरण हुने हाम्रो विश्वास छ ।”

सन् २००० मा सञ्चालनमा आएर पनि यसबीचमा देशको द्वन्द्वको अवस्था लगायतका कारणबाट यस पदमार्गले गति लिन नसकेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका पूर्वसचिव लोकेन गुरुङले बताउनुभयो । “धेरै सम्भावना भएर पनि सन् २००० मा शुरु गरिएको ट्रेक सञ्चालन भएकै समयमा देशमा जारी द्वन्द्वात्मक अवस्थाले मिलेनियम ट्रेकले गति लिन नसकेको हो”, उहाँले भन्नुभयो, “२०६५ पछि २०७२ सम्म पुनः पर्यटकको आगमन बढे पनि २०७२ पछिको पर्यटकको आवागमन त्यति उल्लेख्य बन्न सकेको छैन ।”

मिलेनियम ट्रेकको पुनःजागरणको लक्ष्यका साथ व्यवस्थापन समितिको पहल एवम् नेपाल पर्यटन बोर्डको सहयोगमा अघिल्लो वर्ष पुसमा सञ्चारकर्मी सहितको प्रवद्र्धनात्मक भ्रमण गराइएको महासचिव गुरुङले जानकारी दिनुभयो । प्रवद्र्धनात्मक भ्रमणसँगै मिलेनियम ट्रेकले पुनः देश विदेशमा चर्चा पाएको बताउँदै उहाँले पछिल्लो समयमा पर्यटक जाने क्रम बृद्धि हुँदै गएको बताउनुभयो । बढ्दो पर्यटकीय आकर्षणसँगै पदमार्ग क्षेत्रका विभिन्न गाउँमा स्थानीयवासीले घरबास कार्यक्रम सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।

मिलेनियम ट्रेकको विकासका पर्याप्त सम्भावनालाई दृष्टिगत गरी पुतलीबजार नगरपालिका–२ स्थित भैँसे गौँडामा सामुदायिक घरबासको अवधारणासहित आफूहरू क्रियाशील बनेको भैँसे गौँडा सामुदायिक घरबासका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो ।

गाउँमा बढ्दै गएको जनशक्ति अभावको वास्तविकता समेतलाई दृष्टिगत गरी घरबासलाई दीर्घकालीनरुपमा व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले सामूहिक घरबास कार्यक्रमलाई जोड दिइएको उहाँले बताउनुभयो ।

त्यस्तै पदयात्रा मार्गकै वालिङ नगरपालिका–३ स्थित सिङ्गारकोट, बूढाकोट र राम्चे, वडा नं ४ स्थित गहते मनकामना, सुन्तला बारी, भिरकोट नगरपालिका–५ स्थित केघामा पनि सामुदायिक घरबास सञ्चालन भएको छ । मध्य पहाडी क्षेत्रको पहिलो पदयात्रा मार्गका रुपमा रहेको मिलेनियम ट्रेकअन्तर्गत तनहुँ र स्याङ्जा जिल्लाका साविक २३ गाउँ विकास समिति पर्दछन् ।

सामुदायिक घरबासको लक्ष्यका साथ लगभग १५ पर्यटकलाई एकै भवनमा राख्न सक्ने गरी भैँसे गौँडामा रु ५५ लाखको लागतमा छ कोठे भवन निर्माण गरिसकिएको छ । उत्पादनसँग घरबासलाई जोड्ने लक्ष्यका साथ सामुदायिक कृषिका माध्यमबाट अनुत्पादक बन्दै गएका बाँझा जग्गालाई उत्पादन योग्य बनाउन राङभाङ ‘मेकाडामिया नट’ उत्पादन कृषक समूह गठन गरी ‘मेकाडामिया नट’को खेती थालिसकिएको छ ।

समूहका अध्यक्षसमेत रहनुभएका गुरुङका अनुसार २५ घरपरिवार सदस्यका रुपमा रहेको समूहबाट लगभग ५०० मेकाडामियाका बिरुवा लगाइएको छ । आगामी दिनमा पर्यटकलाई प्राङ्गारिक उत्पादन खुवाउन अन्य कृषिका विकल्प पनि खोजिने उहाँले बताउनुभयो ।

 ट्रेकअन्तर्गतकै पुतलीबजार नगरपालिका–९ स्थित पोखरीछापमा पनि समुदायमा आधारित घरबास सञ्चालनमा आइसकेको छ । घरवाससँगै पोखरीछापमा स्थानीयले प्राचीन संस्कृति घाटु, झोरा जस्ता नाचको संरक्षण एवं विकासको प्रयास थालेका छन् । पदयात्रा मार्गका विभिन्न स्थानबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, गणेश हिमालसहितका हिमाली दृश्यका साथै पोखरा आसपासका काहुँकोट, हुडिकोट, कोट दरबार, बरपाण्डेथुम, ढोर दरबारलगायत पहाडी स्थानका रमणीय दृश्य पनि एकसाथ अवलोकन गर्न सकिन्छ ।

मिलेनियम ट्रेकअन्तर्गत तनहुँको शुक्लागण्डकी वडा नं १० स्थित रजस्थल, वडा नं १२ स्थित घरेडी, स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा नं ११ स्थित राइपुर, वडा नं १२ का चन्द्रकोट र डाँडागाउँमा सामुदायिक घरबास कार्यक्रम सञ्चालन गरिएको छ ।

मिलेनियम ट्रेकअन्तर्गतको पदयात्रा मार्गका विभिन्न स्थानमा यसको सम्भावनालाई दृष्टिगत गरी घरबास सञ्चालनमा आइरहेका अवस्थामा आन्तरिक भ्रमण वर्ष र भिजिट नेपाल वर्षलाई लक्षित गरी पूर्वाधार विकास थालिनुलाई निकै महत्वका साथ हेरिएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको