Like us!
Follow us!
Connect us!
Watch us!

सभामुख महरा र उर्जामन्त्री पुनले भरे सान्जेन र रसुवागढीको आइपीओ

शुक्रबार, ०६ बैशाख २०७६, ११ : ११ मा प्रकाशित

सभामुख महरा र उर्जामन्त्री पुनले  भरे सान्जेन र रसुवागढीको आइपीओ

अर्थ संसार, काठमाडौं –सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ ।

देशका महत्वपूर्ण पदमा आसिन हुनुभएका व्यक्तिले नै सो कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले शुरु गरेको सो कार्यक्रममा सभामुख कृष्णबहादुर महरासमेत जोडिनु भएको छ ।

सभामुख महराले बिहीबार ग्लोबल आइएमइ क्यापिटलमा हितग्राही खाता खोल्नुभयो ।  जनताको जलविद्युत् कार्यक्रमको दोस्रो चरणमा आजदेखि साधारण शेयर बिक्री शुरु भएको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको शेयरसमेत सभामुख महराले खरीद गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सभामुख महराले जनताको जलविद्युत् कार्यक्रममा सहभागी भई साधारण शेयर खरीद गर्नुभएको हो ।

पहिलो पटक साधारण शेयर खरीद समारोहमा सहभागी हुनु भएका महराले सरकारले नयाँ कार्यक्रम शुरु गरेकोमा  खुसी व्यक्त गर्दै दूरदराजका नागरिकलाई समेत सहभागी हुने उपाय खोज्न आग्रह गर्नुभयो ।

सभामुख महराले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भन्नुभयो, “यो असाध्यै राम्रो कार्यक्रम शुरु गर्नुभयो । सबै नेपाली नागरिकलाई कसरी सहभागी गराउन सकिन्छ  भन्ने बारेमा उपयुक्त विधि र विकल्प पनि खोज्नु पर्दछ ।”

सभामुख महराले रसुवागढी जलविद्युत् कम्पनीको रु एक लाख बराबरको एक हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको रु पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयर खरीद गरी शेयर बजारमा प्रवेश गर्नुभएको हो ।

यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा रु एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनको रु पचास हजार बराबरको पाँच सय कित्ता बराबरको शेयरमा आवेदन दिनुभएको छ ।

मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा रु एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा रु पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयरमा आवेदन दिनुभएको छ । पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा रु एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा रु ५० हजारको पाँच सय  कित्ता साधराण शेयर आवेदन दिनुभएको छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको धर्मपत्नी राधिका शाक्यले पनि शेयरमा आवेदन दिनुभएको थियो । माथिल्लो त्रिशुली थ्री बीको शेयरमा आवेदन गर्नुभएका प्रधानमन्त्रीले २० कित्ता शेयर प्राप्त गर्नुभएको थियो ।

सोही कार्यक्रमअन्तर्गत आज दोस्रो चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रमअन्तर्गत विभिन्न १९ आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको