Like us!
Follow us!
Connect us!
Watch us!

शैक्षिक प्रमाणपत्र लिएर युवालाई ऋण

आइतबार, १५ बैशाख २०७६, १७ : २४ मा प्रकाशित

शैक्षिक प्रमाणपत्र लिएर युवालाई ऋण

सुशीला रेग्मी

अर्थ संसार, बेझाड, पाल्पा– पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गर्नुभयो ।

उहाँ जागीरका लागि धेरै ठाउँमा भौँतारिनुभयो ।  जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर पनि जागीर नपाएको अनुभव उहाँले सङ्गाल्नुभएको छ । अधिकारी जस्तै धेरै युवाका लागि बेरोजगारी गम्भीर चुनौती बन्दै गएको छ ।
 अघिल्लो वर्ष मात्रै बगनासकाली गाउँपालिकाले बेरोजगार शिक्षित युवालाई शैक्षिक प्रमाणपत्र धितोमा लिएर व्यवसाय गर्न ऋण दिने निर्णय ग¥यो । यो खबरबाट उत्साहित अधिकारीमा यो अवसरलाई उपयोग गर्ने सोच पलायो ।

गाउँपालिकाबाट रु एक लाख पाएपछि उहाँले गोलभेँडा खेती र माछापालन व्यवसाय शुरु गर्नुभयो । ऋणका लागि आफन्त, साथीभाइ कसैलाई पनि गुहार्न नपरेपछि खुशी हँुदै उहाँ व्यवसायमा लाग्नुभएको हो ।

“गाउँपालिकाले शैक्षिक प्रमाणपत्र धितोमा लिएर व्यवसाय गर्न ऋण सहयोग गरेपछि मलाई ठूलो हौसला मिलेको छ,” उहाँले भन्नुभयो – “यसरी ऋण सहयोग पाएपछि पढेर कुनै जागीर खानु नै पर्छ भन्ने छैन । पढाइका अनुभव समेतलाई उपयोग गर्दै व्यवसाय गरेर राम्रो कमाइ गर्न सकिन्छ ।”

उहाँले अहिले तीन वटा प्लाष्टिक टनेलमा गोलभेँडा खेती लगाउनुभएको छ भने दुई वटा पोखरीमा माछा पाल्नुभएको छ ।तीन रोपनी क्षेत्रफलमा मकैको मूल बीउ उत्पादन गरिराख्नुभएकी उहाँले अघिल्लो वर्ष यसै व्यवसायबाट दुई लाख जति कमाइ गरेको जानकारी दिनुभयो ।

“पहिला जागीरका लागि प्रमाणपत्र हातमा लिएर धेरै ठाउँ भौँतारिएँ, योग्यता भन्दा पनि आफन्त र नजीकका व्यक्तिलाई मात्र स्थान दिँइदो रहेछ,” उहाँले भन्नुभयो – “अहिले गाउँपालिकाले शैक्षिक योग्यताको कदर गरेर व्यवसाय गर्न ऋण दिएको छ । मलाई निकै खुशी लागेको छ ।”

दश वर्षसम्म वैदेशिक रोजगारीमा काम गरेर गाउँ फर्कनुभएका शोभाखर बस्यालले बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोकमा शैक्षिक प्रमाणपत्र धितो राखेर अन्य चारजना युवकका साथमा सामूहिक कृषि तथा पशुपालन व्यवसाय शुरु गर्नुभएको छ । उहाँहरूले एकीकृत कृषि तथा पशुपालन फार्म दर्ता गरी व्यवसाय थाल्नुभएको हो ।

शैक्षिक प्रमाणपत्र धितो राखेर गाउँपालिकाले रु चार लाख बिना व्याज दुई वर्षका लागि ऋण सहयोग गरेपछि आफूहरूलाई हौसला मिलेको बस्यालले बताउनुभयो ।उहाँहरुले समूहमा ३३ रोपनी जग्गामा काँक्रा, करेला, घिरौंला, बोडी, सिमी, खुर्सानी लगायतका तरकारी लगाउनुभएको छ । छ वटा उन्नत जातका भैंसी र एउटा गाई पनि पाल्नुभएको छ । फार्मबाट हाल दैनिक ४० लिटर जति दुध बिक्री भइरहेको छ ।

“गाउँपालिकाले युवालाई घरमै बसेर व्यवसाय गर्न यो कार्यक्रम शुरु गरेकामा सा¥हैै खुशी लागेको छ,” बस्यालले भन्नुभयो – “अब विदेश पलायन हुने दरमा पनि कमी आउने छ । पढेर जागीर नै खानुपर्छ भन्ने पनि छैन ।”

दुःख गरी पढेर पनि धेरैले जागीर पाउँदैनन् । अर्कोतर्फ कतिपयसँग व्यवसाय गर्न पूँजी हुँदैन । युवा जमात बेरोजगारी समस्याको मारमा परिरहेको अवस्थामा यस्ता खालका कार्यक्रम उनीहरूका लागि ठूलो राहत भएको छ ।

गाउँपालिकाले युवा स्वरोजगारलाई लक्ष्य गरी आर्थिक वर्ष २०७४/७५ मा सात लाख रकम विनियोजन गरेको थियो जसमध्ये बगनासकाली युवा कृषक समूह बगनासकाली पोखराथोकलाई कृषि तथा पशुपालन व्यवसायका लागि रु चार लाख, बगनासकाली २ पोखराथोक बस्ने सचिना अधिकारीलाई माछापालन तथा तरकारीखेतीका लागि रु एक लाख र पोखराथोककै भगवान् गैरेलाई अण्डा उत्पादनका लागि रु एक लाख रकम उपलब्ध गराएको छ ।

बगनासकाली वडा नं ९ बस्ने हरि बस्याललाई बाख्रापालन शीर्षकमा रु एक लाख रकम उपलब्ध गराएको थियो । बस्यालले ऋण लिइसकेपछि बीचमै व्यवसाय छाडेकाले सो रकम फिर्ता लिइएको बगनासकाली कृषि शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिनुभयो ।

फिर्ता गरिएको रकम यस वर्ष बगनासकाली ६ यम्घामा सञ्चालित जागृत कृषि तथा पशु विकास फार्मलाई व्यवसाय विस्तारका लागि प्रदान गरिएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७५\७६ मा बगनासकाली ५ दर्लमडाँडा बस्ने देवेन्द्र कोइरालालाई तरकारीखेती गर्न रु एक लाख र बगनासकाली ६ यम्घाका खगराज बस्याललाई आधुनिक अकबरे खुर्सानी उत्पादनका लागि रु एक लाख प्रदान गरिएको छ ।

यस कार्यक्रमले कृषिमा युवाको आकर्षण एवं उत्साह बढाइदिएको छ । पछिल्लो समय कृषकले पनि व्यवसाय विस्तार गर्दै गएको पाइएको कृषि शाखा प्रमुख जिसीको अनुभव छ । शैक्षिक प्रमाणपत्र धितो राखेर लिएको रकम दुई वर्षभित्र बिना व्याज ऋणीले गाउँपालिकालाई बुझाउनुपर्ने प्रावधान छ ।

उद्देश्यभन्दा विपरीत काममा लगाएको पाइएमा लिएको रकममा पाँच प्रतिशत जरिवानासहित गाउँपालिकालाई बुझाउनुपर्ने छ । उद्देश्यअनुसार राम्रो गर्ने व्यवसायीलाई पाँच प्रतिशत रकम छुट दिइएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

“काम नपाएर पढेलेखेका युवा विदेश पलायन हुने दर बढ्न थालेपछि उनीहरुलाई आयमूलक व्यवसायमा उत्प्रेरित गर्न यो कार्यक्रम ल्याएका हौँ,” अध्यक्ष बस्यालले भन्नुभयो ।

शैक्षिक प्रमाणपत्र धितो राखेर बिना व्याज दुई वर्षसम्मका लागि ऋण पाउने सुविधा भएपछि युवालाई यो कार्यक्रमले व्यवसाय थाल्न ऊर्जा थपिदिएको छ । शिक्षित युवामाझ स्वरोजगार सिर्जना गर्ने महत्वपूर्ण यो एउटा अचूक उपाय सावित भएको छ ।

विशेषतः उद्यम गर्ने चहाना भएका परिश्रमी तर पूँजी नभएर अन्यौलमा परेका युवाका लागि लक्ष्यित यो कार्यक्रमले रोजगारीका खोजीमा विदेश भौँतारिनु पर्ने बाध्यतालाई अन्त्य गर्न सक्छ भन्ने थुप्रै उदाहरण भेटिइसकेको छ । यस्ता कार्यक्रमले स्वदेशी श्रम र शीपलाई राष्ट्रको विकासमै उपयोग पनि अवसर पनि प्रदान गर्नेछ ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको