Like us!
Follow us!
Connect us!
Watch us!

श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री,काँग्रेसका सभापति, सभामुख र राष्ट्रियसभाका अध्यक्षले शुभकामना व्यक्त

बुधबार, १८ बैशाख २०७६, ०७ : ३७ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री,काँग्रेसका सभापति, सभामुख र राष्ट्रियसभाका अध्यक्षले शुभकामना व्यक्त

स्वदेशमै रोजीरोटीको अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।  अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी बेरोजगारको पहिचान र सूचीकरण गर्ने काम भइरहेको तथा केन्द्रमा सूचीकृत बेरोजगारलाई एक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारीको प्रत्याभूति गरिने व्यवस्थाका लागि कार्य प्रारम्भ भइसकेको जानकारी दिनुभएको छ । 

“न्यूनतम रोजगारी पनि प्रदान गर्न नसकिएको खण्डमा नेपाल सरकारले हरेक बेरोजगार परिवारका लागि एक जना श्रमिकलाई १०० दिन काम गर्दा प्राप्त हुने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्नसमेत कार्य प्रारम्भ भइसकेको छ”, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ । सरकारले श्रमजीवीको अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन गराउने क्रममा श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले श्रम ऐनकै व्यवस्थाबमोजिम श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार भइसकेको बताउनुभएको छ ।  प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “पूर्वप्रतिबद्धतानुरुप सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गरिसकेको छ ।” प्रधानमन्त्री ओलीले सरकारले गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमसमेत शुभारम्भ गरिसकेको बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले उत्पादकत्व वृद्धि गर्ने ठोस योजनाका साथ सरकार तीव्र गतिमा अघि बढेको उल्लेख गर्दै भन्नुभएको छ,  “वर्तमान सरकार स्वदेशमै आत्मसम्मान पूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्दै लैजान कटिबद्ध छ, श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास एवं श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्दै श्रम सम्बन्धलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।”

प्रधानमन्त्री ओलीले सन्देशमा यस गौरवमय दिनको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी एवं दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना प्रकट गर्दै नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदुर वर्गले गरेको योगदानको उच्च सम्मान व्यक्त गर्नुभएको छ । “राजनीतिक सामाजिक परिवर्तनको ध्येयका साथ भएका नेपालका हरेक सङ्घर्षको घडीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन्”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, “मे दिवसको यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनमा काँधमा काँध मिलाउँदै युगान्तकारी राजनीतिक–सामाजिक परिवर्तन हासिल गर्न श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्दछु ।”

आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न सभामुखको आग्रह

सभामुख कृष्णबहादुर महराले नेपालको संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको र  सोही मर्मअनुसार सङ्घीय संसद्मा अहिले केही श्रमसम्बन्धी ऐन कानून निर्माणका क्रममा रहेको बताउनुभएको छ ।  अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवीलाई शुभकामना सन्देश व्यक्त गर्दै उहाँले श्रमिक वर्गका पक्षमा ऐनकानून निर्माण गर्नाका साथै संविधानप्रदत्त हक कार्यान्वयन भएमा मात्रै साँचो अर्थमा मजदूरले अधिकार प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

श्रमिक दिवस मनाइरहँदा अहिले पनि लाखौँ नेपाली श्रमिक न्यून पारिश्रमिकमा विदेशमा श्रम बेच्न बाध्य भइरहेको बताउँदै उहाँले श्रमिक वर्गको हितका लागि स्वदेशमै प्रशस्त रोजगारीको सिर्जना गरी आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न र तिनलाई दक्ष, व्यावसायिक एवं सबल बनाउनतर्फ राज्यले ढिलाइ गर्न नहुने उल्लेख गर्नुभएको छ ।  सो कार्यका लागि नीतिगत व्यवस्था तथा व्यावहारिक रुपमा कार्यान्वयनको पक्षलाई कडाइका साथ अघि बढाउन जरुरी भएको सन्देशमा उल्लेख छ । 

श्रमिकले आफ्नो अधिकारको  प्रयोग गर्न सकून्ः तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  श्रमिकले राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान गर्न तथा आफ्नो  अधिकारको सार्थक रुपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । 

सन्देशमा भनिएको छ, “नेपालको संविधानले परिकल्पना गरेको समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उद्देश्यलाई परिणाममुखी बनाउन श्रमिकहरुको महत्वपूर्ण योगदान रहन्छ र यसबाट प्राप्त हुने उपलब्धिबाट पनि श्रमिक वर्ग प्रत्यक्ष लाभान्वित हुनुपर्दछ ।” 

लोकतन्त्रमा मात्र श्रमको सम्मान हुन्छः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मे १ तारिख’ अर्थात् श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्नुभएको छ ।  पूर्वप्रधानमन्त्री देउवाले आज शुभकामना सन्देशमार्फत यो दिवस श्रमिक वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्दै नेपालमा २००३ सालमा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको बताउनुभएको छ । 

तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर  जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको उल्लेख गर्दै सभापति देउवाले नेपालमा प्रजातन्त्रको  प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको बताउनुभएको छ । त्यसैले काँग्रेस र मजदूर सधैं एक अर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको उहाँले उल्लेख गर्नुभएको छ । 

“विसं २०१६ मा काँग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरलाई कानूनसम्मत अधिकार प्रदान गरेको हो । नेपाली काँग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याएको थियो”, शुभकामना सन्देशमा उल्लेख छ । 

आज पनि नेपालका श्रमिकले अनेक समस्या व्यहोर्नु परेको उल्लेख गर्दै सभापति देउवाले श्रमिकका समस्या समाधान गरी उनीहरुका हक र हितको सम्वद्र्धन गर्न काँग्रेस सदैव सचेत भएर लागिरहेको बताउनुभएको छ ।  उहाँले लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने हुँदा लोकतन्त्रको रक्षा र सम्वद्र्धनमा सम्पूर्ण श्रमिक सजग र जिम्मेवार रहने विश्वास व्यक्त गर्नुभएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको