Like us!
Follow us!
Connect us!
Watch us!

बर्डफ्लुबाट काभ्रेका युवकको मृत्यु

विहीबार, १९ बैशाख २०७६, १४ : २८ मा प्रकाशित

बर्डफ्लुबाट काभ्रेका युवकको मृत्यु

अर्थ संसार, काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मृतकलाई इन्फ्लुएन्जा रोगको सङ्क्रमण भएको आशङ्कामा त्यसको यकिन गर्न नमूना परीक्षणका निम्ति जापान पठाइएको र त्यसको परिणाम यही वैशाख १७ गते प्राप्त भएको जनाउँदै मन्त्रालयले उनको निधन बर्डफ्लुबाटै भएको पुष्टि भएको बताएको छ ।

 मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको प्रावधानानुसार सो सम्बन्धमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालय तथा नेपाल देशीय कार्यालयलगायत निकायसँग सहकार्य थालेको बताएको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी उक्त रोगको सङ्क्रमण फैलिन नदिन निगरानी बढाउनाका साथै त्यसको विस्तृत अध्ययन थालिसकेको स्पष्ट गरेको छ । मन्त्रालयले बर्डफ्लुका लक्षणबारे सर्वसाधारणमा सूचनामूलक सामग्री प्रवाह गरिरहेको बताउँदै सो रोगबाट उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, मांशपेसी दुख्ने, प्रारम्भमा पेट र छाती दुख्ने र पखालासमेत लाग्न सक्ने बताउँदै जनाएको छ ।

उक्त रोगको सङ्क्रमण द्रुतगतिमा फैलिएर श्वास फेर्न कठिन हुने, निमोनिया र दमका लक्षण देखिने बताइएको छ । मन्त्रालयका अनुसार बर्डफ्लुबाट  नेपालीको स्वदेशमै निधन भएको यो पहिलो घटना हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको