Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त

शुक्रबार, २० बैशाख २०७६, १४ : ११ मा प्रकाशित

प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त

अर्थ संसार, काठमाडौं - प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले ल्याउन लागेको बजेटअघि आवधिक योजना, वार्षिक कार्यक्रम र बजेटमाथि छलफल भएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बुटवलमा बिहीबारदेखि शुरु भएको आवधिक योजना, बजेट तथा वार्षिक कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य तथा अर्थविज्ञ सहभागी भएका छन् । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई तीव्र आर्थिक विकासको बाटामा अगाडि बढाउन जरुरी रहेको बताए  ।  समष्टिगतरूपमा प्रदेशको विकासलाई अगाडि बढाउन छलफल आयोजना गरिएको उनको भनाइ थियो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा बजेटको प्राथमिकता र क्षेत्रका बारेमा छलफल हुनेछ । योजना आयोगले आर्थिक, सामाजिक, पूर्वाधार विकास, सुशासन र सुरक्षाजस्ता अन्तरसम्बन्धित क्षेत्र छुट्याएर तयार गरेको प्रमुख आयोजना तथा कार्यक्रमबारे सरोकार पक्षको राय लिन कार्यक्रम आयोजना गरिएको हो । साना र टुक्रे योजनामा बजेट खर्च नगरी बजेटलाई ठूला योजनामा लगाउनुपर्ने सदस्यको जोड थियो ।

छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजनालाई समेट्ने गरी बजेटमा योजनालाई प्राथमिकतामा राखिएको बताए । प्रदेश समृद्धिको आधार कृषि, पर्यटन, जल, जमीन र औद्योगिक विकास भएकाले योजना बनाउँदा विशेष ध्यान दिनुपर्ने उनले बताए  । 

रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको