Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण

आइतबार, २२ बैशाख २०७६, १६ : ४१ मा प्रकाशित

नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण

अर्थ संसार, काठमाडौँ– नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम वस्तुनिष्ठ भएको तर त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको सांसदहरूले बताएका छन् । 

प्रतिनिधिसभामा आजदेखि शुरु भएको छलफलमा उनीहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका विकास–निर्माणका आयोजना तथा सरकारका लक्ष्य सराहनीय भए पनि कार्यान्वयनपक्ष चुनौतीपूर्ण हुने बताए । 

सत्तारूढ दलका सांसद अग्निप्रसाद सापकोटाले त्यसको समर्थन गर्दै नेपाली मौलिकता कायम हुनुपर्नेमा जोड दिए । एक पृथक प्रसङ्गमा उनले देशभरका सरकारी र गुठी जग्गा छानबिन गर्न सदनले ऐन नै पारित गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार निर्मूल गर्न त्यसो गर्नु अपरिहार्य भएको बताए । 

सत्तारूढ दलकै अर्का सांसद खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयुक्त भएको ‘मेरो सरकार’ भन्ने शब्दावलीका विषयमा अनावश्यक टिप्पणी नगर्न आग्रह गरे । उनले सहकार्यका आधारमा निर्माण भएको संविधानलाई कार्यान्वयन गर्दै विकास निर्माणको कामलाई सत्तापक्ष र प्रतिपक्ष नभनी क्रियाशील हुन प्रमुख प्रतिपक्ष दलको ध्यानकर्षण गराए । 

नेकपाका सांसद सत्या पहाडीले  नीति तथा कार्यक्रमले जनशक्तिको विकासलाई योजनाबद्ध तवरले अगाडि बढाउने वातावरण तयार पारेको भन्दै बजेट पनि त्यसै आधारमा आउनुपर्नेमा जोड दिए । उनले भने, “सामाजिक र आर्थिक विकासको यात्रामा अगाडि बढ्ने बेला शब्दमा अल्झेर बस्न हुँदैन । सत्तापक्ष र प्रतिपक्षको सीमा हुनुहुन्न ।”

नेपाली काङ्ग्रेसका दिलेन्द्रप्रसाद बडूले नीति तथा कार्यक्रममा सङ्घीयतालाई सुदृढ बनाउने विषयवस्तु समेट्न नसकिएको उल्लेख गर्दै गाउँगाउँका योजनामा रकम उपलब्ध गराइएको आरोप लगाउनुभयो । रातो पुस्तकमा उल्लेख नभए पनि रकम पुगेको उहाँको कथन थियो । 

काङ्ग्रेसक सांसद पुष्पा भुसालले नीति तथा कार्यक्रममा महिलाको विषय समावेश नगरिएको गुनासो गर्नुभयो । छात्रालाई स्यानेटरी प्याड र महिला हिंसा अन्त्य गर्ने विषय उल्लेख भए पनि कार्यान्वयन हुनेमा आशङ्का रहेको धारणा व्यक्त गरिन् । 

सांसद राजेन्द्र श्रेष्ठले पूर्वाधार विकासलाई दिइएको प्राथमिकता सराहनीय रहेको, सहकारीका सिद्धान्त अपनाएर सङ्घीयतालाई सुदृढ तुल्याउनुपर्ने, पर्याप्त बजेट स्थानीय तह र प्रदेशलाई उपलब्ध गराउनुपर्ने सुझाव दिए । सबै विषयलाई काठमाडौँ केन्द्रित गर्न नहुने र सातै प्रदेश तथा ठूला शहरमा सरकारको ध्यान पुग्नुपर्नेमा उनले जोड दिए । 

राजपाका सांसद शरत्सिंह भण्डारीले नीति तथा कार्यक्रममा समावेश भएको भाषासमेत राम्रो नभएको टिप्पणी गर्दै “सरकारले राम्रो लेखनदाससमेत पाएन । योभन्दा विडम्बना अरू के हुन सक्छ”, भने । सोही दलकै सांसद राजकिशोर यादवले आर्थिक समृद्धिको नारालाई कार्यान्वयन हुने गरी कार्यक्रम नआएको भन्दै असन्तोष प्रकट गरे । 

सांसद रेणुका गुरुङ, पार्वती डिसी चौधरी, दलबहादुर रानालगायतले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । 
रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको