Like us!
Follow us!
Connect us!
Watch us!

गुठी जग्गामा व्यक्तिको रजाइँ

मंगलबार, ३१ बैशाख २०७६, १७ : २१ मा प्रकाशित

गुठी जग्गामा व्यक्तिको रजाइँ

धु्रवसागर शर्मा

अर्थ संसार, बेनी–  बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक कोत (खड्ग भवानी) को बगरफाँटमा अवस्थित दुर्गा भवानी गुठी जग्गा अतिक्रमण गरेर केही व्यक्तिले रजाइँ गरेका छन् ।

तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली थुम ९कमाइ खानु भनेर बिर्तामा दिएको राज्य० ज्यामरुक कोटका अन्तिम राजा भर्तिवम मल्लको अन्त्यपछि खड्ग भवानी कोतको नाममा रहेको बेनपा २ बगरफाँटको १२ रोपनी ६ आना क्षेत्रफल जग्गामध्ये करीव ३ रोपनी जग्गा अतिक्रमण भएको हो ।

खड्ग भवानी कोतको दुर्गा भवानी गुठी जग्गाको साँधमा रहेका सधियारहरुले जग्गा अतिक्रमण गरेर मनलाग्दो गर्दै आएका स्थानीय बासिन्दाले बताएका छन् । केही दिन अघि मात्र बगरफाँटका नरबहादुर कार्कीले गुठी जग्गाको रुख आफ्नो हो भन्दै काट्नु भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

जग्गा अतिक्रमण भएको बारेमा पटक पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि केही कार्वाही नभएको गुठीयारहरुले बताएका छन् । खड्ग भवानी कोतको नाममा जग्गाधनी प्रमाणपूर्जा रहेको करीव ३३ रोपनी जग्गामध्ये २० रोपनी जग्गा ज्यामरुक कोटको भकुण्डे क्षेत्रमा र १२ रोपनी ६ आना जग्गा बगरफाँटको कुरुङ्दीमा रहेको खड्ग भवानी कोत पूजा एवं गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

“गुठी जग्गा अतिक्रमण भएको भन्ने गुनासो आएको छ, वडाध्यक्षसहित समितिका पदाधिकारीहरु गएर एक पटक निरीक्षण पनि गरेको हो,” अध्यक्ष घिमिरेले भन्नुभयो – “अब छिट्टै नापी लगेर अतिक्रमण भएको छ वा छैन नापजाँच गर्नेछु ।”

अध्यक्ष घिमिरेले धेरै पटक नापी लगेर जग्गा नापजाँच गर्ने बताउँदै आउनुभए पनि अहिलेसम्म गुठी जग्गाको बारेमा कुनै चासो लिइएको छैन ।

सापकोटा थरका ब्राह्मणहरुले पुस्तौंदेखि भोगचलन गर्दैआएको सो गुठी जग्गा पछिल्लो समयमा आएर अतिक्रमण, पहिरो र बाटोका कारण आफूहरुलाई मर्का परेको गुठीयार गोविन्दप्रसाद शर्माले बताउनुभयो । खड्ग भवानी कोतमा सापकोटा थरका ब्राह्मणहरु नै पुजारी हुनुपर्ने मान्यता अनुसार पुस्तौंदेखि सो कोतमा दशैंका दश दिनसम्म सापकोटा ब्राह्मणहरुबाट पुजाआजा हुने गर्छ । त्यस अतिरिक्त चैतेदशैं, नागपञ्चमी, साउने सङ्क्रान्ति लगायतका पर्वहरुमा पनि सापकोटा गुठीयारहरुले पूजाआजा गर्दैआएका छन् ।

पुस्तौंदेखि खड्ग भवानी कोतमा पूजाआजा गर्दैआएका ब्राह्मणका अतिरिक्त घर्ती र थापा थरका क्षेत्रीहरुले पनि गुठी जग्गाको भोगचलन गर्दैआएका छन् । गुठीयारहरुले गुठी जग्गाको भोगचलन गरेवापत आ–आफ्नो जिम्मेवारीको काम गनुपर्छ भने कोत पूजा तथा गुठी व्यवस्थापन समितिलाई निर्धारित शुल्क समेत बुझाउनु पर्छ ।

चार–पाँच पुस्तादेखि भोगचलन गर्दै आए पनि गुठीयारहरुलाई जग्गाको कुनै पनि कागजात दिइएको छैन । बरु गुठी व्यवस्थापन समिति र जनप्रतिनिधिबाट गुठीयारहरुलाई विभिन्न बहानामा दुःख दिने काम हुँदै आएको छ । केही समय अघि गुठीयारले हुर्काएका र संरक्षण गरेका टुनीका रुख काट्दा वडाध्यक्ष लगायत गुठी व्यवस्थापन समितिका अध्यक्षले गुठीयार धु्रव शर्मालाई अनावश्यक दुःख दिएको पीडितको भनाइ रहेको छ ।

देव गुठीअन्तर्गत दर्ता रहेको सो जग्गा किनबेच गर्न नमिल्ने भएका कारण समस्या उत्पन्न भएको समितिका अध्यक्ष घिमिरेले बताउनुहुन्छ । गुठीयारहरुले नै संरक्षण र प्रयोग गर्दैआएको सो जग्गा अतिक्रमण हुने क्रम बढ्दै गएपछि उनीहरुले बेनपा २ का वडाध्यक्ष हीराबहादुर थापा र गुठी व्यवस्थापन समितिका अध्यक्ष घिमिरेलाई जानकारी गराए पनि कुनै सुनुवाइ भएको छैन । वडाध्यक्ष थापाले गुठी व्यवस्थापन समितिले जग्गाको प्रमाण पूर्जा सहित वडा कार्यालयमा निवेदन दिए प्रक्रिया अघि बढाउन सहज हुने बताउनुभयो ।

सो गुठी जग्गाको इतिहास खोतल्दा १५ औँ शताब्दीसम्म पुग्छ । पन्ध्रौं शताब्दीको प्रारम्भसँगै थापाहरुले राज्य गर्न थाले पछि अस्तित्वमा आएको ज्यामरुक कोटमा रहेको ९खड्ग भवानी कोत० का दुर्लभ हातहतियार र अभिलेखहरुले यसको ऐतिहासिक महत्वलाई दर्शाउँछन् ।  
ज्यामरुक कोटमा विक्रम सम्वत् १२४६ देखि १५४५ सम्म थापाहरुले राज्य गरेका र १५४५ को भदौ महिनामा थापाहरुको पुख्र्यौली थलो मानिएको ताकम डिम्वमल्लले कव्जा गरेपछि ज्यामरुक कोट, पुलाचौर, कुहू र राखुका थापा राजाहरुले आफ्नो खाइपाई आएको राज्य छोडेर मल्ल राजाहरुका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएका शिलालेखमा उल्लेख छ ।

करीब ३२ रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाहरुको ताम्रपत्रमा अङ्कित इतिहास, तोप, खुँडा, तरबार लगायतका हातहतियार, प्राचीन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा रहेका छन् ।

त्यहाँ रहेका हातहतियारहरुको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी, भाला, तरबार, ढाल लगायतका औजारहरुमा खिया लागेको छ । कोट परिसर युवायुवतीहरुको क्रिडास्थल र केही टाठाबाठाहरुको व्यक्तिगत सम्पत्ति जस्तै बनेको स्थानीय बासिन्दा भीमबहादुर पौडेलले बताउनुभयो ।

जिल्ला सदरमुकाम बेनीबजारदेखि ४ किलोमिटरको दूरीमा रहेको भए पनि कसैको ध्यान नपुग्दा पश्चिम नेपालकै यस ऐतिहासिक स्थल गुमनाम रहन पुगेको अर्जन मावि भकुण्डेका शिक्षक नवीन घिमिरे बताउनुहुन्छ  ।

पछिल्लो समय साविकको जिल्ला विकास समितिको पर्यटन गुरुयोजनामा ज्यामरुक कोटको सो स्थानका लागि पूर्वाधार निर्माण गरिने भनिएको भए पनि पर्यटन गुरुयोजना नै कार्यान्वयन हुन नसके पछि सम्भावना पनि टर्दै जान थालेको नेपाली काँग्रेस म्याग्दीका सचिव क्या। मीनबहादुर कार्कीले बताउनुभयो ।

थापा राज्यको अन्त्यसँगै मल्ल राजाहरुको नियन्त्रणमा रहेको ज्यामरुक कोटलाई सामरिक दृष्टिकोणले समेत उपयुक्त ठानी मल्ल राजाहरुमध्येका शक्तिशाली मानिएका ताकमका राजा डिम्बवम मल्लले आँखा गाडेका इतिहासमा उल्लेख छ ।

डिम्बवम मल्लले तत्कालीन ज्यामरुके राजा भर्तिवम मल्ललाई ज्यामरुक कोट छोड्न धम्की दिएका तर डिम्बवम मल्लले ‘दिए पनि खान्न, धपाए पनि जान्न, ज्यान गए पनि ज्यामरुक कोट छोड्दिन भनेर अड्डी लिएपछि आक्रोशित बनेका डिम्बवमले भर्तिवम मल्लका भाइसँग मिलेर उनको हत्या गरेका इतिहासकारहरु मान्छन् ।

आफ्नो पतिको हत्या भएको खबर सुनेर आत्तिदै पतिको हत्या भएको ठाउँ पर्वतको मल्लाजतर्फ आउँदै गर्दा साविकको अथुङ्गे गाविसको कुरिला खर्कमा रानी र उनकी भान्छे बाहुनीले झुण्डिएर आत्महत्या गरेका हुनाले सो ठाउँलाई महारानी थान भनिएको किंवदन्ति रहेको छ ।  भर्तिवम मल्लको अन्त्यपछि डिम्बवम मल्लको रेखदेखमा रहेको ज्यामरुक कोट नेपाल एकीकरणको अभियानमा पर्वत राज्यमा गाभिएको र राजाको दरबार रहेको ठाउँमा खड्ग भवानी मन्दिर बनाई  त्यहाँको चल अचल सम्पत्तिलाई गुठी मानी प्रत्येक नवरात्रि र राम नवमीमा बलिसहित विशेष पूजा आराधना हुँदै आइरहेको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको