Like us!
Follow us!
Connect us!
Watch us!

'लुम्बिनी भ्रमण वर्ष २०७६'को तयारी पूरा

कमला भुसाल

विहीबार, ०२ जेठ २०७६, १५ : २४ मा प्रकाशित

'लुम्बिनी भ्रमण वर्ष २०७६'को तयारी पूरा

अर्थ संसार, काठमाडौं- बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा भव्यरुपमा मनाइने बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । 

यसपटक जेठ ४ गते परेको २५६३औँ बुद्धजयन्ती तथा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष शुभारम्भ कार्यक्रम एकै दिन हुने भएकाले भब्य तयारी गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्वर्द्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पुर्‍याउने उद्देश्यले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने घोषणा गरेको हो ।

भ्रमण वर्षमा मायादेवी प्रसूति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथनलगायतका कार्यक्रम गरिनेछ ।

आन्तरिक पर्यटनमा केन्द्रित भएर यसपटकको बुद्धजयन्ती मनाउने तयारी गरिएकाले प्रचार प्रसार र सबै तयारीको काम पूरा भएको विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए । बुद्धजयन्तीको दिन प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष शुभारम्भ गर्ने भएका कारण यसपटकको बुद्धजयन्ती विशेष हुने उनको भनाइ छ । 

प्रचारप्रसार उपसमितिले सातवटै प्रदेशका विभिन्न जिल्ला र सङ्घीय राजधानी काठमाडौँमा पुगेर पत्रकार सम्मेलन गरी लुम्बिनी घुम्न आउन निम्तो दिइसकेको संयोजक भरत केसीले बताए ।  बुद्धजयन्तीको अवसर पारेर सरसफाइ कार्यक्रम गरी लुम्बिनीलाई सिङ्गारिएको छ ।  विभिन्न सङ्घसंस्था, विकास कोषका कर्मचारी तथा नेपाली सेनाको टोलीले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरेका छन् । बुद्धजयन्ती तथा भ्रमण वर्ष शुभारम्भ समारोहमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, विभिन्न देशका बौद्धमार्गी, भिक्षु भिक्षुणी, संस्कृतिविद्लगायत लुम्बिनी आउने कार्यक्रम तय भएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयका अनुसार प्रधानमन्त्री ओलीेले शुत्रबार दिउँसो बुद्धले २९ वर्ष बिताएको स्थान कपिलवस्तुको तिलौराकोट तथा अन्य बुद्धस्थलको अवलोकन गर्नेछन । प्रधानमन्त्री ओलीले लुम्बिनी फर्केर साँझ मायादेवी मन्दिरमा दीप प्रज्वलन गर्नेछन । प्रधानमन्त्री ओलीले बुद्ध जयन्तीको दिन शनिबार बिहान बुद्ध पूजा र शान्ति र्‍यालीमा सहभागी हुने र थाई विहारमा भिक्षुलाई सङ्घ दान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले सोही दिन लुम्बिनीमा दुई हजार ६४३ वटा बिरुवा रोप्ने कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धजयन्ती २५ सय ६३औँ वर्ष पुगेको र उनको जन्म त्यसभन्दा ८० वर्षअघि भएकाले बुद्ध जन्मिएको दुई हजार ६४३ वर्ष पुगेको उपलक्ष्यमा सोही सङ्ख्यामा फलफूलका बिरुवा रोप्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार यो कार्यक्रम तय गरिएको विकास कोषका निमित्त सदस्य सचिव भट्टराईले बताए। 

त्यसलगत्तै बिहान ११ बजे बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भ समारोह शुरु हुनेछ । समारोहमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १०० छात्रछात्रालाई पाँच हजारका दरले छत्रवृत्ति वितरण गर्ने कार्यत्रम रहेको कोषका प्रशासन प्रमुख तथा छात्रवृत्ति उपसमितिका सदस्य चूडामणि भट्टराईले जानकारी दिए  ।

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा बुद्धको जन्म भएको थियो । पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्पराअनुसार मायादेवी आफनो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो । 

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुटकारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किएका थिए । 

वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गरेका थिए। वैशाख शुक्ल पूर्णिमाकै दिन उनको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्धजयन्ती मनाउन थालिएको हो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको