Like us!
Follow us!
Connect us!
Watch us!

चुकाउनीमा आकर्षण

आइतबार, ०५ जेठ २०७६, १५ : ४९ मा प्रकाशित

चुकाउनीमा आकर्षण

पवित्रा घिमिरे

अर्थ संसार, पाल्पा– पाल्पाली अचारका रुपमा परिचित चुकाउनीप्रति सबैको आकर्षण बढ्न थालेको छ । आलु, दही, हरियो खुर्सानी, मेथीको दाना र धनियाँको हरियो पातलाई प्रयोग गरेर तयार पारिने यो अचार धेरैले रुचाइएको पाइएको छ ।

पाल्पाका रैथाने नेवार समुदायको संस्कृति यो अहिले पाल्पाली पहिचान  बनेको जानकार बताउँछन् । नेवार समुदायले विवाह, व्रतबन्ध, पूजाराधनालगायत शुभकार्य एवं धार्मिक कार्यमा अनिवार्य जस्तै प्रयोग गरिने चुकाउनी स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण मानिने लेखक निर्मल श्रेष्ठ बताउनुहुन्छ ।

शुभकार्य तथा शुभसाइतमा प्रयोग गरिने दही स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण मानिने हुनाले स्थानीयस्तरमा बढी प्रयोग गरिन्छ । सजिलै पाइने र सरल तरिकाबाट बनाउन सकिने हुनाले पनि सबैले प्रयोग गर्न थालेको श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो,“ पहिले सदरमुकाम तानसेनमा बस्ने रैथाने नेवार समुदायले चाडपर्व र शुभकार्यमा बेला अनिवार्य तयार पारिने चुकाउनी आजभोलि सबैले मन पराउन थालेका छन् ।”  चिल्लो खाएका बेला चुकाउनी खाँदा पेटमा बिसञ्चो नहुने उहाँको धारणा छ ।

आलुलाई उसिनेर काट्ने, दही, हरियो खुर्सानी र धनियाँ तथा प्याज काटेर सबै एकै ठाउँमा मिसाउने, स्वादअनुसारको नून राख्ने अनि तेल तताएर मेथी फुराएर झानेपछि खानका लागि चुकाउनी तयार हुन्छ । चुकाउनी तयार गर्न समय नलाग्ने र स्वादिलो हुनाले पनि सबैलाई मन पर्ने श्रेष्ठले बताउनुभयो ।

 जाडोमा केही कम बिक्री भए पनि गर्मीमा चुकाउनी सबैले खोज्ने गरेको होटल व्यवसायीको बताउँछन् । पाल्पा राम्दीमा लामो समयसम्म चुकाउनीको व्यवसाय गर्नुभएका नन्दकिशोर अमात्यले आफ्नो होटलमा आउने धेरैले चुकाउनी खान मन पराउने बताउनुभयो । राम्दीपुल चोक नजीकै अमात्य रेष्टुरेन्टका सञ्चालक अमात्यले  २२ वर्षदेखि आफूले व्यवसाय गरेको र त्यति बेलादेखि नै चुकाउनीको व्यापार गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ स्याङ्जा, पोखरा, चितवनतर्फ जानेहरु र जिल्ला बाहिरका मानिस होटलमा आउँछन्, चुकाउनी खान्छन्, अचम्म मीठो हुँदोरैछ भन्छन्, चुकाउनीको परिचय लिएर जान्छन् ।” उहाँका अनुसार पाल्पाली  चुकाउनी अन्त पाइँदोरैनछ, पाल्पाली व्यवसायीले नयाँ स्वाद दिएका छन् ।

 राम्दीमा चुकाउनी तयार गर्ने थुप्रै व्यवसायी छन् ।  पूर्वी र पश्चिमी पाल्पामा पनि यसको व्यवसाय हुन्छ ।   एक पटक चुकाउनी चाखेर गएका मानिसले फेरि आउँदा चुकाउनी खान मन पराउने अमात्यको भनाइ छ ।  रामपुरमा रामपुर अस्पताल नजीकै चियापसल सञ्चालन गर्नुभएका रामप्रसाद डोटेलले चुकाउनीको माग र व्यापार राम्रो भएको बताउनुभयो । उहाँले जाडोभन्दा बढी गर्मीको बेला चुकाउनीको बिक्री हुन्छ भन्नुभयो । पाल्पाली ढाका, करुवालगायत विभिन्न पहिचान दिने वस्तुसँगै चुकाउनीले समेत पाल्पा जिल्लामा छुट्टै परिचय बनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको