Like us!
Follow us!
Connect us!
Watch us!

रहस्यमय माथिल्लो मुस्ताङमा किन कम पर्यटक ?

मंगलबार, ०७ जेठ २०७६, १२ : ३५ मा प्रकाशित

रहस्यमय माथिल्लो मुस्ताङमा किन कम पर्यटक ?

निनाम कुलुङ मंगले

विश्वका भ्रमण प्रेमी मानिसहरुका लागि विभिन्न (भ्रमण गर्न चाहेको सम्बन्धित देश) देशका बारेमा जानकारी दिने उदेश्यले किताब लेख्ने प्रकाशित गर्ने गरेको र विश्वका भ्रमण प्रेमीहरुले पनि विश्वसनीय र आधिकारिक मान्ने गरेको ‘लन्ली प्लानेट’ले सन् २०१३ मा घुम्नै पर्ने विश्वका १० उत्कृष्ट स्थानमध्ये तेस्रो नम्बरमा पर्न सफल भएको थियो, –माथिल्लो मुस्ताङ । अर्थात् अंग्रेजीमा –अप्पर मुस्ताङ ।

यसरी सन् २०१३ मा लोन्ली प्लानेटको तेस्रो नम्बरमा परेको माथिल्लो मुस्ताङमा सन् २०१३ मा अपेक्षित पर्यटक नआए तापनि विगतका वर्षहरुमा माथिल्लो मुस्ताङमा सन् २०१३ मा पर्यटकको संख्यासँगै आमदानी पनि बढेको देखिएको थियो ।

उक्त संस्थाले केही वर्षअघि फेरि गरेको सर्वेक्षणमा पनि पर्यटकले आफ्नो जीवनमा एकफेर नपुगी नहुने वा भ्रमण नगरी नहुने महत्वपूर्ण स्थानहरुमा नेपालको  माथिल्लो मुस्ताङ नै परेको थियो । जुन नेपालका पर्यटन व्यवसायीका लागि मात्रै नभएर सम्पूर्ण नेपालीहरुका लागि गर्वको विषय हो ।

केही वर्षअघि प्रकाशित समाचारमा जनाइए अनुसार सन् २०१३ मा माथिल्लो मुस्ताङमा भ्रमण गर्न आएका विदेशी पर्यटकबाट राजस्व अर्थात् सलामी मात्रै लगभग २० करोड रुपैंया राजस्व अर्थात् सलामी उठेको थियो । हुन पनि त्यो बेला अनेकौं पटकको नेपाल बन्द र हडतालकाबीच त्यति रकम उठ्ने गरी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गर्नु भनेको पक्कै पनि सकारात्मक हो भन्न सकिन्छ । 

जे होस्, माथिल्लो मुस्ताङले नै किन घरि–घरि विश्वका कुनै पनि पर्यटकले एकपटक भ्रमण नगरी नहुने १० स्थानभित्र पर्ने गरेको छ त ? यसबारेमा यहाँ केही चर्चा गर्ने प्रयास गरिएको छ । स्थानीय भाषामा ‘ल्हो मन्थाङ’ अनि अंग्रेजी भाषामा फोरबिड्डन किङडोम, हिड्डेन किङडोम, मड सिटी, लस्ट किङडोम, अप्पर मुस्ताङ आदि भनेर चिनिने र, नेपाली भाषामा माथिल्लो मुस्ताङ भनिने माथिल्लो मुस्ताङ २०४६ सालको परिवर्तन अघिसम्म विदेशी त के नेपालीहरुकै लागि पनि प्रायः गुम नाम भएर बसेको थियो ।

त्यसो त फ्रान्सको राजधानी पेरिसस्थित युनेस्कोको कार्यलयले माथिल्लो मुस्ताङको महत्वलाई बुझेर विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिसकेको छ । जे होस्, जब २०४६ सालको राजनैतिक परिवर्ततन आयो, तब त्यसपछि बनेको प्रजातान्त्रिक सरकारले माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, मनास्लु, कञ्चनजंघा मकालु आदि क्षेत्र विदेशी पर्यटकका लागि आंशिक रुपमा खुल्ला गर्यो ।  त्यस अघिसम्म माति उल्लेखित क्षेत्रहरु विदेशीलाई भ्रमण गर्न निषेध नै गरिएको थियो । तर अमेरिकी नागरिक तथा नेपालमा लामो समयसम्म पर्यटनव्यवसाय गरेर बसेका स्टान आर्मिङटनद्धारा लिखित र ‘लन्ली प्लानेट’द्धारा नै प्रकाशित ‘द हिमालय किङ्डोम’ नामक पुस्तकमा उल्लेख भए अनुसार तत्कालीन शाही पाहुनाहरु भने सुटुक्क माथिल्लो मुस्ताङ जान्थे ।

जे होस्, प्रजातान्त्रिक सरकारले भने खुल्ला रुपमा तर सीमित मात्रामा माथिल्लो मुस्ताङ विदेशी पर्यटकलाई निश्चित सर्तसहित भ्रमण गर्न दिने निर्णय गर्यो, सन् १९९० मा । जस्तो कि, माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने पर्यटक कम्तिमा २ जना हुनै पर्ने, सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत मात्रै जान पाउने, एकजना सरकारी वातावरण अधिकृत अनिवार्य रुपमा लानै पर्ने (हाल खारेज), १० दिनमा ट्रेकिङ सक्नै पर्ने (आधार खुलाएर थप २ दिन थप्न सकिने), एकजना पर्यटक बराबर दैनिक ७० डलर (हाल घटाएर ५०० सय डलर) सरकारलाई राजस्व तिर्नु पर्ने, वर्षमा एक हजार भन्दा बढी पर्यटक जान नपाउने, स्थानीय समुदायलाई सीधै आर्थिक लगायत अन्य सरसहयोग दिन नपाइने, दिन परे प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिनु पर्ने आदि इत्यादि सर्तसहित मात्रै पर्यटकलाई खुल्ला गरिएको हो । 

यसरी नेपालका अन्य केही क्षेत्रहरुमा जस्तै निषेध लगाएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि खुल्ला भएपछि पहिलो वर्ष सन् १९९२ मा ४८३ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकहरुको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक नाघ्यो । अर्थात् उक्त वर्ष १०६६ जना पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । तर दूर्भाग्य, यो क्रम लामो समयसम्म जारी रहन सकेन । सन् १९९९ मा १०५७ जनाले भ्रमण गरे तापनि देशमा सुरु भएको हिंसा प्रतिहिंसाका कारण सन् २००० देखि पुनः माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या तीन अंकमा झर्यो । यो क्रम सन् २००६ सम्म नै जारी रह्यो । 

नेपालमा छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा पर्यटकको संख्या पनि बढेर सन् २००७ मा चार अंक पुग्यो । अर्थात् सन् २००७ मा ११५७ जना पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । त्यसपछिको वर्ष अर्थात् सन् २००८ मा त स्थानीयवासीहरु नै आश्चार्य चकित हुने गरी विदेशी पर्यटक माथिल्लो मुस्ताङमा ओइरिए !?। अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २१९४ जनाले पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । यस विषयमा जिज्ञासा राख्दा अमेरिकास्थित माउन्टेन सोबेक ट्राभल्सका नेपाली ग्रुप लिडर दावानोर्बु शेर्पा भन्छन्, ‘एक त त्यो बेला तिब्बत जान चीनले प्रतिबन्ध लगाएको थियो । अर्को भनेको तिब्बत र माथिल्लो मुस्ताङका समुदायका धर्म, भाषा, भेषभुषा, रहनसहन, संस्कार, संस्कृति आदि मिल्छ । त्यसैले तिब्बत जान नसक्ने पर्यटकका लागि माथिल्लो मुस्ताङ वरदान नै हो ।’ त्यति मात्रै होइन, त्यहाँं रहेका पूर्व मुस्ताङे राजा जिग्मी पर्वल बिष्ट पनि विदेशी पर्यटकका लागि अर्को आकर्षण र कौतुहलको विषय थियो, पहिलेपहिले ।                    

तिब्बत र माथिल्लो मुस्ताङ उस्तै उस्तै

हो, भगौलिक हिसावले तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तै उस्तै छ । त्यतिमात्रै होइन, उनीहरुबीच धर्म, भाषा, भेषभुषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दो जुल्दो छ । घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरिका उही, खेती गर्ने तरिका उही । अझ माथिल्लो मुस्ताङको तिब्बतभन्दा पृथक पहिचान के छ भने, माथिल्लो मुस्ताङका विभिन्न स्थानमा प्राचीन गुफाहरु प्रशस्तै छन् । जुन पर्यटकका लागि वरदान नै हो ।

उता ‘लो घ्याकर’मा स्थापित आजभन्दा १२ सय वर्ष पूरानो गुम्बाले त झनै विदेशी पर्यटकका लागि कौतुहलता र आकर्षण थपेको छ । भनिन्छ, उक्त गुम्बा गुरु पद्यम संभवले तिब्बतमा बुद्ध धर्म फैलाउन जांँँने क्रममा स्थापना गराएका हुन् । अझै पनि माथिल्लो मुस्ताङमा अपेक्षित रुपमा पर्यटन पूर्वाधार होटल लजहरु प््रसस्त बन्न नसक्नु वा अन्य पूर्वाधार तयार नहुनु भने दुःखद नै मान्नु पर्छ । अन्नर्पूण संरक्षण आयोजना, राष्टिंय प्रकृति संरक्षण कोष (एक्याप-एनटीएनसी) र नेपाल सरकारले सरुमा माथिल्लो मुस्ताङ भ्रमण गर्न जाने पर्यटकको मर्कालाई बुझेर सलामी दस्तुर अर्थात् प्रवेश शुल्क सात सय अमेरिकी डलरबाट घटाएर पाँच सय अमेरिकी डलरमा झारेको छ ।

यसको फल स्वरुप विगत तीन चार वर्षदेखि माथिल्लो मुस्ताङमा भ्रमण गर्न चाहने पर्यकको संख्या पनि बढेको बढ्यै छ  । तर माथिल्लो मुस्ताङ जाने पर्यटकको बढ्दो संख्याको विषयमा जोय ट्रेकका संचालक महेश बुढामगरको भनाइ भने यस्तो रहेको छ ‘–माथिल्लो मुस्ताङ जस्तो ऐतिहासिक र पुरातात्विक क्षेको भ्रमणमा वेस्ट टुरिष्ट (खर्च गर्न नसक्ने, मख्खीचुस, फोहर मैला मात्रै गर्ने र वातावरण नष्ट मात्रै गर्ने पर्यटकलाई ‘वेस्ट टुरिष्ट’ भन्ने प्रचलन छ । यस खालका वेस्ट टुरिस्टको भीड लगाउँदा माथिल्लो मुस्ताङको सौंदर्य र महत्व मात्रै घट्छ ।’ त्यसैले यो विषयमा अर्थात् गुणस्तरीय पर्यटकलाई मात्रै माथिल्लो मुस्ताङ भ्रमण गराउने प्रङ्ग र प्रश्नमा भने, हामी सबैले ध्यान दिनुपर्ने देखिन्छ । 

त्यसो त ऐतिहासिक र रहस्यमय झैंँ लाग्ने र लगभग तिब्बतको जस्तै भाषा, संस्कार, संस्कृति, भूगोल, रहनसहन, रीतिथिति रहेको माथिल्लो मुस्ताङमा संख्यात्मक रुपले किन कम पर्यटक जान्छन् ? हामीले यस बारेमा सोच्नुपर्ने देखिन्छ । तर, एउटा कारण महँगो शुल्क हुन सक्छ । यसरी माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्याको कुरो गर्दा पछिल्लो चार वर्षमा माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्याको तथ्यांक तल दिइएको छ ।

सन् २०१५मा २ हजार ६ सय ८६ जना, सन् २०१६ मा ३ हजारर १६ जना, सन् २०१७ मा ४ हजार १ सय १५ जना, सन् २०१८ मा ३ हजार ९ सय १५ र सन् २०१९ को मे महिनासम्ममा ६ सय ४२ जना विदेशी पर्यटकले ले माथिल्लो मुस्ताङको भ्रमण गरेका छन् । 

तथ्यांक स्रोतः राजधानी दैनिक ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको