Like us!
Follow us!
Connect us!
Watch us!

एसईई पछिको अल्मल : अहिलेको निर्णय,भविष्यको चिन्ता

कमला भुसाल

शुक्रबार, १३ असार २०७६, ०५ : ५५ मा प्रकाशित

एसईई पछिको अल्मल : अहिलेको निर्णय,भविष्यको चिन्ता

कमला भुसाल

अर्थ संसार, काठमाडौं– एसईइको नतिजा लगभग प्रकाशनको तयारीमा रहेको छ । यतिखेर एसईई दिएर प्लस टु को पर्खाईमा बसेका विद्यार्थीहरुको मनमा अनेक किसिमका तरंगहरु उत्पन्न भइरहेका छन् । कतिपय विद्यार्थीहरुले राम्रा कलेज छान्न सकेका छैनन् । भने कतिपयलाई के पढ्ने ? भन्नेबारे कौतुहलता बढिरहेको छ । 

यस्तो कौतुहलता विद्यार्थीलाई मात्रै नभएर उनिहरुको अभिभावकमा पनि भइरहेको छ । अहिले अभिभावकहरुले आफु नपढेको भए पनि आफ्ना बच्चाहरुलाई भने राम्रो स्कूल, कलेज र राम्रो विषय पढाएर भविष्यका कर्णधार बनाउने सपना बोकिरहेका हुन्छन् । 

एसईईको नतिजा प्रकाशन हुने मिति जति नजिकिँदै जान्छ त्यति नै सञ्चार माध्यमबाट अनेक सुविधाको व्याख्या सहित प्लस टु पढाई हुने कलेजका विज्ञापनले भरिन थालेका छन् । त्यसमा हरेकले आँफूलाई अब्बल दावी गर्दै छन् । विद्यार्थी र अभिभावकमा चाँहि यतिखेर अन्यौल र अलमल छ । कुन कलेजमा प्लस टु पढ्ने र के विषय पढ्ने ? पछिल्लो समयमा विभिन्न खालका राम्रा शिक्षालय र प्लस टुको बजार विस्तार भइसक्दा पनि विद्यार्थी अभिभावकमा वर्षेनी यस्तो दोधार भने अझै पनि उत्तिकै छ ।

यस्तै अन्योलमा परेकी विद्यार्थी हुन यमुना थापा । अहिले यमुनालाई प्लस टुमा गरिने विद्यालाय र विषयको छनौट गर्न नसक्दा भोलि के बन्ने भन्ने कुराले अन्यौलमा पारेको छ । अहिले विषय र विद्यालय छनौटमा सामान्य गल्ती गर्दा पनि जीवनको बाटो बदलिने खतराहरु नहोस भन्दै उनी अहिले राम्रो कलेजको खोजी गररहेकी छन् । यमुना जस्तै धेरै विद्यार्थीहरु परिवार, प्लस टु र विद्यालयले पनि त्यसबारे गतिलो सुझाव नदिने भएकाले विद्यार्थीहरु यस्तै दोधारमा पर्ने गरेका छन् । 

विभिन्न कलेजहरुका तडक भडक सहितको विज्ञापनले यमुना अझै बढी अल्मलिएकी छन् । अन्यौलको अर्को कारण हो साथीभाइ । माध्यमिक तहसम्म सँगै पढेका साथीभाइको रोजाइले पनि उनलाई अलमल परेको हो । 

के पढने ?

कुनै पनि विषय आफैमा राम्रो या नराम्रो हुदैनन्। डिस्टिंङसन र फर्स्ट डिभिजन आयो भन्दैमा साइन्सनै पढ्नु पर्छ भने हल्लाको पछि नलाग्नुहोस् । साइन्समात्र राम्रो अरु विषय पढेर काम छैन भनेर मन नलागि नलागि साइन्स पढ्दा बिचैमा पढाइ छोड्ने वा विषय परिवर्तन गर्ने पनि धेरै हुने गर्छन। प्रत्येक विषयको आफ्नै गुण हुन्छ । अरुको कुरा सुनेर मात्रै निर्णय लिन हतार नगर्नुहोस् । तपाईँलाई के पढ्नमन छ ? के पढेर राम्रो गर्छु जस्तो लाग्छ ? के पढ्दा आफ्नो क्षमता र ईच्छाशक्तिको राम्रो उपयोग गर्न सक्छु जस्तो लाग्छ ? राम्रोसंग बुझेर मात्र विषय रोज्नुहोस।

प्लस टु भर्ना हुने मध्ये सबैभन्दा बढी शिक्षा शास्त्र समूह पढ्छन् । विशेषगरी सामुदायिक उच्च मावि र ग्रामिण क्षेत्रका विद्यार्थीको रोजाइ यसमा छ । त्यसपछि व्यवस्थापन र मानवीकी रोजाइमा पर्छ । पैसा, समय र मेहनतका कारण हुन सक्छ विज्ञान पढ्नेको संख्या अलि कम छ ।

त्यसैले विज्ञापन हेरेकै भरमा, भवन देखाएकै भरमा, भर्ना र मासिक शुल्क महंगो भएकै भरमा कुनै पनि विद्यालयलाई उत्कृष्ट मापन गरेर भर्ना गरे फसादमा परिन्छ । नैतिक पाठ सिकाउने, सिर्जनात्मक बनाउने, सिकाइ मैत्री वातावरण, पुस्तकालय, प्रयोगशाला, खुला चौर, अतिरिक्त क्रियाकलाप, सञ्चालक र शिक्षकको व्याकराउण्ड भर्ना अघि बुझ्नै पर्ने कुरा हुन् । 

अन्त्यमा, राम्रो कलेज कसरी छान्ने

कलेजको बारेमा त्यहाँ पढेका पुराना विद्यार्थीलाई सोध्ने, आफू प्रत्यक्ष गएर विस्तृत कुरा बुझ्ने, राम्रा भनिएकाको के राम्रो हो, कसरी राम्रा भए ? स्तरीयताको मापन कसरी गरिएको छ बुझ्ने, विद्यालय र सञ्चालकको इतिहास, विगतको परिणाम हेर्ने । महंगो कलेज हुँदैमा राम्रो हुने नसोच्नुहोस् । कलेज राम्रो नराम्रो छुट्याउनको लागि उक्त कलेजमै पढ्दै गरेका विद्यार्थी तथा शिक्षकहरुसंग अनौपचारिक कुरा गर्न सकिन्छ । कलेजको वातावरण शान्त र कलेजको व्यवस्थापन कस्तो छ ? त्यो पनि मुख्य कुरा हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको