Like us!
Follow us!
Connect us!
Watch us!

गणतन्त्र स्मारक बन्यो तर गणतन्त्र स्तम्भ किन बनेन ?

कमला भुसाल

शुक्रबार, १० जेठ २०७६, १६ : ४८ मा प्रकाशित

गणतन्त्र स्मारक बन्यो तर गणतन्त्र स्तम्भ किन बनेन ?

अर्थ संसार, काठमाडौं - देशमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा निर्माण गर्न भनी नक्साको ढाँचा तयार गरिएको गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने अन्योलमा छ । स्तम्भ निर्माणका लागि त्रिभुवन विश्वविद्यालयले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसँगै जोडिएको काठमाडौं महानगरपालिका–१४, गांखेलको ६० रोपनी जग्गा दिने सहमति गरेको छ । सहमतिबमोजिम मन्त्रिपरिषद्ले निर्णय गरी स्तम्भका नाममा सो जग्गा छुट्याइसकेको छ ।

स्तम्भको नक्साको ढाँचा सबै तयार भए पनि बजेटको सुनिश्चित नहुँदा स्तम्भ निर्माण अन्योलमा रहेको शहरी विकास तथा भवन निर्माण विभागले बताएको छ । स्तम्भ निर्माण गर्न रू. १ अर्ब ८७ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जनले जानकारी दिए ।

स्तम्भ निर्मााणका लागि जग्गा विवाद भएको भनी केही पक्षले प्रचार गरे पनि विवाद नरहेको काठमाडौं महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले बताइन् । स्थानीय तहको निर्वाचन हुनुअघि सर्वदलीय एवम् सर्वपक्षीय सहमतिका आधारमा सो स्थान छनोट गरिएको उनले जानकारी दिइन् । स्तम्भ ९४ मिटर उचाइको हुने डिजाइन भएको छ । यसअघि १५० मिटर अग्लो स्तम्भ निर्माण गर्ने तयारी गरिएकामा ढाँचा परिवर्तन गरी ९४ मिटरमा झारिएको वरिष्ठ डिभिजनल इञ्जिनीयर महर्जनले बताए ।

स्तम्भसँगै निर्माण गरिएको गणतन्त्र स्मारक भने निर्माण भइसकेको छ । स्मारक गणतन्त्र दिवसका दिन यही जेठ १५ गते बेलुकी ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम छ । नारायणहिटी दरबारको उत्तरपूर्वी भागमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा स्मारक निर्माण भएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको