Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमै बन्यो सोलर हाइब्रिड कार

आइतबार, १६ माघ २०७३, १४ : २२ मा प्रकाशित

नेपालमै बन्यो सोलर हाइब्रिड कार


सविता सापकोटा
काठमाडौँ – नेपालमै पहिलो पटक बिद्यार्थीहरुले सोलर हाइब्रिड कार बनाएका छन् ।  उक्त कार पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ कलेज लामाचौर पोखराका इलक्ट्रो मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरूले तयार पारेका हुन् । आठ जना विद्यार्थीले निर्माण गरेको योे कारमा चालकसहित ४ सिट क्षमता छ । यो कारलाई सोलारका अतिरिक्त ब्याट्रीबाट पनि चलाउन सकिन्छ ।

कारलाई ३० किलोमिटर प्रतिघण्टाको गतिमा गुडाउन सकिने जानकारी निर्माणमा संलग्न पयस रिमालले दिए । उक्त कार आफूहरुले ३ लाख ५० हजार रुपैयाँ लगानी गरेर बनाएको उनले बताए । विश्वमा देखिएको उर्जा संकट र गत वर्ष मुलुकले भोगेको नाकाबन्दीलाई मध्यनजर गर्दै १ वर्ष मेहनत गरेर कार निर्माण गरेको जानकारी उनले दिए ।

उनीहरुले २०७२ सालको भदौमा बनाउन सुरु गरेका थिए । यस वर्षको भदौमा कार तयार भएको थियो । पढ्दै गरेका बिद्यार्थीले पूरै समय यही काममा दिन नसक्दा सोचेभन्दा धेरै समय लागेको जानकारी उनले दिए ।

एक सय ५० वाटको २ वटा सोलार प्यानल जडान गरेर उक्त कारलाई चार्ज गर्न सकिन्छ । कारमा धेरै आधारभूत सिस्टमहरु जडान गरिएको रिमालले जनाए । ‘यसलाई राम्रोसँग फिनिसिङ गर्न अझै बाँकी छ । डिलक्स सुविधा भएको कार रुपमा निर्माण गर्न करिब ८ लाख खर्च लाग्छ,’ उनले बताए ।

विदेशमा संचालनमा आएका सोलार कारको सिस्टम र ईन्टरनेटबाट अन्य खोज गरेर आफूहरुले यस्तो कार निर्माण गरेको जानकारी उनले दिए । पुराना गाडीका पार्टपुर्जासहित अन्य सामाग्री प्रयोग गरेर उनीहरुले उक्त कार निर्माण गरेका हुन् ।


कारमाथि राखिने प्यानलको सहायताले ब्याट्री चार्ज हुन्छ । त्यसबाट कारले उर्जा प्राप्त गर्छ । उनीहरुले राजधानीमा जारी क्यान इन्फोटेक मेलामा यस कारको प्रदर्शन गरेका छन् । सबैले उनीहरुको कामको प्रशंसा गरेका छन् । यसलाई ब्यवसायिक रुपमा उत्पादन गर्ने गरी लगानी गर्न भने कोही नआएको उनले बताए । यसबारे अझै अध्ययन गरेर सस्तैमा स्वदेशमै कार उत्पादन गर्ने योजना रहेको उनले सुनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको