Like us!
Follow us!
Connect us!
Watch us!

वालिङमा प्रधानमन्त्री रोजगार कार्यक्रम

कमला भुसाल

मंगलबार, २१ जेठ २०७६, १७ : ४० मा प्रकाशित

वालिङमा प्रधानमन्त्री रोजगार कार्यक्रम

अर्थ संसार, काठमाडौं- स्मार्ट नगरपालिकाका रुपमा विकास हुँदै गरेको वालिङ नगरपालिकाले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वालिङ–२ मा रहेको ‘छप्राक–सिद्धबाबा पैदलमार्ग’ आयोजनाको वालिङ नगरप्रमुख दिलीपप्रताप खाणले शुभारम्भ गरे ।

कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख खाणले आफैँले पसिना काढेर गरेका हरेक कार्यहरुप्रति माया अनि अपनत्व बढेर जाने भएकाले विकास निर्माण दिगो र प्रभावकारी हुने धारणा व्यक्त गरे । “हामी स्मार्ट वालिङ निर्माणका लागि लागिरहेका छौँ त्यसैले आफ्नो गाउँठाउँको विकास निर्माणका लागि तपाईं आफैँहरु बढी सक्रिय हुनुपर्छ”, नगरप्रमुख खाणले भने, “जबसम्म तपाईंहरु जागरुक हुनुहुन्न तबसम्म विकास हुँदैन अर्काले दिएको पैसाले मात्रै विकास असम्भव छ ।”  नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वालिङ नगरपालिकाका लागि रु २३ लाख रकम प्राप्त भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगारलाई सार्वजनिक क्षेत्रमा गरिने कार्यक्रम तथा आयोजनाहरुमा सहभागी गराउने मुख्य उद्देश्यले यस अभियानको थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । “समुदायस्तरमा स–साना रोजगारमूलक आयोजनाहरु सञ्चालन गर्नेछौँ”, वालिङ नगरपालिकाअन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका शाखा संयोजक सरस्वती लामिछानेले भने, “यस शाखामा सूचीकृत कामदारहरुलाई रोजगारमा संलग्न गराई रोजगारीको प्रत्याभूति दिलाउनका लागि प्राथमिकताका आधारमा छप्राकमा अभियानको थालनी गरिएको हो ।”

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका प्रदेश ४ मै कार्यान्वयनको थालनीका हिसाबले पहिलो रहेको संयोजक लामिछानेको दाबी छ । संयोजक लामिछानेका अनुसार वालिङ नगरपालिकाका १४ वटै वडाबाट चैत र वैशाख महिनामा कूल एक हजार ७८२ जनाले बेरोजगारीको फारम भरेका छन् । स्थानीयवासीको भेलाले गोविन्दबहादुर सार्कीको संयोजकत्वमा सूचीकृत श्रमजीवीको समिति बनाएर कार्य थालेको हो । आगामी एक महिनाभित्र सकिने लक्ष्यसहित आरम्भ गरिएको ‘छप्राक–सिद्धबाबा पैदलमार्ग’ आयोजनाका लागि पहिलो चरणमा तीन लाख रकम विनियोजन गरिएको नगरप्रमुख खाणले बताए । झण्डै चार सय मिटर लम्बाइ रहेको उक्त गोरेटो बाटो निर्माण गरी ढुङ्गा विच्छ्याउने योजना रहेको निर्माण समितिका अध्यक्ष गोविन्दबहादुर सार्कीले बताए ।रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको