बिहिबार, ०५ भदौ २०७६
नयाँ लगानीकर्तालाई विश्लेषक ज्योति दाहालको ‘ शेयरबजारको पारिभाषिक शब्दावली’
शुक्रबार, २४ जेठ २०७६

शेयरबजारका प्राविधिक शब्द, भाषा र चाल नबुझ्नेका लागि सेयरबाट नाफा हासिल गर्नु ‘हनुमानले सञ्जीवनी बुटी’ खोजेजस्तै हो । अन्यत्र अर्कै अर्थ दिने शब्दको शेयरबजारमा आफ्नै अर्थ हुन्छ ।यस्ता शब्दावलीको पर्याप्त जानकारीबिना लगानी र जोखीम व्यवस्थापन गर्न सकिन्न । शेयरबजार सिधा रेखामा चल्दैन, यसको चाल वक्रीय हुने भएकाले यसको चाल पहिल्याएर चल्न शेयरबजारका प्रचलित शब्दावली बुझ्नुपर्छ ।

बजार पूँजीकरण

पूँजीकरण वास्तविक नभएर काल्पनिक रकम हो । शेयरको मूल्य बढ्दा र घट्दा पूँजीकरण घटबढ हुन्छ । अधिक शेयर सूचीकरण भएको कम्पनीको कुनै दिन कारोबार भएन भने पूँजीकरण घट्छ । सूचीकरण भएको शेयर सङ्ख्यालाई कारोबार दिनको अन्तिम मूल्यले गुणन गरेर पूँजीकरण निकालिन्छ । १ करोड कित्ता सूचीकरण भएको छ र अन्तिम कारोबार मूल्य ५ सय  रुपैयाँ छ भने यसको बजार पूँजीकरण ५ अर्ब हुन्छ । यसको सामान्य अर्थ १ करोड कित्ता पूरै बेचियो भने यसको कुल मूल्य ५ अर्ब हुन्छ भनिएको हो । एक दिनमा जति बराबरको किनबेच हुन्छ, त्यो वास्तविक रकम हो ।

बजार सूचक

बजार सूचक शेयर कारोबारमा हुने उतारचढावले घटबढ हुन्छ । शेयर कारोबारमा हुने उतारचढावले सूचकलाई प्रभाव पार्छ, सूचकले सेयरलाई पार्दैन । कम्पनीको स्थितिलाई हेरेर लगानी गरेमा वा भाउ घटबढ हुँदा सही व्यवस्थापन गरेमा सूचक घटबढ हुँदा आत्तिनु पर्दैन । शेयरबजारमा सूचीकरण भएका शेयर कारोबारलाई मापन गर्न लिएको सामान्य आधार सूचक हो ।

सूचक गणनाको आधार विन्दु १, १ सय वा १ हजार जहाँबाट पनि शुरू गर्न सकिन्छ । नेप्से सूचक गणना १ सयलाई आधार मानि गरिएको छ । नेप्सेमा सूचीकरण भएका र कारोबारमा आउने सबै शेयरलाई सूचक गणनामा सामेल गराइन्छ । बम्बे स्टकमा ३० ओटा र नेशनल स्टकमा ५० ओटा कम्पनीको मात्र सूचक निकालिन्छ । नेप्से सूचकसहित सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट र उपसूचक गरी ५ प्रकारका सूचक गणना गरिन्छ ।  

बूक क्लोज, समायोजन, आधार मूल्य

कम्पनीले साधारणसभा गर्नका लागि गर्ने ‘बूक क्लोज’ एउटा महत्वपूर्ण दिन हो । बूक क्लोजपछि सेयर किनेर कम्पनीको साधारणसभामा सहभागी हुन, लाभांश लिन, सञ्चालकको निर्वाचनमा मत दिन र आफै उम्मेदवार बन्न पाइन्न । साधारणसभाबाहेक विशेष साधारणसभा र हकप्रद शेयर जारी गर्दा पनि बूक क्लोज हुने गर्छ । बूक क्लोजको दिन लाभांश र हकप्रदपछिको मूल्य समायोजन भई नयाँ मूल्य र कर प्रयोजनका लागि आधार मूल्य पनि तोकिन्छ ।

मार्केट डेप्थ र ब्रेड्थ

विक्रीकर्ता र खरीदकर्ताको चाप के कति रहेछ भनेर ‘मार्केट डेप्थ’ मार्फत सामान्य जानकारी पाइए पनि यो त्यति भरपर्दो भने हुन्न । ‘मार्केट डेप्थ’ भन्दा ‘मार्केट ब्रेड्थ’ ले बजारका बारेमा अलि बढी जानकारी दिन्छ । यसले बजारको चाल र प्रवृत्ति सकारात्मक वा नकारात्मक के छ, अनुमान गर्न सकिने आधार दिन्छ । सूचिकृत कम्पनीको एक दिनमा भएको कारोबार घट्ने र बढ्ने दुवै हुन्छन् । बढ्ने कम्पनी अधिक छ भने सकारात्मक र घट्ने कम्पनी अधिक भए नकारात्मक चाल छ भन्ने अनुमान गर्न सकिन्छ ।

सर्किट ब्रेकर र फिल्टर

‘सर्किट ब्रेकर’ र ‘सर्किट फिल्टर’ भन्ने दुईओटा शब्दावलीको फरकफरक प्रयोजन हुन्छ । स्टक सूचक एकै दिनमा तोकिएभन्दा बढी दरले बढेमा ‘सर्किट ब्रेकर’ लगाएर अस्थायी वा पूरै स्थगन गरिन्छ । पहिलो आधा घण्टामा ३ प्रतिशतले बढेमा १५ मिनेट, २ घण्टाभित्र ४ प्रतिशतले बढेमा आधा घण्टा र त्यसपछि ५ प्रतिशतले बढेमा पूरै दिन कारोबार रोकिन्छ ।

‘सर्किट फिल्टर’ कम्पनीमा लगाइन्छ । एकै दिनमा १० प्रतिशतभन्दा बढी मूल्य घटाउन र बढाउनबाट यसले रोक्ने गर्छ । यसले घट्न र बढ्न पाइने मूल्य सीमा नियन्त्रण गर्छ । कुनै कम्पनीको शुरू मूल्यमा १० प्रतिशत घट्न वा बढ्न पाइन्छ । बजार खुलेपछि खरीद वा विक्री आदेश प्रविष्ट गर्दा २ प्रतिशत घटाएर वा बढाएर राख्न सकिन्छ । एकैपटक १० प्रतिशत घटाउन वा बढाउन पाइँदैन । एउटा कारोबार भइसकेपछि त्यसको २ प्रतिशत घटेर वा बढेर मात्र आदेश प्रविष्ट गर्न सकिन्छ । बजार खुल्नु आधा घण्टाअघि भने ५ प्रतिशत घटेर वा बढेर आदेश हाल्न सकिन्छ ।

स्टप लस वा औसतीकरण

शेयर लगानी जोखीमको खेल भएकाले घाटा रोक्ने वा घाटालाई औसतीकरण गरेर कम गर्ने दुईओटा बाटा हुन्छन् । क्रय मूल्यबाट तल झर्दै जाने सम्भावना बढ्दै गयो भने घट्दो मूल्यमा बेचेर थप घाटा रोक्न सकिन्छ । कम्पनीको प्रतिफल राम्रो छ र आफूसँग नगद प्रवाहिता छ भने घट्दो मूल्यमा थप शेयर किनेर घाटाको मात्रा कम गर्दै प्रतिफल बढाउन सकिन्छ ।

डीपी वा निक्षेप सदस्य

भौतिक रूपमा रहेको शेयरलाई विद्युतीय स्वरूपमा भण्डारण गरेर राख्ने निकायलाई ‘डिपोजिटरी’ भनिन्छ । नेपालमा यसलाई ‘सीडीएस एण्ड क्लियरिङ कम्पनी लिमिटेड’ सङ्क्षिप्तमा ‘सीडीएस’ भनिन्छ । ‘सीडीएस’ भनेको ‘सेण्ट्रल डिपोजिटरी सिष्टम’को सङ्क्षिप्त स्वरूप हो ।

यही सीडीएसको सदस्यका रूपमा डीपी (डिपोजिटरी पार्टिसिपेण्ट) र नेपालीमा ‘निक्षेप सदस्य’ रहेका हुन्छन् । यिनले अभौतिक खाता खोल्ने कार्य गर्छन् । बैङ्क, वित्तीय संस्था, मर्चेण्ट बैङ्क, दलाल डीपी बन्न सक्छन् । भारतमा नेशनल सेक्युरिटिज डिपोजिटरी लिमिटेड र सेण्ट्रल डिपोजिटरी सर्भिसेज इण्डिया लिमिटेड गरी दुईओटा छन् । बङ्गलादेशमा सेण्ट्रल डिपोजिटरी अफ बङ्गलादेश छ ।

सर्कुलर ट्रेडिङ

शेयरबजारमा समूह बनाएर कुनै शेयरलाई आफूआफूबीच मात्र किनबेच गराएर भाउ घटाउने वा बढाउने गरी बजारमा आउने अन्य लगानीकर्तालाई आकर्षित गर्ने प्रयास हुन्छ । यस्तो खेल नबुझेका लगानीकर्ता शेयर किन्छन् वा आत्तिएर बेच्न जान्छन् ।

यस्ता गतिविधि सामान्यले बुझ्न सक्ने अवस्था हुन्न । यस्तो कार्य भए÷नभएको एक्सचेञ्जको सर्भेलेन्स विभागले मात्र पत्ता लगाउन सक्छ । लगानीकर्ताले यस्तो भएको हुन सक्ने अनुमान लगाउन सक्नुपर्छ । अनुमान लगाउन त्यति गाह्रो पनि छैन । कम्पनीको स्थिति केकस्तो छ, त्रैमासिक वित्तीय विवरण एउटा आधार बन्न सक्छ ।

नियमन र नियन्त्रण

नियमन र नियन्त्रण उस्तै लागे पनि यी दुईबीच अन्तर छ । नियन्त्रणमा स्वामित्व हुन्छ, नियमनमा हुन्न । नियमन गर्दा प्रचलित कानून व्यवस्थाको पालना भए\नभएको हेरिन्छ र कानून पालना नभएमा पालना गर्न लगाइन्छ । नियमन गर्ने निकायहरू क्षेत्रगत हुन्छन् । बैङ्कको नियमन नेपाल राष्ट्र बैङ्कले, दूरसञ्चारको नेपाल दूरसञ्चार प्राधिकरणले गर्छ ।

नाममा प्राधिकरण जोडिएको भए पनि नेपाल विद्युत् प्राधिकरण नियमक होइन । सेयरबजारको नियमन नेपाल धितोपत्र बोर्डले गर्छ । बोर्डको अधीनमा स्टक एक्सचेञ्ज, दलाल, सेण्ट्रल डिपोजिटरी, निक्षेप सदस्य, सूचिकृत कम्पनी, मर्चेण्ट बैङ्क रहेका हुन्छन् ।

अन्त्यमा, मुस्ताङ, जुम्ला र हुम्लावासीले स्याउ तथा यार्चागुम्बा र तमोरको माझीले माछा बेचेर आएको आम्दानीले घटेको बेला शेयर किन्छ र बढ्दा बेचेर नाफा कमाउँछ भन्नेले न घट्दा किनेका छन् न बढ्दा बेचेर नाफा आर्जन नै गरेका छन् ।

लेखक धितोपत्रसम्बन्धी जानकार
अधिवक्ता हुन् ।

dahal_j@hotmail.com

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved