बुधबार, ०४ असार २०७६
वित्तीय बीमा एक्स्पो शुरु
शुक्रबार, २४ जेठ २०७६

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वित्तीय जागरणविना विकास सम्भव नहुने बताएका छन्।

स्याङ्जाको वालिङमा शुरु भएको दुईदिने बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दै उनले भने, “वित्तीय जागरणविना मुलुकको विकास र समृद्धि सम्भव छैन ।” गभर्नर डा नेपालले युवापुस्तालाई देशमै आकर्षित गर्न कानूनमा सहजता र करमा सहुलियत दिनुपर्ने उल्लेख गर्दै युवालाई अब जागिरको पछाडि दौडाउने होइन, उनीहरुलाई उद्यमशीलता र व्यावसायिकतातिर लगाउनुपर्ने आवश्यकता भएको बताए । उनले नेपालीहरु अझै पनी उर्वर भूमिको प्रयोग नगरी भारतबाट आयात गरेर तरकारी, फलफूल तथा खाद्यान्नको प्रयोग गर्नुले देशको अर्थतन्त्रमाथि नकारात्मक असर परेको बताए ।

वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले सरकारी कर्मचारीले कुन दफा लगाएर उद्योगीलाई कस्न सकिन्छ भन्ने सोचका साथ दुःख दिने गरेकाले पनि देशमा कलकारखाना र उद्योगधन्दाको विकास हुन नसकेको बताए । वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बैंकिङ क्षेत्रले उद्योगी र किसानलाई सहज र सरलरुपमा कर्जा पाउने वातावरणको सिर्जना नगरेसम्म मुलुकलाई आत्मनिर्भर समृद्धि बनाउने कुरा नारामै सीमित हुने धारणा व्यक्त गरे ।

ग्रामीण अर्थतन्त्रको विकास र लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यले मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समिति र वालिङ उद्योग वाणिज्य सङ्घको सहकार्यमा उक्त एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा वालिङ नगरपालिकाभित्र रहेका २२ बैंक तथा वित्तीय संस्था सहभागी छन् । एक्स्पोमा उद्यमशीलताका बारेमा बहस, वित्तीय साक्षरतासम्बन्धी विशेष अन्तक्र्रिया गरिने बताइएको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved