बुधबार, ०४ असार २०७६
कुलेखानी तेस्रोको पहिलो युनिट परीक्षण सकियो
सोमबार, २७ जेठ २०७६

अर्थ संसार, काठमाडौं–  इमान्दार प्रयास भयो भने जस्तोसुकै अप्ठ्यारो काम पनि सम्पन्न गर्न सकिन्छ भन्ने तथ्य नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापित गरेको छ । निरन्तरको प्रयासपछि प्राधिकरण स्वयंले नै रुग्ण आयोजनाको सूचीमा राखेको कूल १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजनाको आज सफलतापूर्वक परीक्षण सम्पन्न गरेको छ । 

निर्माण व्यवासायीको लापरवाहीका कारण विगत १० वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको सो आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरको प्रयासपछि आज आयोजना सम्पन्न हुने चरणमा पु¥याइएको हो । 

आयोजनास्थल मकवानपुरमै रहनुभएका कार्यकारी निर्देशक घिसिङले रासससँग भन्नुभयो, “आयोजनाको पहिलो युनिटको विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको छ ।” प्राधिकरणको हरतरहको प्रयासले आज सार्थकता पाएको छ कार्यकारी निर्देशक घिसिङले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्राधिकरण मातहतका सबै रुग्ण आयोजना अब सम्पन्न भएका छन् ।” विद्युत् उत्पादन नगरी उपकरणको ‘नो लोड टेस्टिङ’ सम्पन्न भएको उहाँको भनाइ छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन प्राधिकरणकै प्राविधिक कर्मचारी लगेर भए पनि आयोजनालाई शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ । मन्त्रीको निर्देशनलगत्तै प्राधिकरणले आफ्ना प्राविधिक कर्मचारीलाई परिचालन गरी निर्माण व्यवसायीलाई समेत बाध्य पारेर काम गराउन सफल भएको हो ।

आज पहिलो युनिट अर्थात् सात मेगावाट क्षमताको पहिलो युनिटको परीक्षण गरिएको हो । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई गत वैशाखमा नै समाधान गरिदिएको थियो । सो समस्याको समाधान भएपछि आयोजना विद्युत् उत्पादन गर्ने चरणमा पुगेको हो । दोस्रो युनिटको पनि केही दिनभित्रै परीक्षण गरिनेछ । 

आयोजनाको मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण यसअघि नै सफलतापूर्वक सम्पन्न भइसकेको छ ।  “हामी विद्युत् उत्पादन गर्ने चरणमा आइपुगेका छाँै । लामो समयको मेहनत अब सार्थक हुने अवस्थामा पुगेको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । आयोजनाको निर्माण चालू आवभित्रै सम्पन्न हुने भएको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इञ्जिनीयरिङ एण्ड कन्ट्रक्सनको लापरवाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माणमा ढिलाइ भएको थियो ।

प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र रु २४ करोड ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झण्डै सात करोड रुपैयाँ) जरिवाना कम्पनीबाट अशुल्ने निर्णय प्राधिकरणले यसअघि नै गरिसकेको छ । 

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाब र खानी खोलाको थप पानी प्रयोग गर्नेछ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो । आयोजनाको शुरुको लागत रु दुई अर्ब  ३३ करोड थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत रु चार अर्ब ६३ करोड पुगेको छ । प्राधिकरणले यसअघि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए र ३० मेगावाट क्षमताको चमेलिया सम्पन्न गरेको छ । यस्तै केही रणनीतिक महत्वका प्रसारण लाइनको पनि निर्माण सम्पन्न गरिसकेको छ ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved