Like us!
Follow us!
Connect us!
Watch us!

माग पूरा नभए अस्थायी शिक्षकले विद्यालय बन्द गर्ने

सोमबार, १७ असोज २०७३, १० : ५३ मा प्रकाशित

माग पूरा नभए अस्थायी शिक्षकले विद्यालय बन्द गर्ने


अर्थ संसार
काठमाडौ– अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिमका बुँदाहरु संशोधन नगरे दशैंतिहार लगत्तै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

आईतबार पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको छ । आगामी कातिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजेदेखि धर्ना दिने समितिले जनाएको छ । त्यस्तै कातिक ३,४ र ५ गते रिले अनसनमा बस्ने र कातिक ४ र ५ गते उपत्यकाभित्रका सम्पूर्ण सामूदायिक विद्यालयमा पठनपाठन बन्द गर्नेसमेत चेतावनी दिएको छ ।

कार्यक्रममा समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरले आफूहरुले यसअघि पनि विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रमहरु गरिसकेकोले यसपटक राज्यले आफ्ना मागहरु सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने र देशव्यापी शैक्षिक संस्थामा पठनपाठन ठप्प पार्ने चेतावनी दिए ।

शिक्षा ऐन २०७२ अनुसार ०७२ असोज २ गतेसम्मका सम्पूर्ण अस्थायी शिक्षकलाई स्थायी प्रक्रियामा लैजानु पर्ने, उमेर हदका कारण अवकाशमा परेका स्थायीको प्रक्रियामा पर्न नसकेका शिक्षकलाई औषधि उपचार र उपदानको सुविधान दिनुपर्ने, द्वन्द्वपीडित तथा विस्थापित शिक्षकलाई निश्काशित सेवा अवधि गणना हुने गरी पूनर्वहाली तथा स्थायी गर्नुपर्ने लगायतका ५ बुँदे माग समितिले अघि सारेको छ ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले भने अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी बनाउने प्रयत्न अब सफल हुनै नसक्ने स्पष्ट पारे । उनले महासंघ शतप्रतिशत शिक्षकहरुको हकहितको पक्षमा रहेकोले उनीहरुको जायज माग पूरा गर्न दबाब दिन तयार रहेको विश्वास दिलाए ।

अध्यक्ष निरौलाले विद्यालयमा पठनपाठन ठप्प पार्नेगरि आन्दोलन गर्नुको अब कुनै औचित्यता नभएको दाबी गरे । उनले अघि थपे,‘हामी अब असफल हुने आन्दोलमा किन होमिने ? सफल हुनेगरि होमिनुपर्छ ।’ उनले आन्तरिक प्रतिष्पर्धामा सहभागी हुने र गोल्डेन ह्याण्डसेक लिएर औषधि उपचार उपदान लिने दुईवटा विकल्प रहेको समेत बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले अस्थायी शिक्षकहरुको समस्या समाधान गर्नेगरि सबै सरोकारवालाहरुसँग विशेष अन्र्तक्रिया भए समाधानको उपाय निस्कने विश्वास दिलाए ।
थापाले अघि थपे, ‘हाम्रो प्रयत्न भनेको अब निकास दिने हो, अस्थायी शिक्षकहरुको समस्या हामी सबैको समस्या हो, अब खण्डित आन्दोलन गरेर हुँदैन, एकिकृत आन्दोलन गर्नुपर्छ ।’ यद्यपि थापाले माग पूरा गराउन गरिने दबाबमूलक कार्यक्रममा विद्यालयको पठनपाठनै ठप्प पार्ने घोषणामा भने सहमत हुन नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भोला सापकोटा र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर विसीले अस्थायी शिक्षकहरुको माग पूरा गराउने कुरामा सरकार गम्भिर हुनुपर्ने धारणा राखे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको