Like us!
Follow us!
Connect us!
Watch us!

महिलाहरुद्वारा ‘डेरी फार्म’ सञ्चालन

रबिन दङगाल

मंगलबार, ०३ असार २०७६, १२ : ३७ मा प्रकाशित

महिलाहरुद्वारा ‘डेरी फार्म’ सञ्चालन

अर्थ संसार, बेझाड- रामपुर नगरपालिका–१० का महिलाहरुले ‘डेरी फार्म’ सञ्चालन गरेका छन् । यहाँको आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री–वितरण गर्ने उद्देश्यले डेरी सञ्चालन गरेका हुन् ।

डेरी सञ्चालन गरी घरबाटै दूध सङ्कलन गरी बजारमा बिक्री गरिदै आएको छ । यहाँ सङ्कलित दूध स्याङ्जाको गल्याङ बजारमा खपत हुँदै आएको छ । सहकारीमा आबद्ध शेयर सदस्यले उत्पादन गरेको दूधलाई सहज रुपमा बजारसम्म लैजान डेरी सञ्चालन गरेको अध्यक्ष सीता देवकोटाले बताइन्   । दूध नबिक्ने समस्याले महिलालाई पिरोल्न थालेपछि दूध व्यवस्थापन र आर्थिक अवस्था उकास्न डेरी शुरु गरेको उनको  भनाइ थियो । “सहकारीमा आबद्ध सदस्यको घरबाट दूध सङ्कलन गरेका छौँ, सहकारीबाहेकका कृषकले उत्पादन गरेका दूध खरीद गरेर बिक्री गर्ने योजना छ”, उनले भनिन् ।
 
स्थानीय बजारमा दूध कम खपत हुँदा बिक्री गर्न कृषकले समस्या भोग्दै आएका थिए । अहिले सहकारीले डेरी सञ्चालन गरी दूध खरीद–बिक्री गर्न थालेपछि सजिलो भएको लक्ष्मी ओस्ती बताउछिन्  ।
  
“पहिला दूध बिकाउनै समस्या थियो बजार नजीक थिएन, सहकारीले डेरी चलाएपछि दूध नबिक्ने समस्या हटेको छ”, उनले बताइन । उनको घरमा पाँच वटा उन्नत जातका भैँसी छन् । दैनिक २० लिटर दूध बिक्री गरी मासिक रु ८० हजारसम्म कमाई हुने गरेको ओस्तीले बताइन्  । दूध बिक्रीबाटै घरायसी खर्च, छोराछोरीको पढाइ खर्च चलाउन सजिलो परेको उनको अनुभव छ ।

त्यसैगरी सोही ठाउँकै अनिता भण्डारीले पनि दूध बिक्रीबाट राम्रो कमाई गर्छन । दैनिक १५ लिटर दूध बिक्री गरी मासिक ४० हजार आम्दानी गरेको उनले बताइन्   । महिलाहरुले उत्पादन गरेको दूध बिक्री गर्न सहज होस् भनेर दुई लाख ५० हजारको लागतमा सो डेरी सञ्चालन गरेको सहकारीले जनाएको छ ।

सहकारीमा आबद्ध पाँच जना महिलाले व्यावसायिक रुपमा पशुपालन गरेका छन् । दूध बिक्रीको व्यवस्था सहकारीले गर्न थालेपछि अन्य महिलाले पनि पशुपालनलाई व्यावसायिक तवरले सञ्चालन गर्ने तयारी गरिरहेका छन् । डेरीबाट दुई जना स्थानीयवासीलाई रोजगार मिलेको छ ।
 
दूध र पानीको मात्रा मापनका लागि सहकारीलाई ‘मिल्क एनालाइजर मेशिन’  प्राप्त भएको छ । हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास सङ्घ रेडा पाल्पाको सहयोगमा रु पाँच लाख ३० हजार मूल्यको मेशिन सहयोग मिलेको सहकारीले जनाएको छ ।

विसं २०६९ मा स्थापना भएको यस सहकारीमा ३५० जना शेयर सदस्य रहेका छन् । सहकारीले महिलाहरुलाई आर्थिक क्षेत्रमा बलियो बनाउने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सहकारीको माध्यमबाट गाउँका महिलाहरुको आर्थिक स्तर उकासिँदै गएको पाइएको छ । सहकारीबाट ऋण झिकेर कृषि तथा पशुपालन क्षेत्रमा लगानी लगेर आम्दानी गर्न सफल भएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको