Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरको पहिचान : जुजु धौ व्यवसाय

रबिन दङगाल

आइतबार, १५ असार २०७६, १० : २९ मा प्रकाशित

भक्तपुरको पहिचान : जुजु धौ व्यवसाय

अर्थ संसार, भक्तपुर- गर्मी  बढेसँगै भक्तपुरको जुजु धौ व्यवसाय फस्टाएको छ । मल्लकालदेखि दहीको राजा उपमाले परिचित भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो ।

पछिल्लो समय पार्टी भोजलगायत दैनिक उपभोगमा समेत दहीको प्रयोग बढ्दै गएको छ । दहीको प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै जुजु धौको मागसमेत दिनानुदिन बढ्दो छ र व्यापार पनि फस्टाएको छ ।
 
भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् । जुजु धौको माग बढेपछि नगरका टोलटोलमा जुजु धौ पसल खोलिएका छन् । जुजु धौ उत्पादनका हिसाबले मात्र होइन, यसको बिक्रीवितरणका हिसाबले पनि यो व्यवसाय दिनदिनै फस्टाएको भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्णगोपाल सैंजुले बताए ।

“ठूला विवाह ब्रतवन्धजस्ता भोजमा डेरीको दही प्रयोग गर्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले समेत अचेल जुजु धौ प्रयोग गर्दछन्”, सैंजुले भने , “यसले पनि जुजु धौको माग बढेको हो ।” एकपटक यसको स्वाद चाखेपछि यसैमा मन बस्ने भएकाले पनि काठमाडौँ उपत्यकामा मात्र नभई काभ्रेको बनेपा, पनौती र धुलिखेलसम्म जुजु धौको माग बढेको सैंजुले बताए । उनले भने, “भक्तपुरका जुजु धौ व्यवसायीलाई काठमाडौँ र काभ्रेका पसलमा जुजु धौ पुर्याउन भ्याइनभ्याइ नै हुन्छ । झन् विवाहको ‘सिजन’मा त माग धान्नै धौधौ हुने गर्दछ ।”

जुजु धौको प्रमुख विशेषता चक्कुले टुक्राटुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषतायुक्त दही बनाउन उच्च गुणस्तरको गाई–भैँसीको शुद्ध दूधको आवश्यक पर्ने सैंजुले बताउनुभयो । उनका अनुसार डेरीको दहीमा दूधको सबै ‘फ्याट’ निकालेर पाउडर मिसाई वाफले मात्र तताएर दही उत्पादन गरिन्छ, तर जुजु धौ त्यस्तो हुँदैन । “जुजु धौ तयार गर्न अन्य दूधको तुलनामा चिल्लोपना बढी भएको दूध चाहिन्छ”, उनले भने , “जुजु धौ बनाउन कम्तीमा पाँच प्रतिशत फ्याट भएको दूध चाहिन्छ ।”

जुजु धौ बनाउन दूधलाई बाक्लो हुनेगरी राम्रोसँग चलाउँदै कराइमा उमाल्नुुपर्दछ । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दूध राख्नुपर्दछ । उक्त दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको बीउ दही (जोर्डन) राख्नुपर्दछ र न्यानो हुनेगरी छोपेर राख्नुपर्दछ । यसरी छोपेर राखेको पाँच घण्टामा जुजु धौ तयार हुन्छ ।  

भक्तपुरको जुजु धौ दही मात्र होइन, भक्तपुरको पहिचान पनि बनिसकेको छ । जुजु नेपालमा मात्र होइन, विदेशमा समेत परिचित छ । त्यसैले भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद नचाखी नजाने गरेको भक्तपुर दरबार स्क्वायरस्थित हाडापाउँ तथा आइसक्रिम भण्डारका दिनेशबाबु हाडा बताउनुहुन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको