Like us!
Follow us!
Connect us!
Watch us!

अनुमानित साढे चार करोडमा रकमझोलुङ्गे पुल निर्माण

रबिन दङगाल

सोमबार, १६ असार २०७६, १२ : ४४ मा प्रकाशित

अनुमानित साढे चार करोडमा  रकमझोलुङ्गे पुल निर्माण

अर्थ संसार, बेझाड- ज्याग्दीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत सहज बनेको छ । नेपालकै अग्लो र लम्बाइका हिसाबले यो पुल तेस्रो स्थानमा पर्छ ।
     
चापाकोट नगरपालिका–५ हिरामलाङ र ८ दामाचौर जोड्ने ज्याग्दीखोलामा हालसालै निर्माणकार्य सम्पन्न भई पुल सञ्चालनमा आएको छ । पुल बनेपछि आवतजावत, मेलापात, घाँस दाउरा गर्न, विद्यालय जान सजिलो भएको स्थानीयवासी जीवलाल पाठकले  बताए ।  तल खोलामा एउटा पक्की र झोलुङ्गे पुल रहेपनि एकान्त अनि कालीगण्डकीको दोभान नजिकै जङ्गल बीचमा हुदा साँझ बिहान त्रासमा यात्रा गर्नुपर्ने बाध्यता थियो । 
       
केन्द्रीय आयोजना डोलीडार कम्पनीमार्फत जय नेपाल निर्माण सेवाले ठेक्का लिई पुल निर्माण गरेको हो । पुल निर्माण भएपछि दामाचौर र हिलामराङ क्षेत्रका स्थानीयवासी खुशी छन् । 
       
खोलाको सतहदेखि ११९ मिटर उचाइमा बनेका सो पुलको लम्बाइ ३१८ मिटर छ । पुलबाट दैनिक एक हजार पाँच सय यात्रु आवतजावत गर्ने गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन डोटेलले बताए ।
       
चापाकोट नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गरी समृद्ध नगर बनाउन, स्थानीय तथा विद्यालय जाने विद्यार्थी, विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारी, यात्रुलाई मध्यनजर राखेर पुल निर्माण गरिएको उनले  बताए। 
       
“पुलका केही भागमा काम सकिएको छैन, आवतजावत चालु भए पनि अन्य काम भइरहेको छ” उनले भने । बञ्जि जम्पको अवधारणासहित अग्लो स्थानमा पुलनिर्माण गरिएको हो । अबको एक वर्षपछि यहाँ बञ्जिजम्प सञ्चालन गर्ने पुल निर्माण उपभोक्ता समिति, चापाकोट नगरपालिका र स्थानीयवासीको योजना छ ।
       
रु दुई करोड ९६ लाखको बोलपत्र आह्वान भएकोमा केही काम अझै बाँकी रहेकोले अनुमानित साढे चार करोड रकममा काम सम्पन्न हुने बताइएको छ । यो पुलबाट खोला वारिपारिका दर्जन गाउँलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।
      
खोला वारपार गरेर माथि गाउँमा निस्कन करीब आधा घण्टा समय खर्चनुपथ्यो । अहिले पुल बनेपछि पाँच मिनेटमै वल्लो गाउँबाट पल्लो गाउँमा पुगिएको स्थानीय रामचन्द्र भट्टराईले बताए । 
       
“यहाँ पुल बनेपछि वारपार गर्न दुरी छोटिएको छ, खोला वारिपारी रहेका छिमेकी गाउँको सम्बन्ध घनिष्टता हँुदै गएको छ” उनले भने  । नेपालकै तेस्रो अग्लो र लम्बाइ भएको झोलुङ्गे पुल गण्डकी प्रदेशको पहिलो लामो पुल पनि हो । नमूनाका रुपमा निर्माण भएको पुल हेर्नेको अहिले घुइँचो छ । विभिन्न स्थानबाट यो पुल अवलोकन गर्न आउनेक्रम बढेको छ । यहाँ बञ्जिजम्प सञ्चालनमा आएपछि आन्तरिक पर्यटक मात्र नभइ बाह्य पर्यटक भित्र्याउन ठूलो सहयोग पुग्नेछ ।
  
कालीगण्डकीमा जलयात्रा, यस पुलमा बन्जिजम्प, रामपुरको बाहुनडाँडामा प्याराग्लाईडिङ्ग सञ्चालन गरेर प्रशस्त आम्दानी गर्न सकिने सम्भावना छ । यसलाई व्यावसायिक तवरले सञ्चालन गर्न सकियो भने कालीगण्डकी उपत्यकाको आर्थिक तथा पर्यटन विकासमा ठुलो टेवा पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको