Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँको फोहोर उठ्न थाल्यो : समस्याको समाधान गर्न समिति गठन

रबिन दङगाल

सोमबार, १६ असार २०७६, १५ : ५३ मा प्रकाशित

काठमाडौँको फोहोर उठ्न थाल्यो : समस्याको समाधान गर्न समिति गठन

अर्थ संसार,  काठमाडौँ- दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो । 

विभिन्न माग राखेर सिसडोलवासीले एक साता अघिदेखि फोहोर फाल्न अवरोध गरेका थिए । सिसडोलवासीले काठमाडौँको फोहोर फाल्ने गरिएको ४२ रोपनी जग्गा सरकारले वा महानगरले अधिग्रहण गर्नुपर्ने माग गरिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । उनका अनुसार स्थानीयवासीले स्वास्थ्यमा पुगेको प्रतिकूल असरका लागि समाधान खोज्नुपर्ने लगायतका माग महानगरसँग गरेका थिए । 

कामपाले सिसडोलवासीका समस्या समाधानका लागि वडा नम्बर ४ का अध्यक्ष विकास डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको उनले बताए । समितिमा महानगरका अरु वडाका अध्यक्ष, वातावरण विभाग प्रमुख र सरोकारवाला स्थानीयवासीसमेत रहेका छन् । “समितिलाई १५ दिनभित्रमा प्रतिवेदन प्रस्तुत गर्नेगरी समयसीमा तोकिएको छ” उनले भने , “त्यही प्रतिवेदनका आधारमा समाधान निकालिनेछ ।”

विभिन्न मागहरू राखेर समयसमयमा स्थानीयवासीले फोहोर फाल्न अवरुद्ध गर्दै आएका छन् । महानगरले १३ वर्ष पहिले दुई वर्षका लागि भनेर सिसडोलमा फोहोर फाल्न थालेको थियो । तेह्र वर्ष बितिसक्दा पनि वैकल्पिक ठाउँ नहुँदा महानगरसँगै उपत्यकाका सबै नगरपालिकाले यहीँ फोहोर फाल्ने गरेका छन् । महानगरपालिकाले केही समय पहिलेबाट यहाँको विकल्पका रूपमा बञ्चरेडाँडामा ‘डम्पिङ साइट’ निर्माण गरिरहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको