Like us!
Follow us!
Connect us!
Watch us!

एकीकृत सम्पत्ति करको सट्टा सम्पत्ति र भूमि कर लिइने

रबिन दङगाल

मंगलबार, १७ असार २०७६, १६ : १६ मा प्रकाशित

एकीकृत सम्पत्ति करको सट्टा सम्पत्ति र भूमि कर लिइने

अर्थ संसार, धनगढी- धनगढी उपमहानगरपालिका कार्यालयले आर्थिक वर्ष २०६२-०६३ देखि लगाउदै आएको एकीकृत सम्पत्ति करको सट्टा अब सम्पत्ति कर र भूमि कर (मालपोत) लिने भएको छ । नगर सभामा पेश गरिएको ‘आर्थिक ऐन २०७६’ मा यो व्यवस्था गरिएको हो ।  
  
आर्थिक ऐन २०७६ पारित भएपछि आगामी साउन महीनादेखि धनगढी उपमहानगर क्षेत्रमा सम्पत्ति कर र भूमि कर (मालपोत) कार्यान्वयनमा आउने उपमहानगरपालिका कार्यालयका वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले बताए। 
 
हाल चलिरहेको नगर सभामा उक्त ऐन पारित हुने क्रममा छ । आर्थिक ऐन २०७६ मा घरबहाल, व्यवसाय, सवारीसाधन, विज्ञापन, मनोरञ्जनलगायत शीर्षकमा कर तथा शुल्क लगाउने व्यवस्था गरिएको छ । 
 
उपमहानगरपालिकालाई सम्पत्ति कर र भूमि करबापत आगामी आर्थिक वर्षमा रु चार करोड आम्दानी हुने अनुमान गरिएको छ । आव २०७६-०७७ का लागि सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्याङ्कन गरी करको दरसमेत तोकिएकामा वडा नं २ र ४ को धनगढी ट्रफिक चोकदेखि कैलाली पुलसम्मको कालोपत्रे सडकसँग जोडिएको जग्गाको रु ७० लाख मूल्याङ्कन गरिएको छ ।  
 
कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालय, पुलसम्मको कालोपत्रे सडकसँग जोडिएको जग्गाको रु ६५ लाख मूल्याङ्कन गरिएको छ ।

१९ वडा रहेको उपमहानगरपालिका क्षेत्रमा शहरी क्षेत्रका वडामा बाटोसँग नजोडिएका कित्ताको रु एक लाख ५० हजार र ग्रामीण क्षेत्रका वडामा बाटोसँग नजोडिएका कित्ताको रु ५० हजारदेखि एक लाखसम्म मूल्याङ्कन गरिएको छ । 
  
कालोपत्रे सडक, ग्राभेल सडक र कच्ची सडकसँग जोडिएका कित्ताको अलग अलग मूल्याङ्कन गरिएको छ ।   सम्पत्ति करको हकमा रु पाँच लाखसम्म मूल्याङ्कन गरिएको सम्पत्तिको कर रु ५० लिइने ऐनमा प्रस्ताव गरिएको छ । 
 
कायम भएको मूल्याङ्कनमा रु एक लाख मूल्य बराबरको न्यूनतम रु १५ देखि अधिकतम रु १३० सम्म सम्पत्ति कर लिइने व्यवस्था गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको