Like us!
Follow us!
Connect us!
Watch us!

वर्षा लागेसँगै दिनरात त्रासमा मध्यपुर र बालकोटका बासिन्दा

रबिन दङगाल

विहीबार, १९ असार २०७६, ११ : १२ मा प्रकाशित

वर्षा लागेसँगै दिनरात त्रासमा मध्यपुर र बालकोटका बासिन्दा

अर्थ संसार, भक्तपुर- वर्षायाम शुरु भएसँगै मध्यपुरथिमि, सूर्यविनायक र भक्तपुरका बासिन्दा दिनरात त्रासमा बसेका छन् । वर्षामा हनुमन्ते नदीमा आएको बाढी गत वर्षजस्तै बस्तीमा पसेर वितण्डा मच्चाउला भन्ने डर र त्रासमा यहाँका बासिन्दा बसेका हुन् ।
 
गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र, कमेरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायतका क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौ  घर डुबानमा पर्नुका साथै करोडौँको क्षति भएको थियो । 

यस वर्ष हनुमन्ते करिडोर निर्माण शुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएसँगै उर्लिएको हनुमन्ते यस वर्ष पनि बस्तीमा पस्ने त्रासमा परेका छन् ।

भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, जाममुक्त भक्तपुर बनाउने, अरनिको राजमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्नेसमेत विभिन्न योजनासहित आएको हनुमन्ते कोरिडोर निर्माण रोकेर विकासमा अवरोध पुर्याउनु गलत भएको सांसद महेश बस्नेतले बताए । उनले समस्या भए छलफल र सहमतिबाट टुङ्याउनुपर्ने बताउँदै विकासलाई यत्तिकै रोकेर राख्न खोजे विकासविरोधी तत्वलाई पन्छाएर काम अगाडि बढाइने बताए ।
 
मध्यपुरथिमि नगरपालिका क्षेत्रमा सञ्चालित ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँ मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलले हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ । राधेराधेबाट विनाअवरोध निर्माण हुँदै गएको करिडोर ब्लक कारखाना अगाडि पुगेपछि रोकिएको बताउँदै स्थानीय सरोकारवाला दामोदरप्रसाद श्रेष्ठले सार्वजनिक जग्गा हडप्न खोज्ने भूमाफियाले सांसदसमेतलाई प्रयोग गरी शक्तिको आडमा केही व्यक्तिको परिचालन गरी करिडोर निर्माण रोकेको बताए ।

स्थानीय जम्मबरबहादुर केसीले वर्षौंदेखि आफ्नो जग्गामा खोला बग्दा हाँसेर बस्नेहरू अहिले विकास रोक्न आएको बताउँदै पीडित जग्गाधनीले राहत पाउने बेलामा एक आना पनि जग्गा नभएका भूमाफिया करिडोर रोकेर समस्या सिर्जना गर्न आएको बताए । मध्यपुरथिमि नगरपालिका राधेराधेका सुमित्रा थापाले हनुमन्ते करिडोर निर्माण रोकिएपछि बस्तीमा बाढी पस्ला भनेर रातभरि निदाउन नसकेको बताउँदै बाढी पसेर क्षति भए करिडोर निर्माण रोक्ने व्यक्तिले जिम्मा लिनुपर्ने बताए ।

चारदोबाटो बालकोटका कुखुरा व्यवसायी मनोहर खत्रीले गत वर्ष बाढी पसेर आफ्नो खोरमा बिक्री गर्न तयार पारेको २०० कुखुरा बगाएको बताउँदै यस वर्ष थप त्रास भएको बताए। उनले भने, “हनुमन्ते नदीको बीचबीचमा ढुङ्गा थुपारिएको छ, माटो जताततै थुप्रिएको छ, करिडोर निर्माण भएको ठाउँमा फराकिलो भए पनि त्यो भन्दा तल, माथि साँघुरो छ, यस्तो अवस्थामा बाढी आए थप जोखिम हुन्छ, त्यसैले यहाँका बासिन्दाले दिनानुदिन त्रासमा बाँच्नुपरेको छ ।”

लामो समयदेखि रहँदै आएको नदीको धार परिवर्तन गर्ने र सिमाङ्कनको विवादलाई सम्बन्धित जग्गाधनी, सांसद, विभिन्न राजनीतिक दलका नेता, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाका प्रमुख, बालकोटका वडाध्यक्षसहित पटक–पटकको छलफलले ल्याण्डपुलिङको माध्यमबाट सबै समस्या समाधान गर्दै हनुमन्ते करिडोर निर्माण गर्ने सहमतिअनुसार काम अगाडि बढेको थियो ।
     
सहमतिअनुसार नै सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्तरूपमा तयार पारेको नक्साको आधारमा दीर्घकालीन समस्या समाधान गर्ने गरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार नै काम अगाडि बढेको हो । 

यसबारेमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले रोकिएको हनुमन्ते करिडोर पुनः शुरु नभए गत वर्षजस्तै बस्ती डुबानमा पर्ने जोखिम रहेको बताउँदै निर्माण पुनः शुरु गर्ने पहल भइरहेको बताए। मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले समस्या भए समाधान खोज्नुपर्ने बताउँदै काम नै रोकेर राख्न भने नहुने बताए  । 

सूर्यविनायक नगरपालिका–३ बालकोटका वडाध्यक्ष शिवशरण खत्री सबैको सहमतिमा समस्या समाधान भए पनि अहिले आर्थिक चलखेल गर्न करिडोर निर्माण नै रोक्नु गलत भएको बताउँदै बस्ती डुबानमा परे रोक्नेले जिम्मेवारी लिनुपर्ने बताए। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको