Like us!
Follow us!
Connect us!
Watch us!

सन् २०१९ को पहिलो छ महिनामा ३८ पत्रकार मारिए

रबिन दङगाल

शुक्रबार, २० असार २०७६, १४ : ३७ मा प्रकाशित

सन् २०१९ को पहिलो छ महिनामा ३८ पत्रकार मारिए

अर्थ संसार, जेनेभा- सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ ।

सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको सङ्ख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्याङ्कमा उल्लेख छ ।  पीईसीले पत्रकारहरूको हत्यामा कमी आउनुलाई सकारात्मक भनेको छ । 

उक्त संस्थाले अझै पनि मेक्सिको र अफगानिस्तानमा मारिने पत्रकारको सङ्ख्या कहाली लाग्दो रहेको बताएको छ । सन् २०१९ को जनवरीदेखि जुनसम्ममा विभिन्न खाले घटनामा गरी मेक्सिकोमा नौ र अफगानिस्तानमा छ पत्रकार मारिएका जनाएको छ ।

अफगानिस्तानमा आतङ्कवादी समूह र मेक्सिकोमा आपराधिक समूहलाई सञ्चारकर्मीद्वारा गरिने धम्की र चेतावनीका कारण ठूलो धनराशी खर्चिनुपर्ने अवस्था देखिएको पनि पीइसीले उल्लेख गरेको छ ।
पीईसी महासचिव ब्लाइस लेम्पेनले भने, “सम्बन्धित देशको सङ्घसंस्थाले सञ्चारमाध्यम तथा त्यहाँ कार्यरत पत्रकार र अन्य सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूत गर्न असफल हुँदा वा आवश्यक कानूनी प्रक्रियामा लान असफल बन्दा यसलाई हेर्न र दण्डहिनताविरोधी सङ्घर्षका लागि अन्तर्राष्ट्रिय समुदायले स्वतन्त्र संरचनाको स्थापना गर्नुपर्ने देखिएको छ ।”

उनले भने, “क्षेत्रीयस्तरमा हेर्दा ल्याटिन अमेरिकी मुलुकहरूमा सन् २०१९ को पहिलो छ महिनामा अन्य क्षेत्रको तुलनामा सबैभन्दा धेरै १५ जना पत्रकार मारिएका छन् भने यससम्बन्धी मध्यपूर्वको तथ्याङ्कमा सुधार आएको देखिएको छ ।”

मध्यपूर्वी मुलुक सिरिया र इराक पछिल्लो समय द्वन्द्वका घटनामा पनि कमी आएको र पत्रकारहरूमाथिको आक्रमण पनि तुलनात्मक रूपमा कम बनेको देखिएको हो ।
सरकार, विभिन्न संघसंस्था तथा नागरिक समाजले पत्रकारमाथिको आक्रमणलाई कमी गर्न पत्रकारको सुरक्षामा ध्यान दिनुपर्ने र यसबाट आधाभन्दा बढी पत्रकारको हत्यामा कमी ल्याउन सकिने भन्दै गत बर्ष पीईसीले सोही अनुरूप अघि बढ्ने कार्यक्रमको लक्ष्य निर्धारण गरेको थियो ।

सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय पत्रकारहरूको समूह पीईसी गैर–सरकारी संस्था हो जसले संयुक्त राष्ट्रसंघसँगको विशेष परामर्शमा पत्रकारलाई वैधानिक संरक्षण तथा सुरक्षाका लागि द्वन्द्वरत क्षेत्रमा काम गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको