Like us!
Follow us!
Connect us!
Watch us!
नेपालबाहेक विश्वभरबाट लगानी गर्न सकिने

सगुनको २ करोड डलर बराबरको मिनी आइपिओ निस्कासन

विहीबार, २७ माघ २०७३, ०९ : ३१ मा प्रकाशित

सगुनको २ करोड डलर बराबरको मिनी आइपिओ निस्कासन

अर्थ संसार
काठमाडौं– सगुन इन्कले सर्वसाधारणका लागि २ करोड डलर (करिव २ अर्ब रुपैयाँ) बराबरको सेयर निस्कासन गरेको छ । 

नेपालीहरु संस्थापक रहेको अमेरिकी सामाजिक संजाल सगुन डटकम संचालन गर्ने उक्त कम्पनीले बिहीबार अनलाइनबाट शेयर बिक्री खुल्ला गर्ने औपचारिक घोषणा बिहीबार नेपालमा पत्रकार सम्मेलन गरेर गर्दै छ । संसारको जुनसुकै कुनामा रहेका हरेक व्यक्तिले सगुनको शेयरमा लगानी गर्न सक्नेछन् । सगुनको वेवसाइट सगुन डटकममा गएर सेयर खरिदका लागि आवेदन गर्न सकिने छ ।

अमेरिकी धितोपत्र नियामक धितोपत्र कारोबार आयोग (एसइसी) ले मिनी आइपिओ निस्कासन गर्न सगुनले पेश गरेको प्रस्ताव स्वीकृत गरेको थियो । स्वीकृति पाएपछि सगुनले ग श्रेणीको ८ लाख ६९ हजार ५ सय ६४ कित्ता साधारण शेयर प्रतिकित्ता २३ अमेरिकी डलरका दरले बिक्री सुरु गरेको हो । सगुनको शेयरधनी बन्न कम्तीमा १३ कित्ता शेयर किन्नु पर्छ । 

सगुनको स्थापना अमेरिकी सरकारको आइटी इन्जिनियरका रुपमा काम गरिसकेका गोविन्द गिरीले गरेका हुन् । यसमा सुरुआतमा अमेरिकालगायत विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले लगानी गरेका थिए । ‘मेरो सपनामा विश्वास गर्ने मेरा समुदायका मानिस, समर्थक तथा शुभेच्छुकहरुलाई यस्तो अवसर दिन चाहन्छु । उहाँहरुले सगुनमा लगानी गरेर संसार परिवर्तन गर्ने हाम्रो अभियानलाई सहयोग गर्न सक्नु हुने छ । सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरु लाभान्वित हुनुहोस् भन्ने मेरो अपेक्षा छ’ सगुनका संस्थापक गिरीले भने, ‘अमेरिकाको जब्स कानुन २०१२ को सगुनको सेयर जारी गर्ने अबसर पाएका छौं । यसले साना लगानीकर्ताहरुलाई उदाउँदा कम्पनीहरुमा लगानी गर्ने सुअबसर प्रदान गर्दछ ।’ 

सगुनले सेयर जारी गरेजस्तै लगानीको यस्तो अवसर फेसबुक, ट्वीटरजस्ता अन्य सामाजिक सञ्जालको स्थापनाको चरणमा उपलब्ध थिएन । सुरुआतको चरणमा लगानी गर्ने लगानीकर्ताले कम्पनीले गरेको प्रगतिअनुसार ठूलो प्रतिफल पाउन सक्छन् भन्ने ती कम्पनीको अहिलेको बजार मूल्यले देखाएको छ । 
सगुनले साधारण सेयर जारी गर्नुअघि लगानीको लागि विद्यमान वातावरण जान्न उसको साइटबाट लगानीको प्रतिवद्धता जाहेर गर्न आह्वान गरेको थियो । जसमा अमेरिका, क्यानडा, भारत, बेलायतलगायतका देशका ४ हजारभन्दा बढी लगानीकर्ताहरुले ७० लाख डलर (करिव ७० करोड रुपैयाँ) भन्दा बढी लगानी गर्ने इच्छा व्यक्त गरेका थिए । यस्तो सफलता सगुनका संस्थापकहरुको सोचलाई कार्यान्वयन गर्ने टोली सबल भएकोले हासिल भएको संस्थापक गिरीको दावी छ । 

सगुनको प्रस्ताव मन पराउने व्यक्तिले आफू बसेको मुलुकबाट विदेशमा लगानी गर्न कानुनले अनुमति दिएको भए भए www.sagoon.com/invest मा गई लगानी गर्न सक्नेछन् । 

सगुन प्रारम्भिक चरणमा रहेको एक सामाजिक कर्मस सञ्जाल हो । यसले सगुनको आफ्नो वेवसाइटमा भएका विभिन्न एप्सहरु प्रयोग गर्दा पैसा कमाउने अवसर प्रदान गर्दछ । सगुन संस्कृतको सकुन शब्दबाट आएको हो । यसको अर्थ शुभ समय वा राम्रो भाग्य भन्ने हो । सगुन २००९ मा सगुन सर्च इन्जिनको रुपमा सुरु भएको थियो । यसलाई सन् २०१४ मा सामाजिक कमर्श सञ्जालको रुपमा विकसित गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको