Like us!
Follow us!
Connect us!
Watch us!

एमालेका सय नेता अभियानमा, दर्जनौँ स्थानमा आमसभा

विहीबार, २७ माघ २०७३, ११ : ४५ मा प्रकाशित

एमालेका सय नेता अभियानमा, दर्जनौँ स्थानमा आमसभा

काठमाडौं-एमालेको चुनावलक्षित राष्ट्रिय जागरण अभियानमा अध्यक्ष केपी ओलीसहित एक सयभन्दा बढी केन्द्रीय नेता देशव्यापी दौडधुपमा छन् । मंसिरबाट सुरु भएको चारमहिने राष्ट्रिय जागरण अभियानमा एमालेका एक सयभन्दा बढी केन्द्रीय नेता जागरण अभियानमा व्यस्त भएका हुन् । सात प्रदेश संगठन कमिटीको संयोजन र ७५ वटै जिल्ला कमिटीको अगुवाइमा एमालेले अभियानलाई तीव्रता दिइरहेको छ ।

यी हुन् अभियानमा खटिने एमाले नेता
अभियानमा अध्यक्ष ओलीसहित शीर्ष नेताहरू देशभरका भेला र आमसभामा सहभागी हुन दिनहुँ खटिएका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम आचार्य, पृथ्बीसुब्बा गुरुङ, गोकर्ण विष्टसहित सबै पदाधिकारी प्रदेशस्तरीय, जिल्ला र क्षेत्रीयस्तरका भेला र आमसभामा सहभागी भइरहेका छन् ।

देशभरका अधिकांश कार्यक्रमको प्रमुख आतिथ्यता शीर्ष नेता र पदाधिकारीहरूले गरिरहेको उपाध्यक्ष शाक्यले बताइन् । त्यसबाहेक संसदीय दलका उपनेता सुवास नेम्बाङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, छविलाल विश्वकर्मा, किरण गुरुङसहितका सबै स्थायी समिति सदस्य पनि अभियानमा सक्रिय छन् ।

सात प्रदेश कमिटीमा रहेका पोलिटब्युरोका सह–संयोजकहरू, पोलिटब्युरो सदस्यबाहेक प्रदेश कमिटीमा रहेका सबै केन्द्रीय सदस्यहरू सहभागी छन् । सचिव तथा प्रचार विभागका प्रमुख भट्टराईले एमालेका एक सयभन्दा बढी केन्द्रीय तहका नेताहरू उपत्यकाबाहिर अभियानमा सक्रिय रहेको जानकारी दिए । केन्द्रीय नेताबाहेक सम्बन्धित क्षेत्रका अधिकांश सांसद पनि अभियानमै खटिएका छन् ।

विवादले सुरु भएन काठमाडौंमा अभियान
काठमाडौंमा भने संस्थापन र नेता नेपाल पक्षबीच लामो समयदेखिको विवाद समाधान नहुँदा जागरण अभियान सुरु हुन सकेको छैन । दुई पक्षबीच सदस्यता वितरण, जिल्ला अधिवेशनका विषयमा विवाद भएपछि एमाले ३ नम्बर प्रदेश संगठन कमिटीले समाधानका लागि छुट्टै कार्यदल गठन गरेको छ ।

आन्तरिक विवाद समाधान गर्न पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी संयोजक तथा अरुण नेपाल र केदार न्यौपाने सदस्य रहेको तीन सदस्यीय कार्यदलले काम गरिरहेको प्रदेश संयोजक शाक्यले बताइन् । ‘आन्तरिक समस्या समाधानपछि चैतको दोस्रो साताभित्र अधिवेशन सकिएपछि मात्रै काठमाडौंमा अभियान सुरु हुनेछ,’ शाक्यले भनिन् ।

निर्वाचन घोषणापत्रको पनि तयारी
स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनलाई लक्षित गरेर एमालेले निर्वाचन घोषणापत्र र नेपालको आर्थिक समृद्धि केन्द्रित कार्यक्रमको तयारीसमेत सुरु गरेको छ । सचिव तथा प्रचार विभागका प्रमुख भट्टराईले निर्वाचन घोषणापत्र तयारीका लागि सातवटै प्रदेशलाई आ–आफ्ना प्रदेशको समृद्धि र विकाससम्बन्धी खाका आगामी फागुनसम्म केन्द्रमा पठाइसक्न निर्देशन गरिएको जानकारी दिए ।

‘सातवटै प्रदेश कमिटीलाई प्रदेशको विकास निर्माणका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा कार्यक्रम बनाएर फागुनसम्म केन्द्रमा पठाउन निर्देशन गरिसकेका छौँ,’ भट्टराईले भने, ‘निर्देशनअनुसार सबै प्रदेश कमिटीले छलफल गरेर प्रदेशका बुद्धिजीवी र विषय विज्ञहरूसँग छलफल चलाइरहेका छन्, उनीहरूले बुझाउने खाकाकै आधारमा हामी चुनावी घोषणापत्र र पार्टीका तर्फबाट नेपालको आर्थिक र सामाजिक समृद्धिका योजना र कार्यक्रम बनाउँछौँ ।’

क्षेत्रीय र जिल्लास्तरीय आमसभा
सबै जिल्लामा एकसरो भेला सम्पन्न गरेको एमालेले गाउँ तहसम्मै चुनावलक्षित सभा र पार्टी प्रवेशका कार्यक्रम चलाइरहेको छ । दुई सातायता मात्रै एमालेले दर्जनौँ स्थानमा क्षेत्रीय र जिल्लास्तरीय आमसभा गरेको छ । सुनसरीको सदरमुकाम इनरुवा, हरिपुरा, रामगन्ज बेलवसिया, दुहवीमा आमसभा गरेको छ । त्यस्तै, झापाको सातवटै निर्वाचन क्षेत्र, ओखलढुंगा, खोटाङ, पाँचथर, सोलुखम्बुमा एमालेका सभा सम्पन्न भएका छन् ।

बुधबार एमालेले इलाममा जिल्लास्तरीय आमसभा गर्दै छ भने अघिल्लो साता लमजुङ, गोरखा, स्याङ्जा, तनहुँमा भेला र सभाहरू गरेको छ । एमालेले ५ र ७ नम्बर प्रदेशका अधिकांश जिल्लामा एकसरो अभियान सकेको छ । ३ नम्बर प्रदेशमा उपत्यकाबाहेकका जिल्लामा क्षेत्र र जिल्लास्तरको आमसभाको तयारी गरिरहेको प्रदेश संयोजक शाक्यले बताइन् ।

वैशाखमा युवा संघको नवौँ महाधिवेशन

युवा संघ नेपालको नवौँ महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । बुधबार सम्पन्न संघको केन्द्रीय कमिटी बैठकले आगामी ९ वैशाखसम्म मकवानपुरको हेटौँडामा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । संघको आठौँ महाधिवेशन २०६९ फागुनमा बुटवलमा सम्पन्न भएको थियो ।

संघका प्रवक्ता प्रभातविक्रम कटुवालले संविधान कार्यान्वयनका लागि दबाब अभियानकै रूपमा नवौँ महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए । ‘अबको मुख्य कार्यभारका रूपमा संविधान कार्यान्वयनका लागि व्यापक दबाब सिर्जना गर्दै महाधिवेशन गर्ने निर्णय भएको छ,’ कटुवालले भने । बैठकले अध्यक्ष राजीव पहारी संयोजक रहेको महाधिवेशन तयारी मूल व्यवस्थापन समिति गठन गरेको छ ।

तीन केन्द्रीय सदस्यमाथि कारबाही
बैठकले संगठनको हितविरुद्ध काम गर्ने तीन केन्द्रीय सदस्यलाई अनुशासनको कारबाही गरेको छ । पार्टी नेताको चरित्रहत्यामा संलग्न भएको भन्दै केन्द्रीय सदस्य बालिका खड्का, नयाँ शक्तिमा प्रवेश गरेका अञ्जन भट्ट र नेकपा मालेमा प्रवेश गरेका माधव विष्टलाई संघको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो ।

संघको बैठकले जिम्मेवारी हेरफेरसमेत गरेको छ । बैठकले काठमाडौं अध्यक्ष नितेश पौडेललाई केन्द्रीय सदस्यमा मनोनीत गरी इन्चार्ज बनाएको छ । त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी सचिव माधव बास्तोला, प्रचार विभाग प्रमुखमा हस्तबहादुर शाही, युवा परिचालन विभाग प्रमुखमा दर्शन लामा र राजधानी संयोजकमा वचनबहादुर सिंहलाई जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य रामजी सापकोटा सचिवालयमा मनोनीत भएका छन् ।

विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव
संघको बैठकले उपाध्यक्ष दिलु पन्तसहितको असन्तुष्ट समूहले अन्तर जिल्ला समन्वय कमिटी विभाग खारेजका लागि अघि सारेको माग समाधान गर्न मध्यमार्गी प्रस्ताव पारित गरेको छ । संघका प्रवक्ता कटुवालले विभागका सन्दर्भमा पार्टीबाट नयाँ निर्देशन आए सोहीअनुसार निर्णय गर्ने जिम्मेवारी बैठकले स्थायी समितिलाई दिएको बताए ।

शुरोजंग पाण्डे/नयाँ पत्रिका

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको