Like us!
Follow us!
Connect us!
Watch us!

यात्रु र चालकको सहयोगी बन्दै मेट्रो ट्राफिक एफएम

रबिन दङगाल

बुधबार, ०८ साउन २०७६, १४ : १९ मा प्रकाशित

यात्रु र चालकको सहयोगी बन्दै मेट्रो ट्राफिक एफएम

अर्थ संसार, काठमाडौँ- रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालनमा रहेको मेट्रो ट्राफिक एफएम(एफएम९५.५ मेगाहर्ज) यात्रु र चालकको सहयोगी बन्दै गएको बताइएको छ ।  उक्त एफएमको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन यो एफएम यात्रु र चालकको सहयोगी बन्दै गएको बताएका हुन् । 

सीमित स्रोत र साधनमा पनि उपत्यकाको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले उल्लेख्य काम गरेको छ  भन्दै उहाँले उक्त एफएमको क्षमता र  कार्यक्रम  विस्तार गरेर अगाडि बढ्न सुझावसमेत दिए ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मेट्रो ट्राफिक एफएमले सूचनामूलक, मनोरञ्जनात्मक कार्यक्रममार्फत अपराध न्यूनीकरण गर्दै आएको बताए। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले ट्राफिक एफएमलाई देशभर सुन्न सक्ने गरी क्षमता विस्तार गर्नुपर्नेमा जोड दिँदै सही सूचना प्रवाहमा पनि यो एफएम अब्बल रहेको छ भने । रेडियो नेपालका उपनिर्देशक टीका भण्डारीले उपत्यकाको ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै  आएको बताए। दैनिक १७ घण्टा सञ्चालनमा रहेको उक्त एफएमको  एक हजार वाट क्षमता विस्तारका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृतसमेत प्रदान गरिसकेको छ । 

कार्यक्रममा सडक बोर्ड नेपाल, नेपाल टेलिकम, सडक विभाग, नेपाल सङ्गीत विद्यालय, मेलम्ची खानेपानी आयोजनालगायत सङ्घसंस्थालाई सम्मान गरिएको थियो । विसं २०६९ साउन ८ मा उक्त एफएम स्थापना भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको