Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिका-चीन व्यापार द्वन्द्व: चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा

मिलन खड्का

शुक्रबार, १७ साउन २०७६, १२ : ५९ मा प्रकाशित

अमेरिका-चीन व्यापार द्वन्द्व: चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा

अर्थ संसार,वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गर्नुभएको छ । 

चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिनुभएको छ ।

अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच भइरहेको करिब ६६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको छ अर्थात् यो निर्णयबाट दुबै देशबीचको सम्पूर्ण कारोबारमा अब करवृद्धि हुनेछ ।

यसअघि नै अमेरिकाले करिब २५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेको छ ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग भन्नुभयो, “अहिलेको १० प्रतिशत पनि छोटो अवधिका लागि हो, र यो बढ्ने वा घट्ने कुरा चीनमा निर्भर छ । विश्वसनीय सम्झौता नभए यसलाई २५ प्रतिशतसम्म बढाइने छ ।”

चीन र अमेरिकाबीच यसै साता शाङ्घाईमा प्रत्यक्ष व्यापार वार्ता पुनः शुरु भएको छ । अर्को चरणको वार्ता वासिङ्टनमा सेप्टेम्बरको पहिलो साता हुनेछ । 

आसियान बैठकमा भाग लिन हाल बैंककमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले आर्थिक तथा व्यापारिक समस्या सुल्झाउन करवृद्धिको अस्त्र रचनात्मक समाधान होइन भन्नुभयो । 

चीनले अमेरिकी निर्णयको प्रतिवाद के कसरी गर्नेछ भन्ने स्पष्ट भएको छैन । तर चीनले हालै अमेरिकी प्रविधि उद्योगका लागि अति आवश्यक सामानको निर्यातमा कडाई गर्ने वा रोक्ने तथा अमेरिकी कम्पनीलाई कालोसूचीमा राख्ने सङ्केत दिएको थियो । 

ट्वीटर मार्फत आफ्नो निर्णय सार्वजनिक गर्नुभएका राष्ट्रपति ट्रम्पले अमेरिकाबाट ठूलो परिमाणमा चीनले अमेरिकी कृषिजन्य सामान खरिद गर्ने प्रतिबद्धता व्यक्त गरे पनि त्यसो नगरेको भन्दै आक्रोश पोख्नुभएको थियो । 

राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “त्यसबाहेक, मेरा मित्र राष्ट्रपति सीले संयुक्तराज्य अमेरिकामा फेन्टानाइल (लागूपदार्थ) बिक्री रोक्ने बताउनुभएको थियो, तर त्यो कार्यान्वयनमा कहिल्यै आएन । त्यही फेन्टेनाइलका कारण धेरै अमेरिकीहरुको ज्यान जाँदैछ ।”

अमेरिकी पछिल्लो निर्णयसँगै विश्व बजार तरङ्गित भएको छ । वाल स्ट्रिट, डाउ जोन्स, सिंगापुर, हङकङ र टोकियो समेतका प्रमुख शेयर बजारहरुमा कारोबार घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको