Like us!
Follow us!
Connect us!
Watch us!

पशुपतिमा धार्मिक महत्वका बिरुवा रोपण

मंगलबार, २८ साउन २०७६, १७ : ४४ मा प्रकाशित

पशुपतिमा धार्मिक महत्वका बिरुवा रोपण

अर्थ संसार, काठमाडौं- पशुपतिनाथ मन्दिर क्षेत्रमा पर्ने श्लेषमान्तक (मृगस्थली) वनमा धार्मिक महत्वका बिरुवा रोपिएको छ । प्राकृतिक संरक्षण समाजको अगुवाइमा सोमबार २१ प्रजातिका धार्मिक बिरुवा रोपिएको हो । समाजले प्रदूषणविरुद्धको अभियानलाई सार्थक र परिणाममुखी बनाउनलाई ‘स्वच्छ, सफा र हराभरायुक्त वातावरण भावी पुस्तालाई हस्तान्तरण’ अभियानअन्तर्गत पशुपति क्षेत्रमा वृक्षरोपण गरिएको जनाएको छ ।

समाजका अध्यक्ष कुमार कटवालले पशुपति क्षेत्रमा विभिन्न धार्मिक प्रजातिका एक हजार आठ बिरुवा रोपिने जानकारी दिनुभयो । तीनदेखि पाँच वर्षभित्रमा सबै बिरुवा रोप्ने हाम्रो लक्ष्य हो । पहिलो चरणअन्तर्गत २१ बिरुवा रोपियो, आगामी भदौ २३ गते दोस्रो चरणमा थप बिरुवा रोप्ने काम हुन्छ ।

उहाँले भन्नुभयो, “हामीले पशुपति क्षेत्रमा रोपिएको बिरुवा बाँदरले भत्काउने भएको हुँदा बिरुवा रोप्नेभन्दा पनि संरक्षणमा बढी जोड दिएका छौँ । रोपेको बिरुवा बाँदरले फाल्न नसकोस् भनेर वरपर सिस्नो लगाइएको छ ।” पहिलो चरणअन्तर्गत सोमबार गरिएको वृक्षरोपणमा रुद्राक्ष, बेल, कपूर, वर, पीपल, काव्रो, स्वामी, जामुनो, अमला र चाप लगायतका बिरुवा रोपिएको छ । समाजले देशव्यापी रुपमा एक लाख आठ हजार रुद्राक्षको बिरुवा रोप्ने तयारी गरेको छ ।

स्थानीय तहसँग साझोदारी गरी इच्छुक किसानलाई बिरुवा वितरणको तयारी गरिएको समाजका सचिव होमबहादुर भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले शहरी क्षेत्रलाई प्राथमिकतामा राखेर एक घर एक कागतीको बिरुवा वितरणको तयारीसमेत गरेको छ । कौसी खेती विस्तारको अवधारणअन्तर्गत पाँच लाख बिरुवा वितरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । विसं २०६४ मा स्थापना भएको प्राकृतिक संरक्षण समाजले मानव स्वास्थ्य र हरित पर्यावरणको क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यक्रममा प्राकृतिक संरक्षण समाजका संरक्षक नेपाली सेनाका अवकाश प्राप्त सेनापति रुक्माङ्गत कटवाल, समाजका सल्लाहकार नेपाल प्रहरीका एसएसपी रमेश खरेल, पशुपतिनाथ सेवक सङ्घका अध्यक्ष केदारमान भण्डारीलगायतको उपस्थिति रहेको थियो । मृगस्थलीमै भूसंरक्षण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालय, लायन्स क्लब अफ काठमाडौँ, न्यू वेभ्स र पशुपति क्षेत्र विकास कोषको सहकार्यमा वृक्षरोपण गरिएको थियो । (तस्वीर संलग्न छ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको