Like us!
Follow us!
Connect us!
Watch us!

वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी

बुधबार, २९ साउन २०७६, ११ : २९ मा प्रकाशित

वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी

अर्थ संसार, काठमाडौं - हरि बाँस्तोला सामुदायिक वनबाट रुख होइन, रसिद काटेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यहाँको एउटा सामुदायिक वन समूह उदाहरणीय बनेको छ । पोखरा महानगरपालिका–२७ स्थित पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको वनभोजस्थलमा आगन्तुक समूहसँग अनुमतिका लागि काटेको रसिदबाट आम्दानी गरेर सबैका लागि अनूकरणीय बनेको हो ।

पोखरा उपत्यकाका नौ तालमध्येको पाँचाँै ठूलो दिपाङ्गतालको किनारास्थित मनोरमस्थलमा अवस्थित सो सामुदायिक वनले एक वर्षको अवधिमा वनभोज खान आउने समूहबाट रसिद काटेर रु ६५ हजारभन्दा बढी आम्दानी गरेको समूहका अध्यक्ष नीरलाल तभ्mयाले जानकारी दिनुभयो । उहाँका अनुसार वनको बीचको मैदान र खाली स्थानमा आवश्यक भौतिक संरचना तयार गरी वनभोजस्थलका रूपमा विकास गरेसँगै सो स्थानमा वनभोज खान आउनेको प्रत्येक वर्ष क्रमिकरूपमा आकर्षण बढ्दै गएको छ ।

पोखरालगायत आसपासका स्थानबाट वनभोज खान आउने आमा समूह, सहकारी, युवा क्लब, टोल विकास संस्था, विद्यार्थीलगायतका विभिन्न सङ्घसंस्था आउने गरेको बताउँदै अध्यक्ष तभ्mयाले भन्नुभयो, “सङ्ख्याको आधारमा एउटा समूहलाई रु एक हजारदेखि एक हजार ५०० सम्म रकम लिने गरेको छौँ ।” सडकबाट वनभोजस्थलसम्म पुग्ने बाटो सोलिङ ढलान गर्न आवश्यक रहेको बताउँदै उहाँले आर्थिक सहयोगका लागि वडा कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो ।

वनभोजस्थलबाट दिपाङ्गतालको स्पष्ट दृष्यावलोकन गर्न र तस्वीरसमेत लिन सकिने गरी रुखलाई गोडमेल गर्ने तयारी भइरहेको बताउँदै उहाँले शान्त, हरियाली तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस स्थानको आवश्यक प्रचार–प्रसारमा जोड दिइने उल्लेख गर्नुभयो । सामुदायिक वनबाट उत्पादित दाउरासमेत वनभोजमा आउने समूहलाई बिक्री गर्ने गरेको बताउँदै उहाँले समूहको र वनभोजस्थलबाट भएको आम्दानीबाट थप भौतिक संरचना तयार गरेर वनभोजस्थलबाट मात्रै वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्षय रहेको छ भन्नुभयो ।

भवन तथा शहरी विकास कार्यालयको रु नौ लाख ६० हजारको आर्थिक सहयोगमा लगभग आठ वर्षअघि वनभोजस्थलमा आवश्यक पूर्वाधार निर्माण गरिएको उक्त वन समूहका पूर्वसचिव गुमनाथ लामिछानेले जानकारी दिनुभयो । आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्दै उपभोक्ताको आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको वनभोजस्थलमा हाल दुई ट्रष्ट भवन, विद्युत्, खानेपानीसहित दुई शौचालयसमेत निर्माण गरिएको छ । सरसफाइका लागि दिपाङ्गतालको पानी लिफ्टिङ गरी वनभोजस्थलमा निर्माण गरिएको १०० लिटर क्षमताको दुई ट्याङ्कीमा सङ्कलन गरेर चार धारासमेत जडान गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “अन्य आवश्यक पिउनेपानीको भने पिकनिकमा आउने टोलीले आपैm व्यवस्था गर्दै आएका छन् ।”

विसं २०५३ मा तात्कालीन जिल्ला वन कार्यालयले समूहलाई हस्तान्तरण गरेको कूल तीन हेक्टर क्षेत्रफल र ८० घरधुरी उपभोक्ता रहेको वन समूहका उपाध्यक्ष कृतिराम पाण्डेले राससलाई बताउनुभयो । खोरी फाडेजस्तै उजाड भएको सो वन उपभोक्ताले संरक्षण गरेसँगै हरियालीमा परिणत चराचुरुङ्गी तथा वन्यजन्तुको समेत बासस्थानको रूपमा विकसित हुँदै गएको स्थानीय बासिन्दाको सामूहिक धारणा छ । चौथो सामुदायिक वन दिवसका अवसरमा सो समूहमा आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले वनको संरक्षण, संवद्र्धन र विकास गर्दै आएका उपभोक्ताले शुरु गरेको पर्यापर्यटन विकासमा सबै पक्षले चासोका साथ सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ कास्की र डिभिजन वन कार्यालय कास्कीद्वारा संयुक्तरूपमा आयोजित सो कार्यक्रममा वन क्षेत्रको खाली स्थानमा चाँप, लप्सी, तेजपात, निमारोलगायत विभिन्न जातका ३०० भन्दा बढी बिरुवा रोपिएको थियो । आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेका कास्की जिल्लामा हस्तान्तरण गरिएका ५११ सामुदायिक वन समूहले संरक्षण, संवद्र्धन र उपयोगसँगै सम्भाव्यता अध्ययनका आधारमा वनलाई समृद्धिसँग जोडिनु अपरिहार्य छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको