Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक वनमा तेजपात

सोमबार, ०२ भदौ २०७६, १५ : ३६ मा प्रकाशित

सामुदायिक वनमा तेजपात

अर्थ संसार, काठमाडौं– तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित विभिन्न सामुदायिक वनमा तेजपात (दालचिनी) का बिरुवा रोपन गरिएको छ । सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यले डिभिजन वन कार्यालय तनहुँको सहयोगमा चार सामुदायिक वनमा तेजपातको बिरुवा रोपन गरिएको हो ।

उत्तर फर्केका तथा चिसो हावापानी भएको क्षेत्रमा अन्य बिरुवाभन्दा तेजपातको राम्रो सम्भावना भएकाले मल्याङ, कवादी सालडाँडा, धुसेनी र बसनखन्डी सामुदायिक वनमा ३४ हजार ४०० तेजपातको बिरुवा रोपन गरिएको डिभिजन वन प्रमुख केदार बरालले बताउनुभयो । अनावश्यक झाडी भएको क्षेत्रको सदुपयोग गरी कम लगानी, थोरै मेहनत र छोटो अवधिमा सामुदायिक वनले राम्रो आम्दानी लिनसक्ने भएकाले खाली क्षेत्रमा तेजपात रोपेर पकेट क्षेत्र बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार बसनखन्डी सामुदायिक वनको चार हेक्टरमा छ हजार ४००, मल्याङ सामुदायिक वनको १० हेक्टरमा ११ हजार, साल्डाँडा धुसेनीमा १२ हजार र कवादी सामुदायिक वनको तीन हेक्टरमा पाँच हजार तेजपातको बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयको सहयोग र उपभोक्ताको सहभागितामा तेजपातको बिरुवा रोपिएकाले उक्त बिरुवा गोडमेल र संरक्षणको जिम्मेवारी उपभोक्ताको रहेको मल्याङ सामुदायिक वन समूहका अध्यक्ष खडनन्द पौडेलले बताउनुभयो ।

उहाँका अनुसार रोपिएकामध्ये ९० प्रतिशत बिरुवा जोगिएको छ । तेजपातको उचित संरक्षण र सम्वद्र्धन गरी यसबाट हुने आम्दानी चारवटै सामुदायिक वनले शतप्रतिशत उपभोग गर्न पाउने डिभिजन वन कार्यालयका प्रमुख बरालले बताउनुभयो । डिभिजन वन कार्यालयले आफ्नै नर्सरीमा तयार गरेको बिरुवाको बजार मूल्य प्रतिबिरुवा रु १० पर्ने भए पनि ती सामुदायिक वनलाई निःशुल्करूपमा बिरुवा उपलब्ध गराइएको थियो । उहाँका अनुसार रोपेको पाँचौँ वर्षबाट नै उत्पादन दिन सक्ने तेजपातको बजार भाउ पनि राम्रो रहेको छ ।

व्यावसायिकरूपमा तेजपात खेती गर्नसके स्वदेश तथा विदेशका विभिन्न जडीबुटी कम्पनी तथा मसला कम्पनीमा यसको उच्च माग छ । तेजपातको बोक्रा र पात मसलाका रुपमा घरायसी प्रयोजनका लागि उपयोगी मानिन्छ । तेजपातलाई तरकारी, मासु, पुलाउ आदिमा स्वाद र बास्नाका लागि प्रयोग गर्ने गरिन्छ ।

साथै पातबाट निकालिएको सुगन्धित तेल औषधि, खाद्य पदार्थ र पेय पदार्थलाई बासनादार बनाउन प्रयोगसमेत गरिन्छ । पात खाना पचाउन, पेटको दुखाई कम गर्न, आउँ परेको वाकवाक लाग्ने अवस्था रोक्न तथा यसको तेल दाँत दुखेको औषधिका रुपमा पनि प्रयोग गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको