Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटनः भुटानबाट के सिक्ने ?

बुधबार, ०४ भदौ २०७६, १३ : ३६ मा प्रकाशित

पर्यटनः भुटानबाट के सिक्ने ?

–निनाम कुलुङ ‘मंगले’

भुटानको कुरो गर्दा जनसंख्या र भूगोल दुवै आधारमा नेपालभन्दा धेरै सानो देश हो । तर सानो देश भए तापनि भुटानबाट हामीले पर्यटन प्रवद्र्धनका सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ । नेपाल जस्तै हिमाली र भू–परिवेष्ठित देश हो, भुटान । निश्चय नै भुगोल र जनसंख्याको आधारमा भुटान नेपालभन्दा सानो भए तापनि के–कसरी धेरैभन्दा धेरै गुणस्तरीय विदेशी पर्यटक भित्र्याउन सकिन्छ ? त्यसका लागि के–कस्तो खालको पर्यटन नीति, नियम, ऐन, कानुन आदि बनाउन उपयुक्त हुन्छ ? भन्ने सन्दर्भमा भन्ने हो भने नेपालले भुटानबाट धेरै नै सिक्न सक्छ । किनभने, हाल भुटान र नेपाल सरकारको पर्यटन सम्बन्धी सरकारी नीति, नियम, ऐन, कानुनहरुमा आकाश–जमीनको फरक देखिन्छ । किनभने भुटान सरकारले आप्mनो देशमा केवल विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वार–ह्वार्ती प्रवेश गराउदैन । यसरी हेर्दा भुटान सरकारले नेपाल सरकारले जस्तो गुणस्तर नहेरी जस्तो पायो त्यस्तो विदेशी पर्यटकलाई ह्वार–ह्वार्ती आफ्नो देशमा प्रवेशाज्ञा दिँदैन । यसले के देखाउँछ भने, भुटान सरकारको  ध्यान आफ्नो देशमा आउने विदशेी पर्यटकको संख्या थोरै नै होस्, तर, ती विदेशी पर्यटक गुणस्तरीय (धेरैभन्दा धेरै खर्च गर्न सक्ने लक्जरी/डिलक्स्) नै होस्, भन्नेमा निक्कै ध्यान दिएको देखिन्छ ।

 हुन पनि भुटान सरकाको मातहतमा रहेको पर्यटन सम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी) ले प्रकाशित गरेको भुटान सरकारको पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने के प्रस्ट हुन्छ भने कनै पनि विदेशी पर्यटकले भुटान छिर्ने बित्तिकै प्रति व्यक्ति दैनिक दुईसय अमेरिकी डलर खर्च गर्नै पर्छ । अझ भटानको विभिन्न क्षेत्रको भ्रमण गर्न टे्रकिङ, साईट सिन, जंगल सफारी, कल्चरल टुर, साईक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरेर पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रति व्यक्ति प्रति दिन खर्चको सीमा तोकिदिएको छ । जस्तो कि अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेब्रअरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर) मा प्रति व्यक्ति प्रति दिन दुईसय अमेरिकी डलरमा प्याकेज बुक गर्नु पर्छ भने, पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) प्रति व्यक्ति प्रति दिन दुईसय ५० अमेरिकी डलरमा बुक गर्नु पर्छ । त्यो पनि पर्यटकहरु भुटानमा रहँदा तीन तारे होटलमा बस्ने हो भने । अन्यथा चार तारे वा पाँच तारे होटलमा बस्ने हो भने त्यस्ता पर्यटकले अतिरिक्त प्रिमियम तिर्नु पर्ने भनी टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको छ । मुख्य कुरो यसरी भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तिमा तीनजना हुनै पर्ने नियम पनि राखेको छ, भुटान सरकारले । 

 त्यसो त भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी  पर्यटकबाट लिने दैनिक दुईसय र दईसय पचास अमेरिकी डलर (सिजन अनुसार) मध्ये ६५ अमेरिकी डलर ‘दिगो किासका लागि पर्यटन’ कार्यक्रमका लागि सरकारले ट्रेकिङ/ट्राभल अपरेटरहरुबाट कटौती गर्छ । सो रकम निःशुल्क शिक्षा, निःशुल्क स्वस्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च हुन्छ । हुन त भुटान भ्रमणमा आउने विदेशी पर्यटकले प्रति व्यक्ति प्रति दिन दुईसय र दुईसय ५० अमेरिकी डलर (सिजन अनुसार) तिरेपछि उनीहरुको खान्ते पिन्तेको खर्चसमेत भुटान रहुञ्जेल (व्यक्तिगत आवश्यक्त बाहेक) टे्रकिङ/ट्राभल कम्पनीले व्यहोर्छ । त्यस्तै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरु पनि दिएको देखिन्छ । जस्तो कि पाँच वर्षभन्दा कम उमेरको लालाबाला भए भिसा चार्ज ४० अमेरिकी डलर मात्रै बाँकी सम्पूर्ण खर्च निःशुल्क, पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट, विद्यालय÷विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्म भएको भए डेली प्याकेजमा २५ प्रतिशत छुट, ११ जनाको समूह भए डेली प्याकेजमा एकजनालाई ५० प्रतिशत छुट, १६ जनाभन्दा माथिको समूह भए डेली प्याकेजमा सत प्रतिशत छुट, आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टीमा ५०  प्रतिशत छुट, १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई सत प्रतिशत रोयल्टी छुट आदिको व्यवस्था गरेको देखिन्छ ।

उता भुटान भ्रमणमा आउने विदेशी पर्यटक मध्ये ५८.७६ प्रतिशत ट्राभल/टुर अपरेटरमार्फत बुक भएर आउने गरेको देखिन्छ भने भुटान आएका पर्यटक मध्ये ८३.८४ प्रतिशतको उदेश्य बिदा मनाउने रहेको देखिन्छ । तर भुटान आउने पर्यटकको बसाई भने कम अर्थात् प्रति दिन प्रति पर्यटक ६.३५ दिन मात्रै बस्ने गरेको देखिन्छ भने उनीहरु बिना गाईड आफुखुशी हिंड्न डुल्न पाउँदैनन् । हुन त नेपालमा भएको भए नेपाल आउने पर्यटकले गर्ने दैनिक खर्चको सीमा तोकिएको र बिना गाईड हिंड्न पाइदैन भन्ने सुन्ने बित्तिकै कतिपय पर्यटकहरु एयरपोर्टबाटै फर्कन्थे होलान् ! जे होस्, एउटा रोचक कुरो के छ भने भुटान जाने अधिकांश अर्थात् लगभग २५ प्रतिशत विदेशी पर्यटक नेपाल भएर जानेहरु छन् । जस्तो कि सन् २०१३ मा भुटान भ्रमणमा गएका कुल एकलाख ६० हजार विदेशी पर्यटक मध्ये ३४ हजार नेपाल भएर गएका थिए भने सन् २०१४ मा भुटान गएका कुल एकलाख ३० हजार पर्यटक मध्ये ३९ हजार विदेशी पर्यटक नेपाल भएर गएका थिए ।
त्यस्तै सन् २०१८ मा २ लाख ७४ हजार ७९ जना विदेशी पर्यटकले भुटान भ्रमण गरेको देखिन्छ । जुन सन् २०१७ को भन्दा ७. ६१ प्रतिशतले बढी हो । स्मरणीय छ, सन् २०१७ मा २ लाख ५४ हजार ७ सय ४ जना विदेशी पर्यटकले भुटान भ्रमण गरेका थिए ।   
 

पुछारमा     

भुटान सरकाको मातहतमा रहेको पर्यटन सम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी) ले प्रकाशित गरेको (आफ्नो वेबसाईटमा राखेको) आधिकारिक र प्रामाणिक भुटानी टे्रकिङ/गाइडहरुको सूची हेर्दा संयोगले दुई जना डाक्टरहरु (उनीहरु विरामी जाँच्ने मेडिकल डाक्टर नभएर सायद विद्यावारिधि गरेका विषयगत डाक्टरहरु होलान्) डाक्टर कर्मा वाङचुक र डाक्टर नोर्बु वाङचुक पनि छन् । त्यस्तै उक्त सूचीमा नेपाली मूलका गाइडहरुको नामसूची पनि लामै देखिन्छ भने केही हदसम्म महिलाहरुको पनि ठीकठीकैको सूची देखिन्छ । खासगरी यो पंक्तिकारलाई भुटानी गाइडहरुको नामसूची सम्बन्धमा किन पनि उल्लेख गर्न मन लाग्यो भने, नेपालमा ट्रेकिङ/टुर गाइडहरुको मान सम्मान र इज्जत भरियाको जत्ति पनि छैन भन्दा फरक नपर्ला ! हुन त नेपालमा को लाइसेन्सवाला गाइड ? को बिना लाइसेन्स्वाला गाइड ? नियमन गर्ने आधिकारिक निकाय नै छैन ! कहिलेकाही एमाले निकट मजदुर संगठन युनिट्राभले कतैकतै गाइडहरुको लाइसेन्स् चेक गर्ने गरेको देखिए तापनि लाइसेन्सवाला गाइडहरु कतिपय अवस्थामा चेक गर्ने ठाऊँमा आफ्नो लाइसेन्स् अरुलाई देखाउन दिएर आपूm वाध्यतावस भरिया भएर हिँंड्नु पर्ने (आफ्नो लाइसेन्स अरुले नै आफ्नो लाइसेन्स् हो भनी देखाएर हिँंड्ने गरेको) दुरुह अवस्था पनि नेपालमा विद्यमान छ।  त्यसो त कतिपय लाइसेन्स्वाला ट्रेकिङ गाइडहरुमा पनि मानवीय कमी कमजोरीहरु छन् नै । जे होस्, विगतदेखि नै (हालसम्म पनि) नेपालका टुर/ट्रेकिङ गाइडहरुको आर्थिक अवस्था कमजोर नै छ । किनभने, नेपालमा मौसमी रुपमा मात्रै टे्रकिङ/टुरमा काम पाइन्छ, दोस्रो भनेको यहाँ दैनिक ज्याला पनि धेरै कम छ । 

खासमा नेपालका टे्रकिङ/टुर कम्पनीहरु र टुर/ट्रेकिङ गाइडहरुलाई पनि उनीहरुले तालिम गर्दा पाएको ग्रेड, विषयगत ज्ञान, भाषागत ज्ञान, वरिष्ठता र क्लाइन्ट/गेस्टको कमेन्ट/रेकोमेन्डको आधारमा तलव, भत्ता र दैनिक ज्याला कम्पनीले दिनुपर्ने भनी नेपाल सरकारले तोक्नुपर्ने देखिन्छ । त्यसो गर्न सके नेपालका नेपाली टे्रकिङ/टुर गाइडहरु पनि अन्तराृष्ट्रिय स्तरको बन्न सक्छन् । अहिले त कस्तोसम्म देखिन्छ भने, केही टे्रकिङ/टुर कम्पनीहरु बाहेक अधिकांश टुर/ट्रेकिङ कम्पनीहरुले एक जना बाटो देखेको मान्छेलाई भरियामा पठायो अनि आफन्त र नाता–गोतालाईचार्हिँ गाइड बनाएर पठाउने नराम्रो प्रचलन धेरै अघिदेखि चल्दै आएको छ । यस्तो भएपछि साँचो अर्थमा नेपालको भूगोल, नेपाली जनताका जीवनस्तर, नेपालका हिमाल, नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह, जैविक विविधता, वनजंगल, खोलानाला, जडीबुटी, सरिसृप, उभयचर, जलचर आदिका बारे बुझ्ने चाहने विदेशी पर्यटकहरुले कम भन्दा कम जानकारी पाउँछ । अरु त अरु आफू बास बसेको ठाऊँमा बिहान कति बजे घाम झुल्कन्छ ? बेलुकी कति बजे अस्ताउँछ ? आफ्नो आँखै अगाडिको हिमालको नाम के हो ? भन्ने समेत थाहा नभएकाहरु पनि ट्रेकिङ गाइड बनेर भएर गएको यो पंक्तिकार स्वयम्ले धेरै ठाऊँमा, धेरै पटक देखेको भेटेको छ । जस्तो केही वर्षअघि अक्टोबर सिजनमा एबीसी/एमबीसीमा एकजना यस्तै ट्रेकिङ गाइड भेटिएको थियो । उनले बेलुकीको खाना (डिनर) पछि आफ्नो  क्लाइन्ट/गेस्टलाई ब्रिफिङ दिँदै भन्यो, ‘यहाँ बिहान ६ बजे नै घाम झुल्किन्छ । त्यसैले ५ बजे नै उठेर एबीसी जानू । म चाहिँ एबीसी जान्न !’ 

जबकि माछापुच्छ्र्रे हिमालले घाम छेक्ने भएकोले एमबीसीमा बिहानको लगभग १० बजे मात्रै घाम झुल्कन्छ, अक्टोबर सिजनमा । उसको क्लाइन्ट सुत्न गएपछि मैले ती गाइड भनाउँदोलाई भने, हेर भाइ, यहाँ बिहान १०बजे तिर मात्रै घाम लाग्छ । तिमीले त बिहान ६ बजे नै घाम झुल्किन्छ भन्यौ, के पारा हो ? ... ! ए ... दाइ, म गाइड गर्न सक्दिन भन्दा पनि समथिङ बेच्ने दाइले जबर जस्ती पठायो । मारे उसैलाई गएर मार्छ नि ! मलाई के मतलब .... ।

जे जस्तो भए तापनि भविश्यमा भुटान लगायतका देशहरुमा झैं गर्वका साथ डाक्टरहरु समेतले टुर/ट्रेकिङ गाइड गरेर खान सकुन , बाँच्न सकून् । यही कामना !
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको