Like us!
Follow us!
Connect us!
Watch us!

लामिछानेसहित तीनजनाको अनुसन्धान सकियो

निशा पाण्डे

आइतबार, ०८ भदौ २०७६, १४ : ०९ मा प्रकाशित

लामिछानेसहित तीनजनाको अनुसन्धान सकियो

अर्थ संसार, काठमाडौ-  पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ पर्नुभएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिनु भएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिनुभयो । अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उहाँले बताउनुभयो ।

सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उहाँको भनाइ थियो । अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घटनाको अनुसन्धान गर्दै आएको र बाह्य दबाब थेग्नु नपरेको जानकारी दिँदै उहाँले भन्नुभयो,“भिडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरी न्यायलयबाटै न्याय खोज्ने परम्परा थाल्नुपर्छ ।” घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफूलाई अनुसन्धानका लागि खटाएको र सोही अनुरुप आफ्नो काम सम्पन्न गरेको प्रहरी उपरीक्षक रेग्मीको भनाइ थियो ।


उहाँले यस मुद्दामा तीन प्रतिवादीमाथि लगाइएको दोष फरक फरक देखिएको भन्दै यसको निक्र्यौल अदालतले गर्ने बताउनुभयो । सरकारी वकिलले आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । सो कार्यालयमा बिहान १० बजे नै प्रहरीले प्रमाणसहितको फाइल र अभियुक्तलाई पेश गरेको थियो । प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो । सरकारी वकिलले आजै अदालतमा मुद्दा दर्ता गरेमा अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको बहस हुने बताइएको छ ।


लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । उनीहरु पक्राउसँगै समर्थकले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् । मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । यसै प्रकारका अन्य छ मुद्दा उक्त अदालत चितवनमा दर्ता भइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको