अर्थ संसार, काठमाडौ-बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ। बझाङमा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । नेपाल टेलिकमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ सम्ममा बझाङमा नेपाल टेलिकमका ग्राहक ९० हजारभन्दा बढी पुगिसकेका छन् । स्काई फोन प्रयोगकर्ता ३६ हजार र नमस्ते प्रयोगकर्ता लगभग ५० हजार रहेका छन् ।
त्यस्तै, नमस्ते पोष्टपेड प्रयोगकर्ताको सङ्ख्या पाँच हजार पुगेको छ भने स्काई पोष्टपेड प्रयोगकर्ताको सङख्या एक हजार ५०० पुगेको छ । टेलिकमले बझाङमा आफ्ना १८ वटा टावरबाट सेवा प्रदान गरिरहेको छ भने थप २ वटा टावर निर्माणको अन्तिम चरणमा पुगेको छ । मष्टा गाउँपालिकाको ढुङ्ग्राकोट र केदारस्युँ गाउँपालिकाको बाँझ स्यँुकोटमा टावर निर्माण अन्तिम चरणमा पुगेको छ ।
निर्माणाधीन उक्त दुई टावर सञ्चालनमा आएपछि जिल्लाभर २० वटा टावरबाट सेवा प्रदान गरिने भएको छ । टेलिकमका अनुसार बैतडी र बझाङको सिमाना जजल्लाबाट पनि सेवा दिइने भएको छ । त्यस्तै, बझाङका लागि प्रमुख टावरको रूपमा रहेको केदारस्युँ गाउँपालिकाको केदार र खप्तडछान्नामा रहेका बान्ता टावरको पनि स्तरोन्नति गरिने भएको छ । टावर जीर्ण हुँदै गएको र सोलार पुरानो भएकाले उक्त टावरमा सोलार र अन्य केही उपकरण पनि थप गरिने भएको छ ।
छविसपाथिभेराको लेकगाउँमा रहेको टावर बाहेक अरु सबै टावर सोलारबाट सञ्चालन हुँदै आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण बझाङका सहायक अधिकृत बमबहादुर सिंहका अनुसार जिल्लामा सञ्चालित सबै टावरहरुबाट इन्टरनेटको लागि ‘फोर जी’ सेवा पनि विस्तार गरिने भएको छ । फोरजी सञ्चालनका लागि सबै टावरहरूमा सर्भे भइसकेको सिंहले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस