Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो

dibesh

विहीबार, १९ भदौ २०७६, १२ : २० मा प्रकाशित

सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो

अर्थ संसार, काठमाडौ – शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिकले गत आर्थिक वर्ष २०७५/७६ को तेस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता अझै पाएका छैनन् । चालू आर्थिक वर्षको दुई महीना बित्नै लाग्दासमेत नगरपालिकाको लापरवाहीले गत वर्षको सामाजिक सुरक्षा भत्ता नपाएका हुन् ।
 
तेस्रो चौमासिक रकम बैंकमार्फत वितरण गर्ने बताएपछि हालसम्म वृद्धवृद्धाले रकम पाउन सकेका छैनन् । यहाँका नौ वडाका सामाजिक सुरक्षाभत्ता पाउने व्यक्ति रकम नपाउँदा निराश छन् । शैल्यशिखर नगरपालिका–४ रानीशिखरका रामपति भट्ट यसपालिको गौरा निकै खल्लो महसुस भएको बताउनुहुन्छ । गौराका लागि नयाँ लुगा लगाउने सपना पूरा नहुँदा गौराजस्तो चाडमा निराश हुुनुपर्यो उहाँले भन्नुभयो । नगरपालिकाले हरेक चार महीनामा वितरण गर्दै आइरहेको सामाजिक सुरक्षाभत्ता नपाउँदा नयाँ लुगा किन्ने र गौरा मनाउने सपनामा निराशा छाएको हो ।
 
शैल्यशिखर नगरपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणमा लापरवाही गरेपछि यहाँका सामाजिक सुरक्षाभत्ता पाउने ज्येष्ठ नागरिक दलित गैरदलित, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्ति, एकल महिला, विधवा महिला, दलित बालबालिका, लोपोन्मुख आदिवासीलगायतले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् । गत आर्थिक वर्ष २०७५/७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता रकम नपाएपछि भट्टजस्तै शैल्यशिखर नगरपालिकाका झण्डै दुई हजार बढी सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको गौरापर्व निराश भएको छ । 

तेस्रो चौमासिकको भत्तावापतको रकम जेठ या असार महीनामै पाउनुपर्नेमा आर्थिक वर्ष २०७६/७७ को दुई महीना बित्नै लाग्दा पनि रकम नपाउँदा उनीहरु निराश भएका छन् । सामाजिक सुरक्षा भत्ता पाउँदै आउनुभएका स्थानीय गोपी भट्ट भन्नुहुन्छ, “विगतमा गाविस, जिविस हुँदा सहजरूपमा भत्ता पाइन्थ्यो । अहिले झन् सिंहदरबार गाउँमै आएपछि सामाजिक सुरक्षाभत्ता पाउन सकस भएको छ । घरदैलोमा पाइने सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्ने भनेपछि वृद्धवृद्धा समस्यामा परेका छौँ”, उहाँले गुनासो गर्नुभयो । 

“बैंकमै पुग्न गाउँबाट तीन घण्टा लाग्छ, उकालो बाटो छ, बैंक पुगे पनि भनेअनुसार समयमै काम हुँदैन”, भट्टले भन्नुभयो । बुढेसकालमा दस्तखत मिल्दैन, अरुलाई पठाए बैंकले रकम दिन आनाकानी गर्छ उहाँको गुनासो छ । पहिले घरघरमा सामाजिक सुरक्षाभत्ता रकम पाइन्थ्यो, सहज थियो, अहिले त्यही रकम पनि समयमै आउँदैन ।
  
वडा नं ४ का वडाध्यक्ष देवदत्त भट्ट पनि सामाजिक सुरक्षाभत्ता रकमबारे अनविज्ञ हुनुहुन्छ । वृद्धवृद्धाले हामीलाई सामाजिक सुरक्षाभत्ता रकम माग्ने गर्छन्, उहाँले भन्नुभयो, “तर हामीलाई समेत किन वितरण भइरहेको छैन भन्नेबारे जानकारी छैन । एकले अर्कोलाई दोष देखाउँछन् । सामाजिक सुरक्षा रकम वितरणमा बदमासी गरेको आशङ्का छ”, उहाँले भन्नुभयो । 

शैल्यशिखर नगरपालिका–८ का वडासचिव मनोरथ जोशी सामाजिक सुरक्षाभत्ता अहिले वृद्धवृद्धाहरुको बैंक खातामा जम्मा भएको जानकारी आएको बताउनुहुन्छ । भदौ आधा भएपछि उनीहरुको खातामा जम्मा भएको मोबाइलमा म्यासेज पुगेको खबर छ, उहाँले भन्नुभयो, “किन ढिलाइ भयो भन्नेबारे जानकारी छैन ।
 
गत आर्थिक वर्षको दोस्रो चौमासिकको अन्तिमदेखि सबै सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्ने भनेपछि ढिलाइ भएको जनाइएको छ । हामीले समयमै निकासा दिएका  हौँ, शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले भन्नुभयो, तर बैंकमा तथ्याङ्क भेरिफिकेसनमा ढिलाइ भयो । गोकुलेश्वरस्थित मेघा बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको हो । बैंकमा कहिले इन्टरनेट कहिले तथ्याङ्क प्रमाणीकरणमा ढिलाइले गर्दा समयमै सामाजिक सुरक्षाभत्ता रकम दिन नसकिएको उहाँको भनाइ छ ।

अहिले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाका वडा नं १, २, ३, ५ र ८ का सेवाग्राहीले सामाजिक सुरक्षाभत्ता रकम पाएका छन् । बाँकी चार वडाका सेवाग्राहीको रकम निकासा भइरहेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको