Like us!
Follow us!
Connect us!
Watch us!

पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति

dibesh

विहीबार, १९ भदौ २०७६, १३ : ५० मा प्रकाशित

पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति

अर्थ संसार, काठमाडौ – एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ । 
    उक्त बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना, तिनको वर्तमान अवस्था र समयमै तिनलाई पूरा गर्न दाता, सरकार तथा कार्यान्वयनकर्ता निकायबीच आज राजधानीमा भएको त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिइएको हो । 
    बैंकले लगानी गरेका ३१ परियोजनामध्ये पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाले लक्ष्यअनुसार गति लिएका तथा अघिल्लो वर्षको साउन १५ गतेको तुलनामा २०७६ साउन १५ गतेसम्ममा समग्रमा सबै ३१ वटा परियोजनाको प्रगति सन्तोषजनक रहेको जनाइएको छ । 
    बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजनाको कार्यान्वयनमा निकै चुनौती रहेका भए पनि तिनको समाधानमा नेपाल सरकारले देखाएको तत्परताको सराहना गर्दै नेपालको सामाजिक–आर्थिक उन्नयन नै बैंकको मुख्य लक्ष्य हो भन्नुभयो । 
    उहाँले भूकम्प प्रभावित क्षेत्रमा १५४ वटा विद्यालय पुनःनिर्माण सम्पन्न हुन लागेका तथा विद्युत् उत्पादन तथा वितरण अभिवृद्धि परियोजनाको पनि प्रगति उल्लेख्य भएको जानकारी दिनुभयो । पछिल्ला वर्षमा बैंकले नेपाललाई अधिक ऋण उपलब्ध गराएको चर्चा गर्दै उहाँले सन् २०१८ मा ऋण रकम ५९ करोड २० अमेरिकी डलर पुगेको जानकारी दिनुभयो । 
    अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले निर्धारित समयमा परियोजना पूरा गर्नेतर्फ सम्बद्ध सबै पक्ष इमान्दारीका साथ लाग्नुपर्नेमा जोड दिँदै सरकारीस्तरमा हुनुपर्ने काम र सहजकर्ताको भूमिकाबाट आफूहरू नचुक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ––– रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको