Like us!
Follow us!
Connect us!
Watch us!
‘सरकारले राम्रो र नयाँ काम गरेर आर्थिक वृद्धिद्धरमा सुधार भएको होईन’

ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो : डा. महत

अर्थ संसार

शनिबार, २१ भदौ २०७६, १८ : ४२ मा प्रकाशित

ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो : डा. महत

अर्थ संसार, काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन् । उनले भने,‘सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै महतले सरकारले उपभोग्य कुरामा बढि खर्च गरेको गुनासो पोखे । सरकारले वास्तविक आवश्यकत्ता के हो भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।

महतले अहिलेपनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको सुनाए । उनले भने,‘ललितपुरका कतिपय सडकका समस्या अहिलेपनि समाधान भएकै छैनन् ।’ उनले यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । महतले १२ महिनै सुचारु हुने सडक बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

उनले अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको सुनाउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा भएको टिप्पणी गरे । तर, समृद्धि हाँसिल गर्न त्यति सजिलो नभएको महतको भनाई छ ।

उनले भने,‘आर्थिक विकास र समृद्धि हाँसिल त कठिन एक्सरसाईजबाट मात्रै सम्भव हुन्छ । आफ्नो साधन र स्रोतलाई सही ढंगले उपयोग गर्नुपर्छ । व्यवस्थापन र प्रशासकीय क्षमता अभिवृद्धि गर्नुपर्छ । पुँजी लगानीमा ध्यान दिनुपर्छ ।’अहिले देशमा भ्रष्टाचार, लुटतन्त्र र विभिन्न स्क्याण्डलका बारेमा कुरा उठेको पनि उनले सुनाए । उनले भने,‘संसदमा पनि यी विषयहरु उठेका छन् । हाम्रो पार्टी सडकमा उत्रिनुपर्ने आवश्यकत्ता छ ।’

महतले देशमा भएका तीन तहका सरकारबीच समन्वय र सहकार्य नभएको पनि गुनासो पोखे । उनले भने,‘अहिले देशभरि ७६१ सरकार छन् । तर, उनीहरुको बीचमा अधिकार र साधन स्रोतको बाँडफाँडको कारणले राम्रो सम्बन्ध छैन् । तीनै तहबीच अहिले प्रशस्त विवाद छन् । अधिकारको लागि तँछाडमछाँडको अवस्था छ । उनीहरुबीच अधिकार र शक्ति विभाजनको नाममा अहिलेपनि विवाद रहेको प्रष्ट छ ।’ संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय कानूनहरु अझैपनि संसदबाट पारित नभएको उनको अर्को गुनासो छ ।

त्यस्तै, संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय संरचनाहरु अझै बन्न नसकेको महतको आरोप छ । उनले भने,‘अझैपनि तीन तहका सरकारका क्षमता अभिवृद्धि भएको छैन् । तीन तहका सरकारको क्षमता अभिवृद्धिमा ध्यान पुगेको छैन् । विकास निर्माणका कामहरु अवरुद्ध भएका छन् ।’

विगतका सरकारले अघि बढाएका (कतिपय त रातो किताब) मा समेत परेका योजनाहरु रोकिएको उनले सुनाए । उनले भने,‘सडक, सिँचाई, खानेपानी लगायतका पाँच÷सात हजार योजनाहरु अहिले रोकिएका छन् । निर्माण कार्य सुरु भएका योजनाहरु यसरी रोकिँदा विकास कसरी हुन्छ ? कतिपय महत्वपूर्ण योजनाहरु लठाबज्र भएका छन् ।’

महतले सांसदहरुलाइ रकम दिने र जथाभावी नयाँ योजना सुरु गरिएकोप्रति पनि आक्रोश पोखे । पछिल्लो समय विलाषीमा बढि खर्च भैरहेको पनि उनले टिप्पणी गरे । महतले भने,‘अहिले उपयोगी वस्तु, तलब, भक्तामा बढि खर्च भैरहेको छ । पुँजीगत खर्च कम छ । राजश्वले प्रशासनिक खर्च धान्दैन् ।’ करदाताहरुको रकम व्यापक दुरुपयोग भएको उनको टिप्पणी छ ।

महतले पछिल्लो समय चुहावट बढिरहेको पनि सुनाए । उनले भने,‘कतिपय ठूला आयोजनामा लागतहरु डबल भएका छन् । मेलम्चीको लागत पनि डबल भएको छ ।’ उनले काम नगर्ने र गलत गर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने माग गरे ।
सरकारले खर्च बढाएकोमा पनि उनले असन्तुष्टि पोखे । उनले भने,‘सरकारले राष्ट्रिय ऋण बढाईरहेको छ । यो वर्ष ५ सय अर्ब ऋण पुर्याएको छ । जसमा आन्तरिकतर्फ २ सय अर्ब र बाहृयतर्फ ३ सय अर्ब छ ।’
उनले पञ्चायतपछि अर्थात २०४१ सालपछि आफूहरु सरकारमा आएपछि कुल ग्राहस्थ उत्पादनको ६० प्रतिशत ऋणलाई घटाएको पनि दाबी गरे । उनले भने,‘चार वर्ष पहिले पनि हामी नै सरकारमा हुँदा जि.डि.पी.को २५ प्रतिशतमात्रै ऋण थियो, अहिले त्यो बढेर ३० प्रतिशत पुगेको छ ।’

महतले वर्तमान सरकारले काम गर्ने र उत्पादकत्व बढाउने कल्चरको विकास गर्नुपर्नेतर्फ पनि सुझाव दिए । तर, सरकारले त पार्टीकरणमा बढि ध्यान दिएको उनको आरोप छ । उनले भने,‘नेपालमा भएको जनशक्तिको पनि सही सदुपयोग भएको छैन् । दक्ष र क्षमता भएका मान्छेले पनि पार्टीको मान्छे नभएको कारण मौका पाएका छैनन् । प्रशासनमा पनि अहिले राजनीतिकरण भएको छ ।’

उनले आर्थिक वृद्धिदर ७ प्रतिशत हाँसिल गरेको भन्ने वर्तमान सरकारको दाबीमा पनि सत्यता नरहेको जिकिर गरे । उनले भने,‘सालाखाल ६ प्रतिशत वृद्धि भएको छ । ६ प्रतिशत वृद्धि हुनुपनि राम्रै कुरा हो, तर कसरी ७ प्रतिशत वृद्धिद्धर हाँसिल भयो भन्ने कुरा मैले बुझेको छैन् ।’ उनकाअनुसार वर्तमान सरकारले अहिलेपनि तल्लो तहसम्मै तथ्यांक बढाईचढाई गर्न दबाब दिएको आशंका छ ।

आर्थिक वृद्धिदर राम्रो हुनुमा उनले भुकम्पपछिको पुनर्निर्माण रकमको व्यवस्था र विद्युत प्राधिकरणले विद्युत चुहावट रोक्नुलाई मुख्य आधार मानेका छन् । तर, सरकारले राम्रो र नयाँ काम गरेको कारण आर्थिक वृद्धिद्धरमा सुधार नभएको उनको जिकिर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा मात्रै २४ अर्वको योजना परेको भन्दै उनले राज्यको ढुकुटीको दुरुपयोग गर्न नहुने धारणा राखे । सरकारले शक्तिको ज्यादै दुरुपयोग गरिरहे कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रम सुरु गर्ने पनि उनले चेतावनी दिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको