अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली लागु गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका  कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौता भएपश्चात ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को  बैंकको जुन सुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन् । रकम पठाउने ब्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ ।
राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । चालु आ.व.२०७५/०७६ को चौथो त्रैयमास सम्म बैंकले १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैंया कर्जा लगानी गरि ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।
 उक्त समारोहमा नेपाल राष्ट्र बैंकका निर्देशक आनन्द पौडेल, उप निर्देशक टेकराज भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख रिको स्थापित लगायतको उपस्थिती  रहेको थियो ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस