Like us!
Follow us!
Connect us!
Watch us!

डोटि जिल्लाका प्रमुख व्यापारी केन्द्रमा खुलेनन् सुपथ मूल्यका पसल

dibesh

मंगलबार, १४ असोज २०७६, ११ : ३० मा प्रकाशित

डोटि जिल्लाका प्रमुख व्यापारी केन्द्रमा खुलेनन् सुपथ मूल्यका पसल

अर्थ संसार, काठमाडौ – जिल्लाका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन् । सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएको भन्दा महङ्गो मूल्यका सामान किन्न बाध्य छन् ।

साल्टट्रेडिङ कर्पोरेशनको उपशाखा कार्यालयले दशैँ–तिहारका लागि  दिपायलस्थित पिपल्लालगायतका मुख्य बजारमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो । सुपथ मूल्यको पसलमा आवश्यक पर्ने चिनी, नुनलगायतका खाद्यान्न दिपायलका लागि ढुवानी ठेक्का कसैले पनि नहालेका कारण सुपथ मूल्य पसल सञ्चालन गर्न नसकेको साल्टट्रेडिङ कर्पोरेशन उपशाखा कार्यालयले जनाएको छ ।

साल्टट्रेडिङ उपशाखाले सुपथ मूल्यको पसल सञ्चालन नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । साल्टट्रेडिङले पसल नचलाउने नाममा विभिन्न बाहना देखाउन थालेको पूर्वउद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “ढुवानी ठेक्का नहुँदा पसल नचलाएको भन्नु साल्टट्रेडिङ कर्पोरेशनको गैरजिम्मेवार भनाइ हो, नागरिकले पाउने सुविधाबाट बञ्चित गराउनु गलत छ ।”

बजारमा हाल चिनी रु ९५ र नुन रु २५ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । दशैँमा बजारमा व्यापारीले आफूखशी मनपरी रकम असुल गर्न थालेको स्थानीयवासी भरतबहादुर विकले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले सुपथ मूल्यको पसल सञ्चालन नभएको विषयमा आवश्यक जानकारी लिई सञ्चालन गर्न पहल गर्ने बताउनुभयो । 

यतिमात्र नभई गत वर्ष खरीद गरिएको चिनीको मूल्य निर्धारण अर्थात रकम नतोकिएको भन्दै साल्टट्रेडिङ कर्पोरेशनले खरीद गरी ल्याएको चिनीसमेत गोदाममै थन्किएको छ । गत वर्ष यहाँका केही स्थानीय तहले सञ्चालन गरेका सुपथ मूल्य पसल पनि यो वर्ष सञ्चालन हुन सकेका छैनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको