Like us!
Follow us!
Connect us!
Watch us!

‘स्मार्ट’ बन्दै काभ्रेपलाञ्चोक मालपोत, सबै पालिकाबाट अनलाइन सेवा

dibesh

बुधबार, १५ असोज २०७६, ११ : ३० मा प्रकाशित

‘स्मार्ट’ बन्दै काभ्रेपलाञ्चोक मालपोत, सबै पालिकाबाट अनलाइन सेवा

अर्थ संसार, काठमाडौ – जिल्ला सदरमुकाम धुलिखेलस्थित मालपोत कार्यालय ‘स्मार्ट’ बन्ने तरखरमा छ । ‘स्मार्ट मालपोत’का लागि कार्यालयले अवधारणात्मक सूचक पूरा गर्दैछ ।

स्मार्ट मालपोतको अवधारणा लागू गर्न काभ्रेपलाञ्चोक मालपोत कार्यालयले विसं २०७३ पुस ६ गतेदेखि साविक नौ गाविसबाट शुरु गरेको अनलाइन सेवा हाल सबै पालिकाबाट प्रदान गरेको छ । अनलाइन सेवालाई थप प्रभावकारी र सेवा प्रवाह छिटोछरितो गर्न २०७६ भदौ ३० गतेदेखि भू–सेवा केन्द्र शुरु गरेको, कार्यसम्पादनमा पारदर्शीताको उद्देश्यले कार्यालयमा ‘आइपी’ क्यामेरा जडान गरी सबै कर्मचारी कार्यकक्षको कामको अवलोकन कार्यालय प्रमुख, तालुक विभाग तथा मन्त्रालयबाट प्रत्यक्षरुपमा हुने गरेको, कार्यालयमा सेवाग्राहीका लागि नागरिक बडापत्र, सहायताकक्ष, गुनासो सुन्ने अधिकारी तथा सूचना अधिकारीको व्यवस्था गरिएको, सेवाग्राहीका लागि बस्ने डेस्क–बेन्च, खानेपानी तथा छुट्टै शौचालयको व्यवस्था गरिएको र कार्यालयको छुट्टै वेवसाइट, इमेलको व्यवस्था गर्दै कार्यालयलाई पूर्णरुपमा प्रविधिमैत्री बनाउँदै लगिएको छ ।
 
“हामी स्मार्ट मालपोत बनाउने अभियानमा छौँ, करीब–करीब स्मार्ट मालपोत अवधारणाका सूचक पूरा हुँदैछन्”, जिल्ला मालपोत प्रमुख शालिकराम आचार्यले भन्नुभयो । उहाँका अनुसार स्मार्ट मालपोत बन्नका लागि हालै स्थापित भू–सेवा केन्द्रले प्रमुख भूमिका खेल्नेछ । कार्यालयबाट हालसम्म ५२ भू–सेवा केन्द्रले अनुमति लिई काम गर्दैछन् ।
 
स्मार्ट मालपोत कार्यालयको अवधारणा लागू भएपछि हाल गर्दै आएको लेखापढी प्रावधान हट्ने तथा आवश्यक जानकारी इन्टरनेट जडित कम्प्युटरमा इन्ट्री मात्रै गर्नुपर्ने हुन्छ । कार्यालय प्रमुख आचार्यका अनुसार स्मार्ट मालपोतका लागि जग्गाको नामसारी वा खरीदबिक्री गर्न लेखापढी गर्नुपर्दैन, जग्गाको कित्ता नम्बर, जग्गाको क्षेत्रफल, जग्गा रहेको स्थान, सम्बन्धित जग्गाधनीको नाम र परिचय खुल्ने विवरण राखेपछि जग्गाको कागजातसम्बन्धी सम्पूर्ण काम कम्प्युटरबाटै हुन्छ ।

मालपोत अधिकृतको रोहबरमा जग्गाधनीको मञ्जुरीमा अनुहार र औँठाको छाप ‘बायोमेट्रिक’ गरेपछि सम्बन्धित अधिकारीले नामसारी वा खरीदबिक्रीलाई प्रमाणित गर्ने व्यवस्था स्मार्ट कार्यालयमा हुन्छ । कार्यालय प्रमुख आचार्यले भन्नुभयो, “स्मार्ट मालपोतमा सरकारी अधिकृतले नै आवश्यक कागजातको रुजू गर्छन्, इलेक्ट्रोनिक कपी तयार गरी सिष्टममा सुरक्षित हुन्छ, यसपछि मालपोत कार्यालयमा लेखापढी गर्नेहरुको आवश्यकता पर्दैन ।”
 
कार्यालयबाट भू–सेवा केन्द्रमार्फत लिखत पारित (राजिनामा, बकस, छोडपत्र र सगोलनामा), नामसारी, रोक्का/फुकुवा, हालसाविक, प्रतिलिपि, विद्युतीय अभिलेख संशोधन र दाखिल खारेजको काम भइरहेको मातपोत अधिकृत रमेश पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब हाम्रो सिष्टमलाई फलो गरी घरबाटै जग्गा प्रशासनसम्बन्धी निवेदन दिन सकिनेछ ।” भू–सेवा केन्द्र मार्फत भएका कार्यसम्पादनको सकारात्मक र नकारात्मक पक्षको अनुगमन भइरहेको उहाँले बताउनुभयो । अनलाइन सेवाबाट कार्यालयलाई तथ्याङ्कमा सरलता, राजश्व रकम गणनामा सहजता तथा पारदर्शिता हुने, कीर्ते कारोवारमा न्यूनीकरण, जग्गाको हदबन्दी कार्यान्वयनमा सहज, अनलाइन अनुगमन तथा सेवाग्राहीलाई प्रणालीमा पहुँच र सुरक्षाको प्रत्याभूतिसम्बन्धी फाइदा पुग्ने पनि उहाँले जानकारी दिनुभयो ।
     
काभ्रेपलाञ्चोकमा हाल व्यक्तिगत जग्गाधनी तीन लाख ३१ हजार ५०० को पाँच लाख ६७ हजार ६३ कित्ता जग्गा रहेको तथा १६ हजार ६५० कित्ता सरकारी सार्वजनिक जग्गा रहेको कार्यालयले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभर रहेका १३१ मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा जडान गर्दै जाने योजना मुताविक काठमाडौँको कलङ्की र साँखु मालपोत कार्यालयलाई नमूना स्मार्ट कार्यालयका रुपमा घोषण गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको