Like us!
Follow us!
Connect us!
Watch us!

आठ वर्षदेखि अलपत्र बसपार्क काउन्टर भवन

dibesh

शुक्रबार, १७ असोज २०७६, ११ : ३१ मा प्रकाशित

आठ वर्षदेखि अलपत्र बसपार्क काउन्टर भवन

अर्थ संसार, काठमाडौ – गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा निर्माणाधीन टिकट काउन्टर भवन अलपत्र परेको छ । विसं २०६८ बाट निर्माणकार्य शुरु भएको भवन सरकारी निकायले प्राथमिकता नदिँदा बर्षैँदेखिअलपत्र परेको हो । भवन अलपत्र पर्दा बसपार्क पनि व्यवस्थित हुनसकेको छैन । वर्षाको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुनु उदिनढुङ्गा बसपार्कको विशेषता बनेको छ । जसले गर्दा यातायात व्यवसायी तथा स्थानीयवासीले हैरानी खेप्दै आएका छन् । बसपार्कको आधार निर्माण गरेकै करीब दुई दशक भयो, तर अझै व्यवस्थित हुनसकेको छैन । 

बसपार्क व्यवस्थित बन्ने आसमा स्थानीयवासी ओमबहादुर थापा, प्रेम थापा, महा शर्मा भण्डारीलगायतले चार रोपनी जग्गा दिनुभयो । तर, वर्षौ बिते आशा पूरा भएन । बरु हिलो र धुलोसँगैको दुर्गन्धले पीडित बन्नुपरेको छ । “राम्रो र व्यवस्थित बसपार्क बनाउने भन्दै जग्गा मागे, हामीले दियौँ ।” जग्गादाता ओमबहादुर थापाले भन्नुभयो, “अहिले आशा निराशामा परिणत भएको छ ।” त्यसका साथै उहाँले बसपार्कमा बन्न शुरु गरेको भवन अझै पूरा नहुनु र २० वर्षसम्म पनि बसपार्क व्यवस्थित हुन नसक्नु दुखद् विषय भएको बताउनुभयो । बसपार्कको आधा भाग नै भवनले ओगटेको छ । त्यसलाई स्थानीय र व्यावसायीहरुले गलत डिजाइन भन्दै आएका छन् । जथाभावी पार्किङ, ग्यारेज र यात्रुको फोहरले बसपार्क दैनिक प्रदूषित बन्दै गएको स्थानीयवासी महेश्वर घिमिरेले बताउनुभयो । 

ठेक्का लगाएर पार्किङ शुल्क लिँदै नगरपालिका 
 
बसपार्क व्यवस्थित नहुँदा वर्षौँदेखिको समस्या यथावत छ । तर बसपार्क व्यवस्थापन गर्नुको सट्टा रेसुङ्गा नगरपालिकाले ठेक्का लगाएर पार्किङ शुल्क लिइरहेको छ । तर नागरिक र व्यवसायीहरुले पार्किङ शुल्क लिएजस्तो सुविधा नभएको गुनासो गर्छन् । स्थानीयवासीले बसपार्क व्यवस्थित गर्न नगरपालिकासँग पटक–पटक माग गरेका छन् । नगरपालिकाले भने केहीबेर थुमथुम्याउने काम मात्रै गरिरहेको बसपार्कमै मोटरपार्टसको व्यावसाय गर्दै आउनुभएका वीरेन्द्र श्रेष्ठले बताउनुभयो ।

स्थानीयवासीले बसपार्क व्यवस्थित गरी कालोपत्र गर्नुपर्ने माग गरे पनि पूरा भएको छैन । कुनै पनि बसपार्कमा पार्किङ शुल्क लिनु नियमसङ्गत छ । तर, गाडी फर्काउनकै लागि लैजानु वा कुनै व्यक्तिगत प्रयोजनका लागि गाडी पुर्याएर पार्किङ शुल्क लिनु कति उचित र? बसपार्कमा यस्तै अनावश्यक पार्किङ शुल्कले पनि स्थानीयवासी आजित भएका छन् । “आफ्नै घरमा गाडी ल्याएको पार्किङ शुल्क तिर्नुपर्छ ।” बसपार्कका एक जग्गादाता महाशर्मा भण्डारीले भन्नुभयो, “विकासप्रेमी भएर निःशुल्क जग्गा प्रदान गर्नेहरुले नै अहिले उल्टै घर आउँदा पार्किङ शुल्क तिर्नुपरेको छ ।”

ट्राफिक व्यवस्थापनमा चुनौती

पछिल्लो समय बसपार्कमा भन्दा सडकमै धेरै सवारी साधन रोकिन्छन् । अहिलेकै अवस्थामा ३० प्रतिशत बस, मिनीबस र जिपहरु मात्रै बसपार्कमा हुन्छन् । ७० प्रतिशत सवारीको पार्किङ सडक छेउ नै हो । जसका कारण दशैँतिहारलाई केन्द्रित गरेर कुनै पनि सवारी साधनलाई दिउँसोमा सामान लोड–अनलोड गर्न नपाइने, होटलबाट यात्रु राख्ने र झार्न नपाइने नियम बनाइएको छ । तर, त्यो नियम कार्यान्यनमा समस्या देखिएको छ । साँघुरो सडकमा सवारी साधन बढी र पार्किङको लागि बसपार्कको राम्रो व्यावस्था नभएकाले निकै मुस्किल परेको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक प्रविण आचार्यले बताउनुभयो । 
 
बसपार्क व्यवस्थित नभएको र निर्माणाधीन भवन अलपत्र परेको कारण उदिनढुङ्गा चोकको ओरालोमा काउन्टर छन् । नागरिकको दैनिक भीड हुन्छ । ओरालो चोकको कारण दुर्घटनाको सम्भावनासमेत त्यत्तिकै रहेको छ । गुल्मी यातयात व्यावसायी समितिका कार्यालय प्रमुख डोलबहादुर कुँवरले काउन्टरको लागि जग्गा प्राप्त भए पनि काम नहुँदा बाटोमै भाडामा काउन्टर लिएर गाडी छुटाइरहेको गुनासो गर्नुभयो । 
 
बिनासम्झौता पार्किङ शुल्क

पार्किङ शुल्क उठाउनको लागि रेसुङ्गा नगरपालिकाले बोलपत्र आह्वान ग¥यो । सुयोशा कन्ट्रन्सनले बोलपत्र पायो पनि । यसरी बोलपत्र प्राप्त गरिसकेपछि सम्झौताअनुसार काम सञ्चालन गर्नुपर्ने कानूनी मान्यता छ । उदिनढुङ्गा बसपार्कमा कन्ट्रक्सनले बिनासम्झौता पार्किङ शुल्क उठाइरहेको छ । यस सम्बन्धमा रेसुङ्गा नगरपालिकाका सूचना अधिकारी शङ्करप्रसाद गौतमले निर्माण व्यवसायीले एकैपटक अपुरो रकम बुझाउन खोजेकाले सम्झौता नगरिएको प्रतिक्रिया दिनुभयो । पार्किङ शुल्क उठाउनको लागि कन्ट्रक्सनले रु तीन लाख ५० हजार २०० मा ठेक्का लिएको छ । 

तीन करोड ६० लाख फ्रिज

पहिले शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पा मातहतमा रहेको भवन अहिले शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, रुपन्देही मातहतमा छ । निर्माणाधीन भवनमा शौचालय, प्रहरी बिट, टिकट काउन्टरलगायतका कोठाहरुको डिजाइन गरिएको छ । विसं २०६८ बाट निर्माणकार्य शुरु भएको भवनको रु चार करोड ९१ लाखको लगतअनुमान छ । तर, अहिलेसम्म रु ६० लाखको मात्र काम भएको छ । जसमध्ये भ्याटबाहेक रु ५० लाख ३३ हजार भुक्तानी भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिभत्त श्रेष्ठले जानकारी दिनुभयो । त्यसपछि ०७४ को वैशाखमा रु तीन करोडको बोलपत्र आह्वान भयो । तर, शहरी विकासले मूल्याङ्कन गरिदिएन । जसले गर्दा विनियोजित रकम पनि कार्यान्वयन हुन सकेन । अहिले विसं २०७६ वैशाखमा रु ६० लाख विनियोजन भयो । बोलपत्र गर्ने समय पुगेन भने बसपार्क व्यवस्थापन समितिले काम नगर्दा त्यो पनि फ्रिज भयो । भवनका लागि हालसम्म विनियोजित रु तीन करोड ६० लाख फ्रिज भएको छ । पटक–पटक विनियोजन गरेको बजेटबाट काम नभएपछि यो वर्ष सरकारले रु पाचँ लाख विनियोजन गरेको छ । 

पार्किङ शुल्कको सम्बन्धमा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले निर्माण व्यवसायीले आफुखुशी पार्किङ शुल्क लिएको आरोप लगाउनुभयो । त्यसका साथै नियमलाई अटेर गरी नियमविपरीत पार्किङ शुल्क लिने निर्माण व्यवसायीलाई कारवाही गर्ने समेत उहाँले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको