Like us!
Follow us!
Connect us!
Watch us!

दुई विद्यालयमा तलब रोक्का

अर्थ संसार

बुधबार, २९ असोज २०७६, ०८ : ०६ मा प्रकाशित

दुई विद्यालयमा तलब रोक्का

अर्थ संसार, जुम्ला-चन्दननाथ नगरपालिका जुम्लाले दुई विद्यालयकोे खाता रोक्का गरेको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुई विद्यालयको खाता रोक्का गरेको हो ।

चन्दननाथ नमूना मावि र कर्णाली मावि अनामनगर जुम्लाको खाता नगर शिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुख कान्तिका सेजुवालको आदेशमा रोक्का गरिएको हो । गएको साउन ३ गते नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अवधि सकिएको भन्दै नयाँसमिति गठन गर्न परिपत्र गरेको थियो ।

नगरपालिकाभित्र रहेका १९ विद्यालयमध्ये चन्दननाथ र कर्णाली माविले समिति गठन गर्न अटेर गरेको भन्दै नगरपालिकाले विद्यालयको खाता रोक्का गरेको हो । नगरपालिकाले खाता रोक्का गरेका कारण चन्दननाथ माविका ३० शिक्षक र ४० ज्याला मजदूरले यस वर्षको दशैँ मनाउन पाएनन् । जिल्ला बाहिरका शिक्षकलाई रु ३० हजारदेखि ५० हजार विद्यालयको आन्तरिक खाताबाट दिएर दशैँ मनाउने वातावरण सिर्जना गरिएको चन्दननाथ नमूना मावि जुम्लाका प्रधानाध्यापक टङ्क महतले जानकारी दिनुभयो ।

शिक्षकमाथि नगरपालिकाले अमानवीय व्यवहार गरेको भन्दै उहाँले तिहारसम्म तलब निकासा नभए अदालत जाने बताउनुभयो । श्रम गरी जीवन जिउने शिक्षकलाई दशैँमा नगरपालिकाले बिजोग बनाएको महतले बताउनुभयो । विद्यालयमा कार्यरत शिक्षकले तलबभत्ता नपाउँदा यस वर्षको दशैँ ऋण गरी मनाएको उहाँको भनाइ छ । विद्यालय व्यवस्थापन समितिको विषयलाई जोडेर विद्यालयको खाता रोक्का गर्नु नगरपालिकाको गैरजिम्मेवार काम भएको उहाँको आरोप छ । ऋण गरी दशैँ मनाउनुपर्ने अवस्था नगरपालिकाले सिर्जना गरेको उहाँले बताउनुभयो ।

यसैगरी कर्णाली मावि अनामनगरमा कार्यरत १९ शिक्षकले तलब पाएका छैनन् भने विशेष कक्षाका ३४ र फिडर छात्रावासका २० छात्राका लागि चाहिने रकम नहुँदा उनीहरुलाई समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन बुढथापाले बताउनुभयो । विद्यालय व्यवस्थापनको विषयलाई लिएर नगरपालिकाले दशैँमा शिक्षकलाई निराश र ऋण निकालेर मनाउने अवस्था सिर्जना गरेको उहाँको भनाइ छ ।

अध्यक्ष बुढथापाले शिक्षा ऐन, २०२८ को नवौँ संशोधनको नियम १२ अनुसार गठित विद्यालय व्यवस्थापन समितिको पदावधि तीन वर्ष रहने र नगर शिक्षा कार्यविधि, २०७५ मा पनि सोही व्यवस्था भएकाले चन्दननाथ नमूना माविका अध्यक्ष र आफ्नो कार्यकाल नसकिएको जानकारी गराउनुभयो । विसं २०७४ मा गठन भएको विद्यालय व्यवस्थापन समिति (विव्यस) को समयावधि अझै एक वर्ष बाँकी रहेको बुढथापाले बताउनुभयो । तर नगर शिक्षा समितिले सिधै विव्यस भङ्ग गरी नयाँ गठन गर्न साउन ३ मा परिपत्र गरेको थियो ।

शिक्षा ऐनको व्यवस्था र परिपत्रबीच कुरा बाझिँदा विव्यस गठन गर्न नसकिएको उहाँको भनाइ छ । आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेकाले तत्काल नयाँ समिति गठन नहुने बुढथापाले बताउनुभयो । न्यायका लागि अदालतमा जाने भन्दै उहाँले स्थानीय सरकार आइसकेपछि अप्ठ्यारो बनाएको आरोप लगाउनुभयो । नगरप्रमुख सेजुवालका अनुसार भदौ मसान्तसम्म सबै विद्यालयमा नयाँ विव्यस गठन गर्न परिपत्र गरिएको भन्दै १९ विद्यालयमध्ये दुई विद्यालयले तीन पटकसम्म ताकेता गर्दा पनि विव्यस गठन नगरेको बताउनुभयो ।

नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नभएको भन्दै उहाँले दुई विद्यालयको खाता रोक्का गरिएको बताउनुभयो । उहाँले नगर शिक्षा समितिको निर्णयलाई अवज्ञा गरेका कारण बाध्यात्मक अवस्थामा खाता रोक्का गरिएको जानकारी गराउनुभयो । कार्यपालिकाको निर्णयलाई कार्यान्वयन नगर्नु विद्यालयले अटेरी गरेको उहाँको भनाइ छ । अदालतको बाटो खुला रहेको भन्दै उहाँले अदालत जान पाउने अधिकार रहने बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको