Like us!
Follow us!
Connect us!
Watch us!

पुरानो बिक्री नहुँदै नयाँ सङ्कलन पुर्जी

dibesh

विहीबार, ३० असोज २०७६, १० : २६ मा प्रकाशित

पुरानो बिक्री नहुँदै नयाँ सङ्कलन पुर्जी

अर्थ संसार, काठमाडौ – अघिल्लो आर्थिक वर्षको सेतक चिनी (खिरौलो) बिक्री नहुँदै नयाँ सङ्कलनका लागि अनुमति दिइएको छ । बहुमूल्य जडीबुटी सेतक चिनी उच्च लेकाली भूभागमा पाइन्छ । 

जिल्लाको बारेकोट गाउँपालिका–४ स्थित पाटनमा पाइने सेतक चिनी व्यापारीले अघिल्लो वर्ष सङ्कलन गरे पनि बिक्री गर्न नपाएको बेला नयाँ सङ्कलनका लागि अनुमति दिइएको हो । डिभिजन वन कार्यालय जाजरकोटले व्यापारीलाई सेतक चिनी सङ्कलनका लागि नयाँ अनुमति दिएको छ ।
 
अहिले बारेकोटका जङ्गलमा सेतक चिनी निकाल्नका लागि पाटनभरि सयौँ स्थानीयवासी पुगेका छन् । वर्षेनी यहाँका सामुदायिक वन समूह र राष्ट्रिय वन समूहमा जथाभावी सेतक चिनी सङ्कलन हुँदै आएको छ । सामुदायिक वन उपभोक्ता समितिको मिलेमतोमा जथाभावी सेतक चिनी निकाल्ने काम भएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी यहाँका सामुदायिक वनबाट सेतक चिनी निकालिएको हो । सयौँ क्विन्टल पुरानो सेतक चिनी जिल्लाको दल्ली, कालिमाटीलगायतका ठाउँमा ढुवानीका लागि अनुमति नपाएर थन्किएको बेला नयाँ सेतक चिनी सङ्कलनका लागि अनुमति दिँदा थप समस्या आएको छ । पुरानो सेतक चिनी बिक्री नभएर तनाव भएको बेला नयाँ सङ्कलन गरी काम अगाडि बढाउँदा थप समस्या परेको व्यापारी खिमबहादुर शाहीले बताउनुभयो । केही सेतक चिनी चोरबाटो निर्यात भए पनि अधिकांश जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न ठाउँमा थन्किएको छ । 

निकासीको छुटपुर्जी नपाउँदा ५ दर्जन व्यापारी मर्कामा परेका छन् । वन विभागमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृतिमा भएको ढिलाइले छुट पुर्जी नपाउँदा सेतक चिनी पाटनमै थन्किएको हो । पुर्जी अभावमा समयमा निकासी गर्न नपाउँदा व्यापारीको करोडौंको लगानी डुब्न थालेको छ । उक्त जडीबुटी निकासीका लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत नहुँदा डिभिजन वन कार्यालयले छुटपुर्जी दिन नसकेको हो । 

प्रतिवेदन स्वीकृतमा ढिलाइ हुँदा सेतक चिनीका व्यापारीलाई मर्का पर्नुका साथै लाखौं राजस्वसमेत डुब्ने खतरा बढेको डिभिजन वन कार्यालयले जनाएको छ । सेतक चिनी कुहिन र चोरी हुन थालेपछि कतिपय व्यापारीले अवैध तरिकाले निकासी गर्न थालेका छन् । 

बारेकोट गाउँपालिका–४ स्थित ढोटेचौर समुदायिक वन समूहलगायत ठाउँमा सेतक चिनी जथाभावी निकाल्ने काम भएको छ । सामुदायिक वनले सङ्कलनकर्ताबाट कुनै पनि रकम नलिएरै सङ्कलन गर्न दिएको पाइएको छ । वर्षेनी यसरी नै यहाँका सामुदायिक वनबाट जडीबुटी सङ्कलन भएमा सबै नास हुने वातावरणविद्को भनाइ छ । डिभिजन वन कार्यालयले समेत चासो नदेखाउँदा दैनिक समस्या थपिदै गएको छ । स्थानीय सरकार, समुदायिक वन, डिभिजन वन कार्यालयले समेत चासो नदिँदा समस्या हुँदै आएको छ ।
 
सामुदायिक वनबाट कति मात्रामा जडीबुटी निकाल्न मिल्ने हो भन्नेसम्म थाहा नपाई जथाभावी जडीबुटी निकाल्दा वातावरणमा पर्ने प्रभाव हिसाब नभएको विज्ञहरु बताउँछन् । सेतक चिनी सङ्कलन गरी पकाएर बनाउँदा जङ्गलसमेत जथाभावी काटेर विनाश भएको छ ।
 
गाउँपालिकाले सेतक चिनीको राजश्व जम्मा गरेनन् 
 
अघिल्लो आर्थिक वर्षमा सेतक चिनी सङ्कलनका लागि आफैँ अनुमति दिएको बारेकोट गाउँपालिकाले राज्यको मूलखातामा राजश्व जम्मा नगरेको पाइएको छ । मलेपको प्रतिवेदनमा बारेकोट गाउँपालिकाले लाखौँ रकम मूलखातामा नफर्काएको देखिएको छ । गाउँपालिकाले सङ्कलनपुर्जी दिन नमिल्ने भए पनि जथाभावी दिँदा समस्या उत्पन्न भएको डिभिजन वन कार्यालयले जनाएको छ । यो वर्ष भने जथाभावी सङ्कलन भए पनि कसैले त्यसतर्फ चिन्ता व्यक्त गरेका छैनन् । ––– रासस

5da7f26586060.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको