मङ्गलबार, ०३ मङि्सर २०७६
दशैं र तिहारको ऋण तिर्न सुन खोजीमा बोटेहरु
शनिबार, १६ कार्तिक २०७६

सानेबहादुर नेपाली

 अर्थ संसार, तनुहँ–चाडपर्व मनाउँदा लागेको साहुको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारीका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् । नेपालीहरुको चाडपर्व दशैँ र तिहार आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटेहरु साहुसँग ऋण काँढेर चाडपर्व मनाउने गर्छन् ।

त्यसपछि सुन खोजेर ल्याई साहुको ऋण तिर्ने गरेको स्थानीय हर्क बहादुर बोटेले बताउनुभयो । साहुसँग ऋण लिएरदशैं र तिहार त मनाइयो तर चाडपर्व मनाउँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । उहाँले भन्नुभयो, “ऋण तिर्नको लागि नदी किनारामा सुन खोज्न विभिन्न नदीमा जाने गरेका छौँ ।”

विशेषगरी कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण भेटिने हुँदा उक्त नदी किनारामा सुन खोज्न यहाँका बोटे जाने गरेको जीतबहादुर बोटेले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण कतिपय बोटेको बिहान बेलुका ज्याला मजदूरी नगरी छाक टार्नसमेत गाह्रो छ । उहाँले भन्नुभयो, “त्यसैले चाडपर्वमा ऋण लिएर मनाउने र चाडपर्व मनाइसकिएपछि सुन खोज्नको लागि नदी किनारा धाउन बाध्य भएका छौँ ।”

 प्रशस्त मात्रामा खेती गर्ने आफ्नो जमीन नभएपछि जीविकोपार्जनको लागि माछा मार्ने र सुन खोज्नेतर्फ उनीहरु आकर्षित हुँदै गएका छन् । हिउँद महिना शुरुशातसँगै नदीमा पानीको बहाव कमी हुँदा बालुवामा सुन खोज्न सजिलो हुने उनीहरु  बताउँछन् ।

नदीमा सुन खोज्नको लागि आवश्यक पर्ने डुँड, पाटी तथा चनौटजस्ता विभिन्न सामग्री घरबाट नै लिएर जाने गरेको जीतबहादुरले बताउनुभयो । सुन चाल्ने पेशाले जीविकोपार्जनमा सहज भएको उहाँको भनाइ थियो । परम्परागत रुपमा उनीहरु नदी किनारमा सुन खोज्ने काम गर्दै आएका छन् ।  

सुन चाल्न जाँदा उनीहरु नदी किनारामा नै पाल टाँगेर बस्ने र खाना खाने  गर्दछन् । सुन चालेर एक महिनामा रु बीस पच्चीस हजारसम्मको सुन सङ्कलन गर्ने गरेको उनीहरु बताउँछन् । पहिला पहिला नदी किनारामा सुन सजिलै पाउने गरेपनि पछिल्लो समय नदीमा सुन पाउन छाडेको जीतबहादुरले बताउनुभयो । कुमालटारीमा अहिले बोटे समुदायका २६ घर रहेकोमा करीब आधाजसो परिवार अझै पनि सुन खोज्नको लागि अन्यत्रै नदीमा जाने गरेका छन् ।

नदीमा करेन्ट लगाउने, विष हाल्नेलगायतका कार्यले नदीमा माछा पाउन छाडेपछि उनीहरुको पुख्यौली पेशासमेत सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय नदीमा अवैध गिट्टी बालुवा उत्खनन गर्दा माछासमेत भेटिन छोडेकोले वैकल्पिक पेशाको रुपमा सुन खोज्नेतर्फ लागिएको उनीहरु बताउँछन् ।

 धेरै पहिले मादी नदीमा पनि सुनका कण भेटिने गरेको भए पनि पछिल्लो समय  भेटिन छाडेपछि यहाँका बोटे टाढाटाढाका नदीमा जान बाध्य भएका छन् ।सुन खोज्न हिँडेका बोटेहरु करीब तीन÷चार महिना पछि मात्रै आफ्नो घरमा फर्कने र सङ्कलन गरी ल्याएको सुन बिक्री गरेर साहुको ऋण तिर्ने गरेको बताइएको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved