Like us!
Follow us!
Connect us!
Watch us!

देशको विभिन्न स्थानमा दुर्घटना हुँदा २ को मृत्यु, २४ जना घाईते १ वेपत्ता

सोमबार, ०९ फागुन २०७३, १८ : ५२ मा प्रकाशित

देशको विभिन्न स्थानमा दुर्घटना हुँदा २ को मृत्यु, २४ जना घाईते १ वेपत्ता

अर्थ संसार 
काठमाडौं–सोमबार देशको विभिन्न स्थानमा भएको  दुर्घटनामा २ को मृत्यु, २४ जना घाईते र १ वेपत्ता भएको छ । जनु तल विस्तृत रुपमा दिएको छ । 

माइक्रोबस दुर्घटनामा १६ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको जन्डोलमा आज भएको माइक्रोबस दुर्घटनामा परी १६ जना यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा सुनसरी सोनापुर–२ का वीरेन्द्र साह, उनकी पत्नी मधुदेवी साह, सुनसरी रामनगर भुटाहा–७ का मोहमद नजिव, र मोहमद सुभान मियाँ, मोरङ केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ रङ्गेली नगरपालिका–५ का रमेशकुमार साहलगायत १६ जना रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । 

काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा३ख ८२८७ नंको हाइस माइक्रोबस आफँै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

खुकुरी प्रहारबाट एकको मृत्यु
डडेल्धुरा– खानेपानीको बिषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन् । 

खानेपानीको विषयलाई लिएर भएको सामान्य विवादले चर्को रुप लिएपछि सोही ठाउँका २४ वर्षीय भीमबहादुर भुलले खुकुरी प्रहार गर्दा साउदको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

दृष्टिविहीन छात्राको मृत्यु
बाबियाचौर –दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत एक छात्राको लडेर मृत्यु भएको छ । मृत्युहुनेमा लुलाङ–७ लमसुङका आठ वर्षीया यममाया विक रहेका छन् । म्याग्दीको पिप्ले–९ मौवाफाँटस्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा २ मा अध्ययनरत उनको आइतबार साँझ मृत्यु भएको हो । 

विद्यालयमा निर्माणाधीन भवनबाट लडेर रडमा ठोक्किँदा घाइते भएकी उनको उपचारका लागि बेनी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । 

महिला बेपत्ता

पोखरा– पोखराको सिमलचौरबाट एकजना वृद्धा चार दिनदेखि बेपत्ता भएकी छिन् । 
सो ठाउँको आलुमाइलाचोकका ६२ वर्षीया सोममाया खड्का शुक्रबारबाट बेपत्ता भएकी छिन् । साथीको घरमा लगाइएको पूजामा सरिकभएर प्रसाद ग्रहण गरी सोहि दिन अपराह्न ५ बजे घर जान भनेर हिँडेकी उनी आजसम्म सम्पर्कमा नआएको उनकी छोरी विद्या शाहीले जानकारी दिनुभयो । 

ट्रक दुर्घटनामा आठ घाइते, दुईको अवस्था गम्भीर

इलाम–मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा आज बिहान ६ बजे ट्रक दुर्घटना हुँदा आठजना घाइते भएका छन् । झापाको विर्तामोडबाट इलामको पशुपतिनगरतर्फ गोलिया लिन गइरहेको को.३ प. ६०६० नंको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कन्काई नगरपालिका–८ निवासी २६ वर्षीय विनोद तामाङ, सोही स्थानका २१ वर्षीय प्रवीण पौडेल, धाइजन–६ का १७ वर्षीय राजीव विक, कन्काई नपा–२ का ३३ वर्षीय राजेश राई, धाइजन–४ का २१ वर्षीय विवेक सुब्बा, कन्काई नपा–८ कै २६ वर्षीय सुमन पौडेल सामान्य घाइते र झापा बुधवारे–४ का २४ वर्षीय सविन धिमाल र कन्काई नपा–८ कै ४२ वर्षीय दीपक राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको